गृहपृष्ठ विराटनगरका ११ उद्योगको पानीमा ‘कोलिफर्म’

विराटनगरका ११ उद्योगको पानीमा ‘कोलिफर्म’

नमुना संकलन गरिएका २० मध्ये ११ वटा उद्योगबाट उत्पादित पानीमा कोलिफर्म भेटिएको छ भने तीनवटा उद्योगले उत्पादन गरेको पानी पिउन अयोग्य देखिएको छ ।

water-problem

 

विराटनगरका उद्योगले उत्पादन गरेको प्रशोधित पानीमा दिसामा पाइने हानिकारक ‘कोलीफर्म’ जीवाणु भेटिएको छ । विराटनगरका ११ वटा उद्योगले उत्पादन गरेको पानीमा मानव स्वास्थ्यलाई गम्भीर प्रभाव पार्ने कोलिफर्म जीवाणु भेटिएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको नेतृत्वमा साउन पहिलो साता विराटनगरमा सञ्चालित पानी उद्योगको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ६ वटा पानी उद्योगमा शिलबन्दी गरिएको थियो भने २० वटा उद्योगको पानी परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

नमुना संकलन गरिएका २० मध्ये ११ वटा उद्योगले उत्पादन गरेको पानीमा कोलिफर्म भेटिएको हो भने अन्य तीनवटा उद्योगले उत्पादन गरेको पानी पिउन अयोग्य देखिएको छ । नमुना परीक्षण गरिएका २० मध्ये ६ वटा उद्योगले उत्पादन गरेको पानी पिउन योग्य पाइएको थियो ।

जार र बोतलमा प्रशोधित पानी उत्पादन गरी बिक्री गर्दै आएका उद्योगहरुको पानीमा कोलिफर्म भेटिएको हो । मन्त्रालयले गरेको अनुगमनका क्रममा नमुना संकलन गरिएको पानी परीक्षण गर्दा ११ वटा उद्योगको पानीमा कोलिफर्म भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले जानकारी दिए । उनका अनुसार अनुसन्धानपछि सामाजिक विकास मन्त्रालयमा रिपोर्ट बुझाइएको छ । मन्त्रालयको नेतृत्वमा अनुगमन भएको बताउँदै उनले पानी परीक्षणको रिपोर्ट साउन १४ गते नै मन्त्रालयमा बुझाएको जानकारी दिए ।

मन्त्रालयले भने सार्वजनिक रुपमा कार्यक्रम गरेर रिपोर्ट सार्वजनिक गर्ने बताउँदै आएको छ । कुन–कुन उद्योगमा कोलिफर्म भेटिएको र कुन उद्योगका पानीमा समस्या छन् भन्नेबारे प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेको मन्त्रालयका सहसचिव गोपीप्रसाद घिमिरेले जानकारी दिए ।

चार वर्षअघि खानेपानी संस्थानले वितरण गरेको पानीमा ‘कोलिफर्म’ भेटिएको थियो । पानीकै कारण विराटनगरमा कमलपित्त (जन्डिस) को प्रकोप फैलिएको थियो । प्रकोपका कारण १२ जनाको मृत्यु भएको थियो भने धेरै बिरामी परेका थिए । विराटनगरमा कमलपित्तको प्रकोप फैलिएसँगै जार तथा बोतलको पानी खानेको संख्या ह्वात्तै बढेपछि पानी उद्योग पनि थपिए । तर, त्यसपछि पानी उद्योगको अनुगमन भएको थिएन ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयमा गोपीप्रसाद घिमिरे सरुवा भएर आएपछि सामाजिक विकासमन्त्री जीवन घिमिरेले अनुगमनको जिम्मेवारी दिएका थिए । घिमिरेको नेतृत्वमा भएको अनुगमन समितिले अनुगमनका क्रममा पानीको नमुना संकलन गरेको थियो ।

यसैबीच, प्रयोगशाला परीक्षणबाट प्राप्त रिपोर्टका विषयमा सामाजिक विकास मन्त्रालयमा छलफल भएको छ । छलफलका क्रममा कोलिफर्म भेटिएको र समस्या भएका उद्योगलाई तत्काल बन्द गरी कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु