गृहपृष्ठ कानुनमन्त्री तामाङले दिँदैछन् राजीनामा (अन्तर्वार्तासहित)
कानुनमन्त्री तामाङले दिँदैछन् राजीनामा (अन्तर्वार्तासहित)
चिकित्सा शास्त्र अध्ययनरत छात्राबारे विवादास्पद अभिव्यक्ति दिएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिने भएका छन् । उनको दल नेपाल कम्युनिस्ट पार्टीका केही नेताले दबाब दिएपछि मन्त्री तामाङ राजीनामा गर्न बाध्य भएका हुन् ।
मन्त्री तामाङले राजीनामा दिनका लागि मन्त्रालयमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री तामाङले बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका छात्राहरु शरीर बेचेर सर्टिफिकेट लिन बाध्य रहेको बताएका थिए ।
राजीनामा घोषणा गर्न लागेका मन्त्री तामाङसँग न्युज कारोबारका लागि विक्रम श्रेष्ठले गरेको संक्षिप्त कुराकानी :
मन्त्रीज्यू ! राजीनामा दिन लाग्नुभएको हो ?
हो, मैले राजीनामा दिनुअघि आफ्ना केही कुरा राख्न मन्त्रालयमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछु ।
तपार्इंं यो निर्णयमा आफैँ पुग्नुभएको हो कि पार्टीको दबाब हो ?
पहिलो कुरा त मैले गलत आशयले अभिव्यक्ति नदिएको भए पनि ममाथि नैतिक प्रश्नहरु उठे । यो कुराले पार्टी र सरकारमाथि पनि दबाब सिर्जना भएको हुन सक्छ । स्वाभाविक रुपमा पार्टीले अब विवाद लम्ब्याउनु हुँदैन भन्नुलाई म अस्वाभाविक मान्दिन । तर, मैले आफैँले यो निर्णय लिएको हुँ ।
एउटा अभिव्यक्तिका कारण तपाईंं पदच्यूत हुने अवस्थामा पुग्नुभयो, कस्तो लागिरहेको छ ?
जे हुन्छ, राम्रैका लागि हुन्छ । मलाई दुःख लागेको छैन । म घुमाएर बोल्न जान्दिन, सीधा बोल्छु । तर, तथ्यहीन कुरा बोल्दिनँ । स्थान र सन्दर्भ ठीक भएन होला, यसपटक मलाई मेरो अभिव्यक्तिले असर पुर्यायो । पदमा रहेका बेला मुलुकका लागि थुप्रै काम गरौँला भन्ने थियो । तर, म बाहिरै रहेर पनि देश र जनताका लागि काम गर्न छाड्ने छैन ।
प्रकाशित समय ०९:३९ बजे
















