गृहपृष्ठ शुक्लाफाँटामा बाघको संख्या बढ्यो

शुक्लाफाँटामा बाघको संख्या बढ्यो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ । आहारा प्रजातिका जनावर पर्याप्त रुपमा पाउन थालेपछि निकुञ्जमा बाघको संख्या बढ्न थालेको हो । अहिले बाघको संख्या बढेर १७ पुगेको छ ।

‘पाँच वर्षयता निकुञ्ज क्षेत्रमा बाघको चोरी सिकारी भएको छैन,’ निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले भने । सन् २०१६ र २०१७ मा कालगतिले एक वयस्क पोथी र दुईवटा बाघका डमरु मरेको तथ्यांक छ ।

चोरी सिकारी नियन्त्रणका लागि प्रतिरोध एकाइ गठन, परिचालन, आहारा र बस्नका लागि उपयुक्त ठाउँको व्यवस्था गरिएपछि निकुञ्जमा बाघको संख्या बढ्दै गएको छ । पाँच वर्षअघि बाघको संख्या आठदेखि १२ को हाराहारीमा रहेको थियो ।

बाघले आहारा र डमरु हुर्काउन निकुञ्जको शुक्लाफाँटा, आरक्ष नजिक पर्ने लालझाडी क्षेत्र, आरक्षसँग जोडिएको चुरे क्षेत्र तथा महाभारत पर्वत श्रृङ्खलाको तल्लो भागसम्म जैविक मार्गका रुपमा विस्तार गरिएको छ ।

सन् १९७४ पछि मात्र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संरक्षण गरिँदै आएको हो । बाघ गणना सन् १९९९ देखि बर्सेनी गरिँदै आएको छ । आरक्षको ३ सय ५ वर्ग किलोमिटर क्षेत्र बाघको बासस्थान मानिन्छ । सन् २०२० सम्म सरकारले बाघको संख्या दोब्बर पार्ने योजना बनाएको छ ।

प्रकाशित समय २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु