गृहपृष्ठ डा. केसीको समर्थनमा आमनागरिक सामुहिक सत्याग्रहमा बस्ने
डा. केसीको समर्थनमा आमनागरिक सामुहिक सत्याग्रहमा बस्ने
केसीको स्वास्थ्य अवस्था नाजुक
अनशनरत डाक्टर गोविन्द केसीको सर्मथनमा आमनागरिक आजदेखि सामुहिक सत्याग्रहमा बस्ने भएका छन् । सोलिडारिटी फर डाक्टर केसी एलाइन्सले गर्न लागेको सामुहिक सत्याग्रहमा दुई सय भन्दा धेरैले सहभागिता जनाउने डा. केसीका सहयोगि अभिषेकराज सिंहले जानकारी दिए । उनका अनुसार सत्याग्रह बिहान १० देखी साँझ ५ बजेसम्म हुने छ । डा. केसीको माग सम्बोधन गर्न सरकारलाई दबाब दिन सामुहिक सत्याग्रहमा बस्न लागिएको जनाइएको छ ।
डा. केसी १५ औं पटक अनशन बसेको २३ औं दिन पुग्दा उनको स्वास्थ्य अवस्था यकिन हुन सकेको छैन । जुम्लाबाट सरकारले बल प्रयोग गरेर जबर्जस्त ल्याएको भन्दै डा. केसीले स्वास्थ्य उपचार गराउन मानेका छैनन् । डा. केसीले स्वास्थ्य परीक्षण नगराउने अडान लिएकाले स्वास्थ्य अवस्था यकिन हुन नसकेको हो ।
केसीको स्वास्थ्य अवस्था जटिल हुँदा पनि वार्ता प्रक्रिया अगाडी बढेको छैन । यद्यपी, हिजो एक मन्त्रीले डा. केसीका प्रतिनिधिसँग अनौपचारिक छलफल गरेका छन् । प्रधानमन्त्री केपी ओलीले छलफलका लागि मन्त्री खटाएका थिए । छलफलमा खटाइएको मन्त्रीको नाम भने सार्वजनिक गरिएको छैन । ती मन्त्रीले डा. केसीका मागका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउने बताएको डा. केसीका वार्ता टोलीका सदस्य जीवन क्षेत्रीले जानकारी दिए ।
यसैबीच सरकारी वार्ता टोलीले डा. केसीलाई निसर्त वार्तामा आउन आह्वान गरेको छ । वार्ता टोलीका संयोजक तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले विज्ञप्ती जारी गरी वार्तामा आउन आह्वान गर्नुभएको हो । उता डा. केसीका वार्ता टोलीले भने संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म वार्तामा नबस्ने अडान लिएको छ । डा. केसीको समर्थनमा हिजाे राजधानीमा बृहत प्रदर्शन समेत गरिएको थियो ।
प्रकाशित समय ०८:०० बजे

















