गृहपृष्ठ कांग्रेसलाई एक ढिक्का बनाउन सभापति देउवाको आग्रह

कांग्रेसलाई एक ढिक्का बनाउन सभापति देउवाको आग्रह

deuba-paudel-newskarobar फाइल तस्बिर

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भएका कारण कमजोर बनेको बताएका छन् । डेमोक्र्याटिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनलाई शनिबार गैँडाकोटमा सम्बोधन गर्दै देउवाले अब फरक राजनीतिक विचारसँग लड्ने समय आएको भन्दै पार्टीभित्र एक ढिक्का हुन आह्वान गरे ।

उनले भने, ‘पार्टीभित्र अन्तरघातको समस्या व्याप्त छ, आफ्ना साथीप्रति दुश्मनी व्याप्त छ, यो रोगको निदान नभएसम्म पार्टी एक हुन सक्दैन,’ उनले भने, ‘यो रोग निदान गर्न म प्रतिबद्ध छु ।’

नेपाली कांग्रेसको आन्दोलन गर्ने रहर नभएको भन्दै उनले आफूहरु आन्दोलन गर्न बाध्य भएको बताए । ‘हाम्रो आन्दोलन गर्ने रहर होइन, सरकारले जबरर्जस्ती आन्दोलन गर्न बाध्य बनायो,’ देउवाले भने । सरकारले अप्रजातान्त्रिक कार्य गरेका कारण आन्दोलन गर्नु परेको दाबी गर्दै उनले सरकारलाई लोकतान्त्रिक बाटोबाट अगाडि बढ्न आग्रह गरे ।

डा. गोविन्द केसीको माग सम्बोधन हुनु सकारात्मक भएको बताएका देउवाले सहमतिमा पनि चलखेल हुनसक्ने भन्दै खबरदारी आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र एकता आवश्यक रहेको भन्दै न्याय, निष्पक्ष र पारदर्शी मूल्यांकन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए । कम्युनिस्ट कमजोर होला र हामी बलियो हौंला भनेर सोच्न नहुने भन्दै पौडेलले कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए । सभामुख र उपसभामुख एउटै दलको हुनु संविधान प्रतिकुल रहेको दावी गरे ।

सो अवसरमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको नीति तथा प्रशिक्षण विभागलाई चुस्त दुरुस्त बनाएर संघीयता अनुसारका सांगठनिक संरचना बनाइने जानकारी दिए ।

प्रकाशित समय १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु