गृहपृष्ठ टिकापुर : घुस लिएका कर्मचारीलार्इ रकम फिर्ता गर्न बाध्य पारियाे

टिकापुर : घुस लिएका कर्मचारीलार्इ रकम फिर्ता गर्न बाध्य पारियाे

फिर्ता रकम मुक्त कमैयालाई बाँडियो

लालपुर्जा बनाइदिन भन्दै मुक्त कमैयाबाट मोटो रकम असुलेका मालपोत कार्यालय टीकापुरका कर्मचारीले रक फिर्ता गरेका छन् । उक्त रकम शनिबार जानकी गाउँपालिकास्थित पालबजार मुक्त कमैयाँ शिविरका स्थानीयलाई बाँडिएको छ । समाजसेवी केशवबहादुर शाहीको विशेष पहलपछि मालपोतका कर्मचारीले मुक्त कमैया शिविर पालबजारका ५७ जनाबाट उठाएको रकममध्ये २ लाख ३ हजार ८ सय २५ रुपैयाँ फिर्ता गराइएको हो । फिर्ता गरेको रकम स्थानीय राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, प्रहरी र पत्रकारको रोहबरमा पीडितलाई वितरण गरिएको हो ।

वडा कार्यलयको सिफारिससहित बढीमा एक हजार एक सय रुपैयाँमात्र लाग्ने ठाउँमा मालपोत कार्यालय टीकापुरमा कार्यरत कार्यालय सहयोगी मनीराम चौधरीले विल नकाटेरै जग्गा दर्तामा प्रति लालपुर्जा ३ हजार ५ सय देखि ५ हजार रुपैयाँ सम्म असुलेका थिए । लालपुर्जा दिलाई दिने नाममा मुक्त कमैया शिविरबाट अवैध रुपमा एक गिरोहले पैसा असुल्दै गरेको खबर पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी अमरावतीको टोलीले घटनामा संलग्न जानकी गाउँपालिका–८ पालबजारका प्रेमलाल चौधरी र रामलाल चौधरीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको सहायक प्रहरी निरीक्षक रणबहादुर बुढाले जानकारी दिए । एक सय रुपैयाँको रसिद काटी हजारौँ रुपैया असुल्दै गरेका घटनाका योजनाकार मालपोत कार्यालय टीकापुरमा कार्यरत कर्मचारी मनिराम चौधरीले प्रहरीबाट भागेर पीडितसमक्ष पुगी गल्ती स्वीकार गरेका छन् । उनले माफी पनि मागेका छन् ।

पैसा नतिरेसम्म लालपुर्जा नमिल्ने भन्दै गाउँ–गाउँमा खबर आएपछि आफूहरु तोकिएको रकम तिर्न बाध्य भएको पीडित मुक्त कमैयाले गुनासो गरेका छन । जग्गाको लालपुर्जा लिन वडा कार्यालय र मालपोतमा गरी करीब एक हजार एक सय रुपैयाँमात्र बुझाउनु पर्ने जानकारी पाएपछि आफूहरु ठगिएको थाहा पाएको मुक्त कमैयाँ शिविरकी कुलेनी थारु र दिलकुमारी चौधरीले बताए ।

भूमिसुधार कार्यालयले करिव दश वर्षअघि विभिन्न ठाउँमा बस्दै आएका मुक्त कमैयाहरुको लगत संकलन गरेको थियो । सोहीअनुसार मुक्त कमैया पुर्नस्थापना समितिको सिफारिसमा जानकी गाउँपालिका–८, पालबजारका ६२ र लम्कीचुहा नगरपालिका–३, बल्चौरका ३ सय १८ घरपरिवारलाई समेत जग्गा दिने निर्णय भएको थियो । मालपोत कार्यालय टीकापुरले नामथर फरक परेमा, कुनै जग्गाधनीको मृत्यु भएमा वा अन्य कुनै कारणले सच्याउनु पर्ने भए स्थानीय तहको सिफारिस लिएर आउन मुक्त कमैयालाई सूचना गरेको थियो ।

सोही सूचनाका आधारमा मालपोत कार्यालयका कर्मचारी संलग्न गिरोहले मुक्त कमैयाहरुसँग रकम असुलेको पाइएको हो । पालबजारका मुक्त कमैयाँहरुको पैसा फिर्ता भए पनि जिल्लाको बल्चौर, बक्लौवा, विध्यानगर शिविरका मुक्त कमैयाँबाट अवैध रुपमा लिएको लाखौँ रुपैयाँ भने अझै फिर्ता भएको छैन । पीडितको तर्फबाट कुनै निवेदन र फिराद नपरेको भन्दै घटनामा संलग्न पालबजारका प्रेम चौधरी र रामलाल चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले छोडिसकेको छ । मालपोत कार्यालयका मनिराम चौधरी भने खुलेआम हिँडीरहेका छन् । मुक्तकमैयाबाट अवैधरुपमा विचौलिया र मालपोत कार्यालयका कर्मचारीले रकम असुल्दासमेत स्थानीय जनप्रतिनिधिहरुले चासो नदेखाएको भन्दै स्थानीयले घटनामा जनप्रतिनिधिको समेत संलग्नता हुन सक्ने आशंका गरेका छन ।

प्रकाशित समय १३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु