गृहपृष्ठ नमुना परीक्षणमा सरकारी कार्यालयको यस्तो लापर्बाही

नमुना परीक्षणमा सरकारी कार्यालयको यस्तो लापर्बाही

बुस्टर फिड : केन्द्र भन्छ– ठीक, क्षेत्र भन्छ– बेठीक

 

booster

रुपन्देहीको सियारी गाउँपालिका–१ मा रहेको बुस्टर फिड इन्डस्ट्रिज प्रालिद्वारा उत्पादित ब्रोइलर कुखुराको दानाको विषयमा केन्द्र र क्षेत्रको फरक–फरक नतिजा आएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुणस्तर कार्यालय रुपन्देहीले २०७४ जेठ २८ गते नगरेको नमुना परीक्षणमा दोषी देखिएको बुस्टर फिड केन्द्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको २०७४ साउन १५ गतेको नमुना परीक्षणमा सही ठहर भएको हो ।

क्षेत्रीय कार्यालयले नमुना परीक्षण प्रतिवेदनमा उद्योगबाट उत्पादित कुखुराको दाना (वि२) मा प्रोटिनको मात्रा न्यूनतम सीमाभन्दा कम पाइएको भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको थियो । सोही प्रतिवेदनका आधारमा ‘दूषित दाना पदार्थको बिक्री–वितरण गरिएको’ अभियोगमा यतिखेर ‘बुस्टर फिड’ मुद्दा खेपिरहेको छ । २०७५ असार २८ गते नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर भए पनि ढिलागरी कारबाही अगाडि बढेको छ । जिल्ला प्रशासनले मुद्दाको चाप रहेको भन्दै मंगलबारमात्रै पत्र काटेको हो ।

जिल्ला प्रशासनमा मुद्दा पेन्डिङ भइरहँदा ‘बुस्टर फिड’ले भने गुण नियन्त्रण विभागबाट नमुना परीक्षण गरी गुणस्तर सही भएको पत्र लिएर दाना उत्पादन तथा बिक्री-वितरण गरिरहेको छ । रुपन्देहीका प्रमुख वरिष्ठ खाद्य अधिकृत हस्तबहादुर राईले एक वर्षअघिको नमुना संकलन तथा परीक्षणमा दोषी देखिएकाले सोहीअनुसार कारबाही अघि बढेको जानकारी दिए । रुपन्देहीका खाद्य निरीक्षक राजेन्द्र घिमिरेले पनि बुस्टर दानामा हुनुपर्ने प्रोट्रिनको मात्रा न्यून देखिएकाले मुद्दा चलाइएको बताए ।

उद्योग सञ्चालक गोपाल टण्डनले भने उद्योगमा खुला राखिएको अवस्थामा नमुना संकलन गरेकाले क्षेत्रीय कार्यालयको प्रतिवेदन गलत आएको दाबी गरे । ‘क्षेत्रीय कार्यालयले कम भएको जानकारी दिएपछि हामीले केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा प्रोटिनको मात्रा तोकिएअनुसार नै रहेको पाइएपछि उत्पादन सुरु गरिसकेका छौं,’ उनले भने ।

प्रकाशित समय १५:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु