गृहपृष्ठ निर्धन उत्थानको कारोबार ठप्प
निर्धन उत्थानको कारोबार ठप्प
कर्मचारीको आन्दोलनका कारण १० दिनदेखि निर्धन उत्थान बैंकको कारोबार ठप्प भएको छ । बैंकमा कार्यरत कर्मचारी नीतिगत र सेवासुविधा वृद्धिलगायतका विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएपछि बैंकको कारोबार ठप्प भएको हो ।
अखिल नेपाल संघ–संस्था तथा बैंक वित्तीय संस्था निर्धन उत्थान कर्मचारी समितिको अगुवाइमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बैंकको नियमावली संशोधन, कर्मचारी समायोजन, सरुवा–बढुवाको नयाँ मापदण्ड लगायतका माग राखेका छन् । बैंकका एक सयभन्दा बढी शाखा कार्यालय आन्दोलनका कारण ठप्प हुँदासमेत व्यवस्थापनले माग सम्बोधनमा बेबास्ता गरेको समितिका महासचिव रामबाबु रानाभाटले बताए । आन्दोलनका कारण बैंकको कर्जा असुलीसमेत ठप्प रहेको कर्मचारीहरुले बताएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले भने निर्धनमा कुनै आन्दोलन नभएको दाबी गरेका छन् । ‘निर्धनमा आन्दोलन भएकोबारे मलाई जानकारी छैन,’ न्युज कारोबारसँग उनले भने ।
असार २६ गतेदेखि आन्दोलन सुरु गरेको समितिले असार ३१ गतेदेखि कारोबार नै ठप्प पार्नेगरी आन्दोलन गरेको छ । कर्मचारीले केही दिनअघि बैंकको भैरहवास्थित क्षेत्रीय कार्यालय घेराउसमेत गरेका थिए । देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरेको निर्धन उत्थान बैंकका रुपन्देहीमा सबैभन्दा धेरै शाखा छन् । बैंकले गत आर्थिक वर्षमा करिब ६० करोड रुपैयाँ खुद नाफा कमाउने देखिएको छ ।
प्रकाशित समय २१:०९ बजे

















