गृहपृष्ठ मुलुकी संहिता : कस्ता अपराधमा, कस्ता सजाय

मुलुकी संहिता : कस्ता अपराधमा, कस्ता सजाय

कतै स्वागत, कतै विराेध

 

आजबाट कार्यान्वयनमा आएको मुलुकी संहिता अन्तर्राष्ट्रिय कानुनलाई आधार मानेर बनाइएको छ । ऐनले साविकको मुलुकी ऐन र केही विशेष ऐनका अधिकांश प्रावधानलाई संहिताबद्ध गरेको छ । त्यसैले नेपालको फौजदारी कानुनी इतिहासमा नवीन प्रयोगको रुपमा लिइएको छ ।

मुलुकी अपराध संहिताअन्र्तगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् । यो संहितामा पहिले पनि अपराध भनेर उल्लेख गरेका सबै अपराधलाई समेटेको छ भने केही नयाँ विषयलाई पनि अपराधको रुपमा समेटेको छ ।

मुलुकी अपराध संहितामा विभिन्न ६ अपराधमा आजीवन कैद तोकिएको छ । संहितामा क्रुर यातना दिई ज्यान मारेमा, वायुयान अपहरण गरी ज्यान मारेमा, अपहरण वा शरीर बन्धक बनाएर ज्यान मारेमा, पेय पदार्थमा विष मिसाएर मारेमा, कुनै पनि जातिको नास गर्ने उद्देश्यका साथ हत्या (जेनोसाइड) गर्ने कसुर गरेमा र जबरजस्ती करणी गरेमा जन्म कैद अर्थात जिवित रहेसम्म कैद गर्नुपर्ने व्यवस्था गरिएको छ । यी बाहेकका कैदहरुमा मात्र जन्मकैद भनेको २५ वर्ष हुने संहितामा उल्लेख छ ।

संहितामा जघन्य तथा मानवताविरुद्धका अपराधहरुलाई वर्गीकरण गरी सजाय हुने उल्लेख छ । बलात्कार, हत्या, मानव बेचबिखन जस्ता मानवताविरुद्धका अपराधको वर्गीकरण गरी सजायमा छुट नदिइने व्यवस्था संहितामा गरिएको छ । मानवता विरुद्धको अपराधमा जन्मकैदको सीमा वृद्धि गर्दै जीवनभर थुनामा रहने व्यवस्था गरिएको छ ।

संहिताले अपुतालीसम्बन्धी हालको व्यवस्था परिमार्जन गरेको छ । सामान्यतया अपुताली पछिल्लो पुस्तामा सर्ने भए पनि संहिताले अघिल्लो पुस्तामा सर्ने व्यवस्था पनि गरेको छ । अर्थात छोराछोरीको कुनै सम्पत्तिको हक अब बाबुआमामा पनि जानेछ ।

संहिताले पारिवारिक कानुनका केही नवीनतम पक्षहरू समेटेको छ । हालको पारिवारिक कानुनमा विवाह गर्ने उमेर १८ वर्षलाई २० वर्ष पुर्याइएको छ । त्यस्तै, सम्बन्ध विच्छेदमा महिला र पुरुष दुवैका लागि समान व्यवस्था गरिएको छ । अब उप्रान्त पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्धविच्छेद प्रक्रिया सुरु गर्न सक्नेछन् ।

अपराध संहितामा अन्य देशमा गरेका अपराधमा पनि नेपालीलाई कारबाही गर्न सकिने व्यवस्था छ । यो व्यवस्थाले गर्दा विदेशमा भएको कसुरमा पनि नेपालमा कारबाही गर्न सकिनेछ । यो व्यवस्था नेपाली नागरिकका हकमा लागू हुनेछ । चोरी, लुटपाट, ज्यान लिने उद्योग, अंगभंग, जबर्जस्ती करणी, हाडानाता करणी, डाँका र सम्पत्ति कब्जालगायतका काम गरेमा नेपालमा कारबाही गर्न सकिने बहुक्षेत्रीय अधिकार प्रयोगको व्यवस्था संहिताले गरेको छ ।

