गृहपृष्ठ ‘मालि गाई’ लिएर आएर सञ्चारकर्मी वीरेन्द्र कुँवर

‘मालि गाई’ लिएर आएर सञ्चारकर्मी वीरेन्द्र कुँवर

birendra-maligai-newskarobar

सञ्चारकर्मी वीरेन्द्र कुँवर र कुलेन्द्र विश्वकर्माको तीज गीत ‘माली गाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं प्रदेश नम्बर ५ का अध्यक्ष लक्ष्मण खड्काले बुधबार एक समारोहबीच भिडियो सार्वजनिक गरेका छन् ।

कार्यक्रममा अध्यक्ष खड्काले तीज गीतमा केही विकृति देखिएकाले त्यसलाई सुधार गर्दै मौलिक परम्परा बोकेका गीतलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने बताए । सञ्चारकर्मी वीरेन्द्र कुँवरसहितका साथीले ‘माली गाई’ तीज गीत बजारमा ल्याएकोमा बधाई दिए ।

‘मौलिक पहिरन र नेपालीपन बोकेका गीतलाई सञ्चारमाध्यमले पनि प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘पश्चिमा संस्कृति बोकेका, छोटा लुगा लगाएका भिडियो प्रसारण नगरौं ।’ खड्काले लोक क्षेत्रमा देखिएका विकृति अन्त्य गर्नका लागि सबैको प्रयास आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले परम्परागत गीत संगीतलाई सर्जकहरुले वाहिर ल्याउनुपर्ने बताए । नेपाल प्रेस युनियन रुपन्देहीका सभापति विक्रम खड्काले तीजका नाममा विकृति मौलाउँदै गएकाले त्यसको अन्त्य गर्न लोक कलाकारहरु नै लाग्नुपर्ने धारणा राखे । अर्का पत्रकार दामोदर खनालले तीजका नाममा पार्टी प्यालेसहरुमा हुने खर्च तथा गीत संगीतमा देखिएको छाडापन रोक्नतर्फ लाग्नुपर्ने बताए ।

प्रेस सेन्टर प्रदेश ५ उपाध्यक्ष रुद्रहरि कुँवरले ‘माली गाई’ मौलिक तीज गीत भएको भन्दै सफलताको शुभकामना दिए । कार्यक्रममा शब्द रचनाकार वीरेन्द्र कुँवरले आफूले एक दशकदेखि पुस्तकका रुपमा तीजका गीत प्रकाशन गर्दै आएकोमा यसपटक म्युजिक भिडियो नै निर्माण गरेको बताए । ‘एउटा प्रेमी र प्रेमिकाका कथामा तीजको महत्वलाई दर्शाइएको छ,’ उनले भने । म्युजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गरेका हुन् ।

गीतमा वीरेन्द्र कुँवरको शब्द तथा कुलेन्द्र विश्वकर्मा र पार्वता पाण्डेको स्वर छ । गीतको लय गायक वसन्त लम्साल र संगीत विश्वास नेपालले गरेका हुन् । म्युजिक भिडियोमा कुसुम थापामगर, तिलक नेपाली, रोश्नी खड्का, जीवन थापा, ज्योती गिरीलगायतले अभिनय गरेका छन् । भिडियोको कोरियो ग्राफर बुटवलका किशोर थापाले गरेका हुन् । यसअघि, कुँवरले मालारानी हाम्रो बोलको गीत बजारमा ल्याएका थिए ।

प्रकाशित समय १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु