गृहपृष्ठ उदय–मनिलाको त्यो चर्चित गीत र हाम्रा मन्त्रीहरुको यो नियती

उदय–मनिलाको त्यो चर्चित गीत र हाम्रा मन्त्रीहरुको यो नियती

mantri-haru-newskarobar

एउटा चर्चित गीत छ- ‘कोइ बोलीमा रस हुन्छ, कोही बोलीमा रिस, यही बोलीले गर्दा पिउँछन् मानिसले विष, राजै मानिसले विष…।’

यो गीत जति कर्णप्रिय छ, नेपाल सरकारका केही मन्त्रीहरुको सन्दर्भमा उत्तिकै सान्दर्भिक पनि । समय–समयमा बोलीमा लगाम लगाउन नसक्दा वा ढंग नपुर्याउँदा उनीहरुको आलोचनामात्र होइन, पद नै खुस्केका घटना थुप्रै छन् । कुरा बोलीको मात्र होइन, व्यवहारको पनि हो । आज हामी तिनै मन्त्रीको बोली र व्यवहारका कारण पदत्याग गर्न बाध्य मन्त्रीहरुबारे चर्चा गर्दैछौं ।

 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ : प्रधान सेनापति काण्ड
पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) पहिलो पार्टी बन्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए । दुई ठाउँबाट चुनाव जितेका उनले ‘निरन्तरतामा क्रमभंगता’ भन्दै नेपाली सेनाको चेन अफ कमान्डमा हस्तक्षेप गरे । तेस्रो वरीयताका कुलबहादुर खड्कालाई प्रचण्ड सरकारले प्रधान सेनापति बनायो । तर, सेरेमोनियल राष्ट्रपति डा. रामवरण यादवले सरकारको उक्त निर्णय उल्टाइदिए । आफ्नो निर्णय लागू नहुने अवस्था सिर्जना भएपछि प्रचण्डले सार्वजनिक रुपमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा गरे । उनले राजीनामा गर्दैगर्दा ‘विदेशी प्रभुहरुको अगाडि झुक्ने दिन गए’ भन्ने वाक्यांश प्रयोग गरेका थिए ।

 

शेरबहादुर तामाङ : विवादित अभिव्यक्ति
दुईतिहाइ बहुमत प्राप्त शक्तिशाली सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले एउटा सार्वजनिक मन्तव्यका कारण विवाद बढेपछि मंगलबारमात्र पदबाट राजीनामा दिनुपरेको छ । आइतबार उनले चिकित्साशास्त्र अध्ययन गर्न बंगलादेश गएका नेपाली छात्राले ‘प्रमाणपत्र हात पार्न अस्मिता बेच्न बाध्य हुनुपरेको’ भन्ने आशय व्यक्त गर्दै सार्वजनिक मन्तव्य दिएका थिए । मन्त्रीजस्तो जनउत्तरदायी पद धारण गरेको व्यक्तिबाट आएको टिप्पणीले छात्राहरूको अपमान भएको भन्दै सर्वत्र विवाद बढेपछि मन्त्री तामाङले ‘उच्च नैतिकता प्रदर्शन गरेको’ जनाउँदै राजीनामा दिएका हुन् ।

 

हरि पराजुली : अनैतिक कार्य
कृषिमन्त्री हुँदा एउटी महिलालाई अँगालो हालेपछि हरि पराजुलीले पदबाट राजीनामा दिनुपरेको थियो । २०७२ साल असार १५ गते धान दिवस मनाउने क्रममा धान खेतमा एउटी महिलालाई अँगालो हालेपछि सुरु भएको विवादले उनलाई राजीनामासम्म पुर्यायो । मन्त्री पराजुलीले मर्यादाविपरित अनैतिक कार्य गरेपछि उनको व्यापक आलोचना भयो । त्यसको दुई दिनपछि उनले राजीनामा नै दिनुपरेको थियो ।

 

शरतसिह भण्डारी : विखण्डनकारी आभिव्यक्ति
डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद सदस्य रहँदा शरतसिह भण्डारीले विवादकै कारण पदबाट हात धुनुप¥र्याे । उनले रक्षामन्त्री हुँदा ‘मधेसका २२ जिल्लाले छुट्टिने निर्णय गरे कुन ऐन र कानुनले मुलुकलाई बचाउँछ ?’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । राज्य पुनःसंरचनासम्बन्धी बहसको विषयमा भाषण दिँदा तत्कालीन रक्षामन्त्री भण्डारीले नेपालबाट मधेस अलग गर्ने आशयको अभिव्यक्ति दिएपछि विरोध प्रदर्शन नै भएको थियो । आफूसम्बद्ध मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले फिर्ता बोलाउने निर्णय गरिसक्दा पनि राजीनामा नदिएपछि भण्डारीलाई मन्त्रीबाट हटाइएको थियो ।

 

सरिता गिरि : दुर्इ करोड घुस
डा. बाबुराम भट्टराई नेतृत्वको सरकारकै पालामा उट्पट्याङ हर्कतकै कारण श्रम तथा यातायातमन्त्री गिरि बीचमै बर्खात हुनुपरेको थियो । विदेश जाने नेपालीलाई अनुमति दिने निकाय वैदेशिक रोजगार विभागमा भ्रष्टाचार बढेपछि त्यसलाई रोक्न प्रधानमन्त्री भट्टराईले श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईलाई विभागको महानिर्देशक नियुक्त गरेका थिए । भट्टराईले ठगी गर्ने म्यानपावरलाई खारेजी र बैंकमार्फत् मात्र आर्थिक कारोबार गर्ने व्यवस्था लागू गरेपछि उनको कुर्सी हल्लाउन मन्त्री गिरि नै कस्सिएकी थिइन् । बैंकमार्फत् कारोबार गर्दा अनियमितताको सम्भावना कम भएपछि व्यवसायी महानिर्देशकसँग क्रुद्ध भइ मन्त्रीको शरण परेका थिए । तिनै व्यवसायीको लबिङमा महानिर्देशक भट्टराईलाई मन्त्री गिरीले मन्त्रालय फिर्ता बोलाएकी थिइन् । व्यवसायीले भट्टराईलाई विभागबाट सरुवा गरेबापत मन्त्री गिरीलाई २ करोड रुपैयाँ घुस दिएको प्रकरणमा गिरिको पद फुुस्किएको थियो ।

 

मातृका यादव : गिरिजासँग निहुँ
वर्तमान सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव पनि एकपटक यसअघि बर्खास्तीमा परिसकेका पात्र हुन् । २०६४ सालमा अन्तरिम मन्त्रिपरिषदमा वनमन्त्री हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवादका कारण यादव बर्खास्तीमा परे । मन्त्रिपरिषद बैठकमै प्रधानमन्त्रीलाई ‘म तपाईंको कृपाले मन्त्री भएको हो र जनयुद्ध लडेर आएको हुँ’ भन्दै नाडी सुर्किएका थिए । सो घटनाले उनी आलोचित भएका थिए । त्यसपछि तत्कालीन माओवादीले यादवलाई मन्त्रीबाट फिर्ता बोलाएको थियो ।

 

प्रभु साह : हत्या अभियोग
२०६८ सालमा तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको मन्त्रिपरिषद विवादित देखिन्छ । तुलनात्मक रुपमा उनकै पालामा धेरै मन्त्रीले विवादित बन्दै राजीनामा दिएका थिए । त्यसमध्ये भूमिसुधारमन्त्री प्रभु साह पनि त्यसकै सिकार बनेका थिए । हिन्दू युवा संघका अध्यक्ष काशी तिवारीको गोली हानी हत्या गरेको आरोपमा थुनामा रहेका व्यक्तिले मन्त्री साहकै निर्देशनमा गोली हानेर हत्या गरेको बयान दिए । बहालवाला मन्त्री नै हत्या अभियोगमा मुछिएपछि उनले राजीनामा दिनुपरेको थियो ।

 

शैलजा आचार्य : भाषण विवाद
शैलजा आचार्यले पनि अभिव्यक्तिकै कारणले कृषिमन्त्रीबाट राजीनामा दिनुपरेको थियो । ‘मेरै मन्त्रालयमा भ्रष्टाचार छ’ भनेपछि उनीमाथि राजीनामा दिन दबाब परेको थियो । भ्रष्टाचार रोक्न नसकेको र प्रोत्साहन गरेको भन्दै विपक्षीले चर्काे विरोध गरेपछि उनले पार्टीको दबाबमा राजीनामा दिएकी थिइन् ।

 

भीम आचार्य : पर्यटनमा अनियमिमता
तत्कालीन नेकपा एमालेका सचिव भीम आचार्यलाई पनि मन्त्री रहँदै हटाइएको थियो । सुशील कोइराला नेतृत्वको सरकारमा पर्यटनमन्त्री रहेका आचार्यलाई फिर्ता बोलाएर दीपकचन्द्र अमात्यलाई पर्यटनमन्त्री बनाइएको थियो । अनियमितताको करण देखाउँदै अध्यक्ष केपी शर्मा ओलीले उनलाई हटाएर अर्काे मन्त्री पठाएका थिए ।

 

कर्ण थापा : व्यापारीसँग घुस माग
सुशील कोइरालाको पालामा उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेका कर्ण थापालाई फिर्ता बोलाएर महेश बस्नेतलाई उद्योगमन्त्रीको जिम्मेवारी दिइएको थियो । पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित भएलगत्तै अध्यक्ष ओलीले मन्त्री परिवर्तन गरेका थिए । बाहिर चर्चा नगरे पनि थापालाई व्यापारीसँग आर्थिक लेनदेन गरेको आरोप लागेको थियो । आफूसँग पैसा मागेको भन्दै व्यापारीले ओलीलाई उजुरी गरेका थिए ।

 

पुरुषोत्तम पौडेल : खेलमा अनियमितता
एमालेका तर्फबाट युवा तथा खेलकुदमन्त्री बनेका पुरुषोत्तम पौडेल पनि अख्तियारको दबाबमा सिंहदरबार छाड्न बाध्य भएका थिए । उनीमाथि खेलमा अनियमिताको आरोप लागेको थियो ।

प्रकाशित समय २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु