गृहपृष्ठ पार्टी एकता हुन्छ कुनै द्विविधा छैन– महासचिव एवं रक्षा मन्त्री पोखरेल
पार्टी एकता हुन्छ कुनै द्विविधा छैन– महासचिव एवं रक्षा मन्त्री पोखरेल
पोखरा। नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतामा कुनै द्विविधा नभएको बताउनुभएको छ ।
एमाले कास्की जिल्ला कमिटीको आयोजनामा आयोजित बृहत् कार्यकर्ता भेलाको उद्घाटन गर्दै उहाँले आगामी वैशाख ९ गते नै पार्टी एकता घोषणा हुने गरी तयारी भइरहेको बताउनुभयो ।
एक दुई दिनमा नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी दिँदै उहाँले पार्टी एकता कुनै लहडका आधारमा नभई मुलुकको आवश्यकताका आधारमा हुन लागेको र यसलाई जनताले अनुमोदन गरिसकेको धारणा राख्नुभयो ।
केन्द्रीय सरकारले केही दिनभित्रै नीति, कार्यक्रम तथा योजना प्रस्तुत गर्ने मन्त्री पोखरेलले जानकारी दिनुभयो ।
नेपालको संविधान गतिशील भएको चर्चा गर्दै उहाँले राष्ट्रिय हित एवं सामाजिक सद्भाव एवं आवश्यकताका आधारमा यसलाई संशोधन गर्न सकिने उल्लेख गर्नुभयो ।
एमालेका सल्लाहकार परिषद्का उपाध्यक्ष एवं प्रमुख सचेतक खगराज अधिकारीले जनप्रतिनिधिले शासकका रुपमा नभई सेवकका रुपमा जनताको काम गर्नुपर्ने बताउनुभयो ।
समृद्धि र विकासका लागि उत्पादनमुखी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसैका माध्यमबाट रोजगारीको सिर्जना गरिनुपर्ने र समान कामको समान ज्याला हुने व्यवस्थाको सुनिश्चितता आवश्यकता औँल्याउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन मन्त्रालयले घोषणा गरेका १०० दिनका कार्यक्रममध्ये लगभग २७ प्रतिशतअघि बढिसकेको जानकारी दिनुभयो ।
सडक पूर्वाधारले नछोएका गाउँपालिकामा यथासम्भव विमानस्थल र त्यो पनि नभएमा हेलीप्याड स्थापना गरी जनताको सुविधाका साथै पर्यटकलाई उक्त गाउँमा पु-याउन सकिने धारणा राख्नुभयो ।
प्रकाशित समय ०८:३० बजे
















