गृहपृष्ठ अस्ट्रेलियाले ३०० मेगावाटका सोलार प्लान्ट निर्माण गर्ने
अस्ट्रेलियाले ३०० मेगावाटका सोलार प्लान्ट निर्माण गर्ने
अस्ट्रेलियाले नेपालमा ३ सय मेगावाटबराबरका सोलार प्लान्ट निर्माण गर्ने भएको छ । नेपालको विद्युत विकासमा सहयोग गर्ने प्रतिबद्धताअनुसार अस्ट्रेलियाले सोलार प्लान्ट निर्माण अघि बढाउने भएको हो ।
नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेट गरी अस्ट्रेलियाको एक निजी कम्पनीले तीन सय मेगावाट क्षमताका सोलार निर्माण गर्ने जानकारी गराएका हुन् । छलफलमा मन्त्री पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेकाले अस्ट्रेलियाको सहयोग अपरिहार्य रहेको बताए ।
समझदारीपत्रमा हस्ताक्षर
ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् उत्पादन कम्पनी र अस्ट्रेलियन दूतावासबीच प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जामन्त्री पुनको उपस्थितिमा शुक्रबार कम्पनीका प्रबन्ध निर्देशक मोहनराज पन्त र अस्ट्रेलियन डेभलपमेन्ट को-अपरेसनका अधिकारीबीच १२ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
राष्ट्रिय महत्वका जलविद्युत् परियोजनाको विकासमा प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउने विषयमा समझदारी भएको हो । समझदारीअनुसार अस्ट्रेलियाले विद्युत् गृहको स्वरुप निर्धारण र पुनरावलोकनका साथै भू-प्राविधिक कार्यमा समेत सहयोग गर्नेछ ।
प्रकाशित समय १७:४५ बजे

