नयाँ संहिताले व्यक्ति बेपत्ता पार्ने कार्यलाई अपराधका रूपमा परिभाषित गरेको छ । बेपत्ता पार्ने कार्यमा संलग्न हुनेलाई अधिकतम ५ वर्ष कैद र १५ लाखसम्म जरिवाना गर्ने संहितामा उल्लेख छ । यसअघि व्यक्ति बेपत्ता पार्ने कार्यका बारेमा ठोस कानुन निर्माण हुन सकेको थिएन । बेपत्ता भएको व्यक्तिको सम्पत्ति उसको हकवालाले प्राप्त गर्न पनि अब सहज भएको छ ।

संहितामा डर देखाएर, धम्क्याएर असुल गरिने कार्यका लागि अलग्गै सजायको व्यवस्था गरिएको छ । यसैगरी जानाजान विश्वासघात गर्नेहरूलाई पनि सजाय गर्ने प्रावधान राखिएको छ । कैद तथा जरिवानामा नयाँ कानुनमा एकरुपता ल्याइएको छ ।

कुनै पनि अभियोगमा दोषी ठहर भई अदालतबाट सजाय पाएको अभियुक्तले कैद तथा जरिवानाको सट्टा नयाँ सजाय पनि रोज्न सकिने व्यवस्था संहितामा उल्लेख छ । फौजदारी संहितामा कैदको सट्टा सामुदायिक सेवा गर्न सकिने प्रावधान राखिएको छ । त्यस बापत उसको सजाय कम हुँदै जानेछ ।

लापर्बाही रुपमा सवारी चलाएर दुर्घटना भई यात्रु वा अन्य व्यक्तिको ज्यान गए पनि कानुनी व्यवस्थाको फाइदा उठाएर धरौटीमा छुट्दै आएका सवारी चालकले अब उन्मुक्ति नपाउने भएका छन् । नयाँ मुलुकी संहिताले सवारी दुर्घटनाको अपराधलाई गम्भीर रुपमा लिँदै धरौटीमा छुट्न बन्देज लगाउने व्यवस्था राखेको छ । मुलुकी संहिताले आमा र बाबु दुवैको थर लेख्न पाउने नयाँ व्यवस्था गरेको छ ।

बालबालिकासम्बन्धी ऐन २०४८ को व्यवस्थालाई संशोधन गर्दै बालबालिकाले आमाको थर राख्ने चाहेमा राख्न पाउने व्यवस्था संहितामा गरिएको छ । पिताको ठेगान नलागेको व्यक्तिले पनि आमाको थर राख्न पाउने र उक्त आधारमा विद्यालय भर्ना, जन्म दर्ता र नागरिकता प्राप्त गर्ने प्रक्रिया सुरु गर्न पाउनेछन् ।

मुलुकी संहिताले विवाह भएको मितिले एक सय ८० दिनपछि अर्थात् ६ महिनापछि जन्मेको शिशु विवाहित पतिबाटै जन्मेको मान्यता दिएको छ । पतिको मृत्यु भएका वा वैवाहिक सम्बन्ध अन्त्य भएमा उक्त मितिबाट २ सय ७५ दिनभित्र अर्थात नाै महिनासम्म जन्मेको बच्चा पनि पूर्व पतिकै हुने संहितामा उल्लेख छ ।

नापतौलमा घटिबढी हुने गरी वा त्रुटीपूर्ण नापतौल गरी ठगी गरेमा धरौटीमा उन्मुक्ति नपाउने व्यवस्था संहितामा राखिएको छ । यस्तो कार्य गर्नेलाई तीन वर्ष कैद र तीस हजार जरिवाना हुने संहितामा उल्लेख छ ।

गलत औषधि दिएर ज्यान गएमा ज्यान मारेको सरह, औषधी सेवनका कारण ज्यान मर्न सक्ने खतरा पुगेको वा पुग्ने सम्भावना भएमा ज्यान मार्ने उद्योग गरेको र शरीरको कुनै अंगमा क्षति पुगेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना हुने संहितामा उल्लेख छ ।

संहितामा राज्यको प्रतिनिधिका रूपमा सम्मिलित कुनै पनि खेलमा मिलेमतो गरे अब खेलाडीलाई राज्यविरुद्ध कसुरमा सजाय हुने ऐनले व्यवस्था गरेको छ । यस्तो कसुरमा संलग्नलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने पनि ऐनमा व्यवस्था गरिएको छ ।

यस्तै बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्ने सरकारी वकिललाई पनि कारबाही हुने भएको छ । त्यही खण्डको परिच्छेद चारको सार्वजनिक न्याय विरुद्धका कसुर अन्तर्गत दफा ९९ मा कानून बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी पाएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसुरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउन नहुने उल्लेख छ ।

यसैगरी, परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुरअन्तर्गत दफा १ सय ४ ले सङ्क्रामक रोग फैलाउन नहुने भनेको छ । नियतपूर्वक वा जानीजानी गरेको भए कसुर गरेको व्यक्तिलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिवाना, लापर्बाहीपूर्वक गरेको भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना र हेलचेक्य्राइँपूर्वक गरेको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना गरिने ऐनमा उल्लेख छ ।

अश्लील किताब प्रकाशन वा बिक्री वितरण तथा अश्लीलता झल्कने चलचित्र निर्माण गर्नेलाई अब एक वर्षसम्म कैदको सजाय हुने भएको छ । यस्तो कार्यमा संलग्न कसुरदारलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनले गरेको छ ।

अपराध संहिताले बाजी राख्नेहरुमाथि पनि कडा सजायको व्यवस्था गरेको छ । जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्नेलाई पनि अब जेल सजाय हुने भएको छ । सोही खण्डको परिच्छेद ५ अन्तर्गत दफा १२५ मा पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको हो ।

धर्म परिवर्तन गराउने काम अपराध रहेको र यस्तो काममा संलग्नलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था गरिएको छ । यस्तै, धार्मिक रितिथितीमा बाधा पुर्याएको ठहरिएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

दाइजो माग्ने र दाइजोका कारण महिलालाई हैरानी दिनेलाई अब कडा कारबाही गरिने भएको छ । अब दाइजो मागेमा वा लेनदेनको सर्त राखेको भेटिएमा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने ऐनमा व्यवस्था गरिएको छ ।

बदनियत राखेर प्रहरीले अब जथाभावी कसैलाई पनि पक्राउ गर्न पाउँदैन । पक्राउ गर्नु पहिले प्रहरीले कसुरदारलाई पक्राउ गर्नुको कारण खुलाई पक्राउ पुर्जी दिनुपर्ने छ । अन्यथा पक्राउ गर्नेमाथि नै कारबाही हुने ऐनमा उल्लेख छ । पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई पाँच वर्षसम्म कैद सजाय हुने भएको छ ।

चिकित्सकहरुको लापरबाहीले विरामीको मृत्यु भए अबदेखि चिकित्सकलाई पाँच वर्ष कैद सजाय हुने भएको छ । त्यस्तै हेल्चेक्राइँ गरेमा तीन वर्ष कैदको व्यवस्था छ । डाक्टरले बदनियतपूर्वक उपचार गरेमा जन्मकैदसम्मको व्यवस्था गरिएको छ ।

नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब कैद सजाय हुने भएको छ । पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद हुने भएको छ । त्यति मात्रै होइन, पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गरिने अपराध संहितामा उल्लेख छ ।

गाईगोरु मार्ने अपराध गरेकोमा भने सजाय घटाइएको छ । पहिलो यो अपराध गरेकालाई पाँच वर्ष कैद हुँदै आएकोमा अहिले घटाएर तीन वर्ष राखिएको छ ।

प्रकाशित समय ०८:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु