गृहपृष्ठ देउवाले ओलीलाई भने : ‘तपाई यस्तै गर्ने हो भने आन्दोलन अझ उग्र हुन्छ’

देउवाले ओलीलाई भने : ‘तपाई यस्तै गर्ने हो भने आन्दोलन अझ उग्र हुन्छ’

oli-dewa-newskarobar

शनिबार दिउँसो बानेश्वर क्षेत्रमा तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप भयो । तरुण दल अध्यक्ष जीतजंग बस्नेत सहित केही युवाहरु घाइते भए । शान्तिपुर्ण नाराजुलुसमाथि अन्धाधुन्ध आक्रमण भएपछि तरुण दलको माउ पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तत्कालै प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रदर्शनका क्रममा दिउँसो प्रहरीसंग झडप भएपछि देउवा प्रधानमन्त्री ओलीलाई भेट्न आकस्मीक रुपमा बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटमा सभापति देउवाले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको त्यस्तै व्यवहार रहे अझ कडा कार्यक्रम घोषणा गर्ने चेतावनी दिए । ‘प्रहरी लगाएर हाम्रो मान्छेलाई कुट्ने ? लोकतन्त्रमा आफ्नो कुरा राख्न नपाइने ?’ उनले भने, ‘तपाई यस्तै गर्ने हो भने आइतबारदेखि आन्दोलन अझ उग्र हुन्छ ।’

आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको समाधान बताउँदै देउवाले डा. गोविन्द केसीसँग तत्कालै वार्ता गर्न सुझाव समेत दिएका थिए । यदि सरकारले मनपरी ढंगले ल्याउन खोजेको विधेयक पुनः अघि बढाए संसद र सडक दुवै ठाउँबाट कडा प्रतिवाद गरिने चेतावनी पनि देउवाले दिए । देउवाले केसीको जीवन रक्षाको माग समेत गरेका छन् ।
जवाफमा प्रधानमन्त्री ओलीले डा. केसीको अनसनलाई काँग्रेसले राजनितिक मुद्दा बनाएको भन्दै असन्तुष्टी जनाएका थिए । केसीको माग प्रति आफु गम्भीर रहेको भन्दै प्रधानमन्त्री ओलीले निकासको बाटो पहिल्याउने बताएका थिए ।

प्रकाशित समय ०७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु