गृहपृष्ठ राज्यले भुलेको एउटा ‘गहना’

राज्यले भुलेको एउटा ‘गहना’

'मलाई मर्न मन छैन, अझै केही गर्न मन छ'

‘पिँढीमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदी हुन् मलाई सम्झेर…’ यो कालजयी गीतका गायक बुद्धिकृष्ण लामिछाने अहिले आफैँ त्यही गीत लेखेको पिढीँमा सुतेर चरम पीडासँग जुधिरहेका छन् । शरीरको दाहिने भाग नचलेको सात वर्ष बित्यो । ६३ वर्षे शरीरको दाहिने पाटो उच्च रक्तचाप र मधुमेहका कारण चल्दैन । उनी न केही सजिलोसँग बस्न सक्छन् न त सुत्न नै । भक्तपुरको तिल्कोट डाँडाको टाकुरामा उनको पुर्ख्याैली घर छ । त्यही घरको पिँढीमा एकछिन सुत्ने र एकछिन उठ्ने गर्दै उनले दिन काट्ने गरेका छन् ।

कुनै जमाना थियो, बृद्धिकृष्णलाई हेर्न मानिसहरुको भीड लाग्थ्यो, उनको आवाजमा गीत सुन्न मान्छेहरु हुरुक्क हुन्थे । उनीसँग बोल्न चाहनेको संख्या ठूलो थियो । हुन पनि उनको जोस र ऊर्जा सम्झनलायक थियो । गायिका कोमल वलीसँग गाएको एउटा गीतमा बृद्धिकृष्णको ऊर्जा अहिले पनि भिडियो हेर्दा सहजै अनुमान लगाउन सकिन्छ । ‘तिम्रो र मेरो मायाको डोरो, बेरौँला फनफनी कान्छी, बेरौँला फनफनी’ बोलको गीतमा बृद्धिकृष्णले गाउँदै मर्की–मर्की नाचेको भिडियोमा देख्न सकिन्छ । स्टेजमा उनी उत्रिएपछि एकपटक मासलाई उफार्न सक्ने खुबी राख्थे बृद्धिकृष्णले । ‘उहाँको जोस-जाँगर र प्रतिभा अनौठो थियो,’ गायिका कोमल वली सम्झिन्छिन्, ‘हामीभन्दा जेठो भए पनि लाग्थ्यो, उहाँमा ऊर्जा र जोस भने एउटा शसक्त युवामाजस्तै थियो, त्यसैले अडियन्सलाई निकै उत्साहित बनाउन सक्ने खुबी राख्नुहुन्थ्यो ।’

त्यसरी स्टेज नै तताउन सक्ने गायक अहिले त्यो घरको पिढीँमा थन्किएका छन् । बिलकुल एक्लो छन् । विगतमा उनी भनेर हुरुक्क हुने कोही पनि उनलाई हेर्न, भेट्न जाँदैनन् । केही कलाकार र पत्रकार भने फाट्टफुट्ट जाने गरेका छन् ।

विस्तारै उनको सम्झन सक्ने क्षमता पनि गुम्दै गएको छ । विगतका धेरै कुरा उनले बिर्सिसकेका छन् । आफैँले गाएको गीत पनि उनले सम्झन छाडेका छन् । ‘सबैले मर्न लाग्योजस्तो गरी दया गर्छन्,’ उनी भन्छन्, ‘तर म अझै बाँच्न चाहान्छु, अझै केही गर्न चाहान्छु ।’

उनलाई तपाईंको एउटा गीत गाउनु न भनेर आग्रह गर्दा उनी पिढीँमा बसेर भन्ने गीत सम्झन्छन् । तर, अन्तरामा पुगेपछि उनी अलमलिन्छन् । अरु गीत त उनलाई सम्झाइयो भनेमात्र सम्झन्छन् । भूकम्पले कमजोर बनाएको घरको पिढीँमा ढल्किने, उठ्ने–बस्ने उनको दैनिकी हो । साथमा भएकी जीवनसंगिनी घरायसी काम, व्यवहारले दिनभर उनलाई रुँगेर बस्न भ्याउँदिनन् । त्यतिबेला बृद्धिकृष्ण एक्लै हुन्छन् । उनलाई तीर्खा लाग्दा पानी पनि खान पाउँदैनन् । ‘धन्न श्रीमती चाहिँ देवीसरह हुनुहुन्छ,’ छिमेकी रुपकला अचार्य भन्छिन्, ‘सबैतिर काम भ्याएर पनि आफ्नो बूढाको हेरचाह गरिरहनुभएको छ ।’

को हुन बुद्धिकृष्ण लामिछाने ?
नेपाली सांगीतिक क्षेत्र विगतको तुलनामा अहिले निकै फराकिलो बनेको छ । यसरी नेपाली गीतसंगीत आजको विकसित मोडमा आइपुग्नुमा अग्रज कलाकारहरुको योगदान बिर्सन सकिँदैन । खासगरी नेपाली मौलिक पहिचान वा लोकसंस्कृतिसहित नेपालीपन भएका गीतसंगीत आज पनि उत्तिकै रुचाइएका छन् । यसरी मन पराइएका सृजना उत्पादन गर्ने र नेपाली सांगीतिक क्षेत्रलाई व्यापकता दिने सर्जकमध्ये वरिष्ठ लोकगायक लामिछानेको भूमिका अत्यन्तै सराहनीय छ ।

वरिष्ठ लोकगायक लामिछानेको जन्म विक्रम सम्बत २०१२ सालमा भक्तपुरको तत्कालिन जयबागेश्वरी–३ मा पिता टिकाराम लामिछाने र माता पदमकुमारीको कोखबाट हो । ७ बहिनी छोरी र ५ भाई छोरामा उनी कान्छो हुन् । जयबागेश्वरीमै बाल्यकाल बिताएका उनको विवाह खरिपाटीस्थित विद्यालयमा अध्ययनरत हुँदाकै अवस्थामा विक्रम सम्बत २०३१ सालमा १६ वर्षको उमेरमा भयो । विवाह गरेपछि उनले एसएलसी पनि पास गरे । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा अरुभन्दा सधैं अब्बल दर्जामा आउने लामिछानेको प्रतिभा आम नेपाली माझ भने विक्रम सम्बत २०३९ सालमा मात्रै आयो ।

रेडियो नेपालमा स्वरपरीक्षा उत्तिर्ण भएसँगै ‘घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर’ बोलको गीत आम नेपालीमाझ आएको हो । त्यसपछि ४० सालमा पिढीँमा बसेर मेरै बाटो हेरेर बोलको गीत आयो । यो गीत रेडियो नेपालबाट बज्दा उनी भर्खरै देहान्त भएकी आफ्नी आमालाई दागबत्ती दिएर त्यही गीत लेखेको घरको पिढीँमा बसेका थिए । बुद्धिकृष्ण लामिछाने एक राष्ट्रसेवक सीपाही पनि थिए । उनले आर्मीमा २० वर्ष सेवा पनि गरेका छन् । शारिरीक रुपमा स्वस्थ हुँदा निकै फूर्तिलोसँगले प्रस्तुत हुने गायक लामिछानेका पिढीँमा बसेर, घाँस काट्ने खुर्केर, यही मायामा यही मायामा, तिम्रो र मेरो मायाको डोरी, गाइ त बाँध्ने पाटको दाम्लो, पर्नु पर्यो पीर जेठा मलाई पर्यो पीरजस्ता गीत चर्चित छन् । उनका दुई छोरा र पाँच छोरी छन् । यसरी नेपाली गीतसंगीतलाई एउटा उचाइमा लैजान महत्वपूर्ण योगदान दिएका गायक लामिछाने प्यारालाइसिसका कारण थलिएको सात वर्ष बितिसकेको छ ।

बृद्धिकृष्ण लामिछाने गायकमात्रै होइनन्, एक राष्ट्रसेवक सिपाहीँ पनि थिए । उनले झण्डै २० वर्ष नेपाली सेनामा रहेर काम गरेका छन् । ‘तर, राज्यले एउटा कुशल कलाकार र राष्ट्रसेवकको अवमूल्यन गरेको छ,’ स्थानीय तिलक बेन्जु भन्छन्, ‘उहाँको यो अवस्थाप्रति राज्यको नजर नपर्नु बिडम्बना हो ।’

राज्यले उनलाई उचित सम्मान दिन नसकेको भन्दै हिजोआज जनस्तरबाट सरकारको आलोचना पनि हुने गरेको छ । ‘सांगीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएका बुद्धिकृष्ण लामिछानेले यो क्षेत्रलाई अजम्बरी गुण लगाउनुभएको छ ।’ कलाकार सहदेव कोइराला भन्छन्, ‘उहाँको उपचार र सम्मानमा राज्यको ध्यान जानुपर्छ ।’

 

कलाकारलाई सधैँ उपेक्षा
नेपाली कलाकार राज्यबाट सधैँ उपेक्षित हुँदै आएका छन् । भन्नलाई ’कलाकार राष्ट्रको गहना’ भनिए पनि व्यवहारतः त्यस्तो अवस्था छैन । कलाकारलाई राज्यको व्यवहार मन परुन्जेल गहना, मनलाग्न छाडेपछि जडौरीजस्तो हुने गरेका छन् । राष्ट्रको पहिचान र गरिमा बढाउन कलाकारको योगदान उल्लेखनीय छ । पछिल्लो समय कलाकारहरुले सामाजिक रुपान्तरणका लागिसमेत प्रभावकारी भूमिका निर्वाह गर्ने गरेका छन् ।

कला, संस्कृति संरक्षणका संवाहक कलाकारको सम्मानका लागि राज्यले नीतिगत व्यवस्था गर्न सकेको छैन । कलाकारहरुको सामाजिक सुरक्षामा समस्या देखिएको छ । जवानी रहुन्जेल निकै हाइहाइ हुने कलाकारको दैनिकी जवनी ढल्किएसँगै कष्टकर हुने गरेको छ । बाँचुन्जेल कलाक्षेत्रकै लागि भोकभोकै हिँडेर भए पनि मुलुकको गरिमा बढाउन लागिपर्ने कलाकारको दुखमा राज्यले आँखा चिम्लिदिँदा अर्को पुस्तालाई त्यसले हतोत्साहि बनाएको छ । ‘लिच्छवीकालदेखि विकास भएको नेपाली कलाक्षेत्र विविन्न युग पार गर्दै राणकाल, प्रजातन्त्र, पञ्चायत, बहुदलीय प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि खै त राज्यले कलाकारलाई सम्बोधन गरेको ?’ कलाकार कोइरालले प्रश्न गरे, ‘हरेक परिवर्तनका लागि कलाकारले पुर्याएको योगदान के सीमित दल र तीनका नेतालाई सत्तामा पुर्याउनका लागि मात्र हो त ?

तस्बिर : सुनिल प्रधान 

प्रकाशित समय ०७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु