गृहपृष्ठ भ्रष्टाचार गर्नेलाई माफी हुँदैन : अख्तियार
भ्रष्टाचार गर्नेलाई माफी हुँदैन : अख्तियार
भ्रष्टाचार गर्नेलाई कुनै माफी नहुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख रविलाल पन्थले बताएका छन् । आर्थिक वर्ष २०७४÷७५ प्रगति विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भ्रष्टाचारले कसैको भलो गर्दैन र भ्रष्टाचार गर्नेलाई पनि कुनै माफी हुँदैन ।’
‘सार्वजनिक पदमा बसेकाहरुले पदको दुरुपयोग गर्दै जनतालाई दुःख दिइरहेका हुन्छन्,’ उनले भने, ‘त्यस्तालाई आयोगले छाड्दैन ।’ देश संघीयतामा गएकाले स्थानीय तहमा हुनसक्ने भ्रष्टाचारका विषयमा पनि आयोज सचेत रहेको उनले बताए ।
आर्थिक वर्ष २०७४÷७५ मा सुर्खेतका मात्रै एक सय ६४ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन् । तीमध्ये एक सय ४० फछ्र्यौट भएका छन् भने २४ वटा उजुरी बाँकी छन् । त्यस्तै, दैलेखमा परेका एक सय ४७ उजुरीमा एक सय २३ फछ्र्यौट भएका छन् ।
त्यसैगरी, जाजरकोटमा ९७, कालिकोटमा ९५, हुम्लामा ५८, सल्यानमा ४९, रुकुम पश्चिममा ४४, जुम्लामा ३८, मुगुमा ३२, डोल्पामा २२ र प्रदेश ५ को रुकुम पूर्वमा सबैभन्दा कम पाँचवटा उजुरी परेको कार्यालयले जनाएको छ । आयोगमा आर्थिक वर्ष २०७४/७५ मा विभिन्न माध्यमबाट पाँच सय ११ उजुरी परेका छन् ।
विद्यालयको भवन गुणस्तर नभएको, छात्रवृत्ति रकममा दुरुपयोग भएको, पाठ्यपुस्तक वितरणमा अनियमितता भएको, विद्यालय कोषको रकम हिनामिना गरेको तथा शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता भएको जस्ता उजुरी अख्तियारमा परेका छन् ।
त्यस्तै, सामाजिक सुरक्षा भत्तामा अनियमितता, उपभोक्ता समितिमार्फत गरेका काम गुणस्तरहीन, स्थानीय तहको आन्तरिक आएको विनियोजन र खर्च अपारदर्शी भएको तथा भवन, सडक, औषधि खरिद, नक्कली बिल बनाएको जस्ता उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै, ६ वटा बिगो अर्थात् आरोपपत्र दायरमा एक करोड ९ लाख ४९ हजार ४ सय ९१ रुपैयाँ, असुलउपर ११ लाख ७३ हजार ९ सय ९१ र रंगेहात पक्राउ परेकाबाट ४ लाख १ हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।
प्रकाशित समय २०:५९ बजे

















