गृहपृष्ठ सरकारले संसदलाई बिजनेस दिन सकेन, संसद बैठक एक हप्ताका लागि स्थगित

सरकारले संसदलाई बिजनेस दिन सकेन, संसद बैठक एक हप्ताका लागि स्थगित

सरकारले स्रंसद संचालनका लागि आवश्यक विधेयक दिन नसक्दा प्रतिनिधिसभा बैठक एक हप्ताका लागि स्थगित भएको छ । सोमबार तीनवटा विधेयक समितिमा पठाएको प्रतिनिधिसभा थप बिजनेस नभएपछि आगामी २७ गतेसम्मका लागि स्थगित भएको हो ।

संसदलाई सरकारले बिजनेस दिनुपर्ने भएपनि आवश्यक बिजनेस नहुँदा संसद बैठक स्थगित गरिएको हो । ‘प्रतिनिधिसभामा विधेयकहरु समितिमा पठाइसकिएको छ, बाँकी विधेयक पनि परिपक्कव हुनका लागि थप समय आवश्यक देखियो,’ नेकपाका सचेतक देवगुरुङले भने, ‘त्यसैले संसद बैठक परामर्शमै सभामुखले स्थगित गर्नुभएको हो ।’ गुरुङले थप विधेयक परिपक्व हुन समय लाग्ने भनेपनि मुलत संसदले बिजनेस नभएकैकारण बैठक स्थगित गर्नुपरेको स्पष्ट पारेको छ ।
०७२ सालमा संविधानसभाबाट जारी संविधानले ३१ वटा मौलिक हकको व्यवस्था गरेको छ । ती सबै मैलिक हक कार्यान्वयन गर्नका लागि संविजधानले नै तीन वर्षको समय तोकेको छ । संविधानले तोकेको तीन वर्ष आगामी असोज ३ गते पूरा हुँदैछ । तर, सरकारले मौलिक हकसँग सम्बन्धित एउटापनि विधेयक अहिलेसम्म संसदमा लगेको छैन ।

‘अपांगता अधिकार सम्बन्धी विधेयक संसदमा आएको छ, जुन अपांगता भएका व्यक्तिहरुको परिचय–पत्र वितरणलाई व्यवस्थित बनाउनेसँग सम्बन्धित छ,’ संसदका एक अधिकारीले भने, ‘अन्य दुई विधेयक वातावरण संरक्षण र उपभोक्ता हित संरक्षण सम्बन्धि छन् ।’ संघीय संसद सचिवालयको विधेयक शाखामा दर्ता गरिएका यी तीन विधेयकको पृष्ठ भूमिमा मौलिक हकको कार्यान्वयनका लागि भन्ने बेहोरा लेखिएको छैन । सरकारले संसदमा लैजाने विधेयकमा त्यसको औचित्यका विषयमा लेखिएको हुन्छ, त्यसरी लेखिएको उद्देश्यमा मौलिक हकको कार्यान्वयका लागि विधेयक ल्याउनु परेको कतै उल्लेख छैन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले संसदलाई बिजनेश नदिनु र मौलिक हकको कार्यान्वयनमा समेत सचेत नहुनुलाई उसको नियतमा प्रश्न उठाइरहेको छ । ‘सरकार बनेको छ महिना पूरा हुन लाग्दै छ, यो समय कम समय हैन,’ नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘यतिका समयमा पनि मौलिक हक कार्यान्वयन गर्ने विधेयक नआउनुले सरकार संविधान कार्यान्वयन भन्दा पनि यसमाथि प्रश्न उठ्ने ठाउँको खोजिमा छ कि भन्ने प्रश्न उसैका गतिविधिले उठाएको छ ।’ उनले सरकारका गतिविधि संविधान र कानुन कार्यान्वयन गर्ने भन्दा पनि त्यसको उलंघन गर्ने र आफ्नो दम्भ प्रस्तुत गर्नेमा केन्द्रीत देखिएको बताए ।

प्रकाशित समय ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु