गृहपृष्ठ कानुनमन्त्रीको राजीनामापछि दुर्गा प्रसाईंलाई के हुन्छ ?

कानुनमन्त्रीको राजीनामापछि दुर्गा प्रसाईंलाई के हुन्छ ?

दुर्गा प्रसाईंलाई पनि कारबाही होला त ?

बंगलादेशमा चिकित्सा शास्त्र अध्ययनरत छात्राबारे विवादास्पद अभिव्यक्ति दिएका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ चौतर्फी विरोधपछि अन्ततः राजीनामा दिन तयार भएका छन् । कानुनमन्त्री तामाङले काठमाडौंमा एसईई उतीर्ण विद्यार्थीको सम्मानमा आयोजित एक कार्यक्रममा बंगलादेशमा डाक्टर पढ्न जाने नेपाली चेलीहरुले आफूलाई नसुम्पिकन सर्टिफिकेट पाउँदैनन् भनेका थिए । उनको यो अभिव्यक्तिलाई लिएर उनकै पार्टी नेकपाका नेताहरुले आपत्ती जनाएका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल ट्विट गर्दै भनेका थिए, ‘अभिव्यक्ति आपत्तिजनक छ, सरकारको ध्यान जाओस् ।’

पब्लिक प्रेसरसँगै खासगरी मन्त्री हुन नपाएकाहरुले पार्टी नेतृत्वलाई चर्को दबाब दिएपछि मन्त्री तामाङ राजीनामा दिन बाध्य भएका हुन् ।

मन्त्रीको राजीनामापछि अब धेरैको नजर अब झापाको बी एण्ड सी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईपट्टी सोझिएका छन् । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईँले पनि मन्त्री तामाङलेजस्तै अभिव्यक्ति दिँदै आएका छन् ।

बंगलादेशमा चिकित्सा शास्त्र अध्ययनरत छात्राले सिर्टिफिकेटका लागि प्रोफेसरसँग अनैतिक सम्बन्ध राख्ने गरेको प्रसाईंले बताएका थिए । अब उनीमाथि के कारबाही हुन्छ भन्ने जिज्ञासा धेरैमा छ । यसै सन्दर्भमा हामीले केही अधिवक्तासँग जिज्ञासा राखेका थियौँ । उनी मन्त्रीजस्तो सार्वजनिक पदमा नभएकाले उनलाई तत्काल कारबाही गर्न सक्ने अवस्था नरहे पनि कसैले मुद्दा हालेको सन्दर्भमा भने उनीमाथि कारबाही गर्न सकिने अधिवक्ताहरुले बताएका छन् ।

प्रकाशित समय १०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु