गृहपृष्ठ शीर्ष नेताको विदेश भ्रमणले नेकपाको बैठक प्रभावित
शीर्ष नेताको विदेश भ्रमणले नेकपाको बैठक प्रभावित
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक पुनः सरेको छ । यसअघि पनि बिमस्टेक बैठकका कारण भन्दै नेकपाको स्थायी समिति बैठक सरेको थियो ।
खासगरी नेकपाको प्रदेश तथा जिल्ला तहको समायोजन (एकीकरण)लाई लिएर नेकपाको स्थायी समिति बैठक लगातार सर्दै आइरहेको छ । यसअघि भदौ ८ र ९ गते हुने भनिएको स्थायी समिति बैठक बिमस्टेक शिखर सम्मेलनको तयारीमा जुट्नु परेको भन्दै भदौ १९ र २० का लागि सारिएको थियो । अहिले नेताहरुको विदेश भ्रमणका कारण स्थायी समितिको बैठक भदौ १९ र २० बाट भदौ २६ र २७ गते हुने गरी सारिएको छ ।
वरिष्ठ नेता माधव कुमार नेपाल अमेरिका भ्रमणमा छन् । त्यसैगरी नेकपाको प्रवक्ताबाट राजिनामा दिएका नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाँदै छन् । थप केही नेताहरु पनि विदेश भ्रमणमा जाने भएका छन् । यसरी नेताहरुको विदेश भ्रमणका कारण नेकपाको स्थायी समिति बैठकक पछाडि धकेलिएकको हो । जसका कारण जिल्ला र प्रदेश तहको पार्टी एकता प्रत्यक्ष रुपमा प्रभावित बनेको छ ।
पूर्व निर्धारित कार्यतालिका अनुसार भदौ ७ सम्म प्रदेश, जिल्ला तथा भातृ संगठनको एकता प्रकृया टुंग्याउन केन्द्रले निर्देशन दिएको थियो । ती तहको एकताका लागि कार्यदल बनाइएको थियो । सोही कार्यदलको सिफारिसमा केन्द्रले निर्णय गर्ने भनिएको थियो । तर, एकता कार्यदलको सिफारिस नै तीव्र विवादमा परेको छ ।
खासगरी प्रदेश नम्बर ५ को सिफारिसलाई लिएर नेपाल पक्षले चर्काे असन्तुष्टि जनाएको छ । उसले प्रदेश ५ मा समानान्तर सिफारिस गर्नेसम्मको चेतावनी दिइसकेको छ । यसै विषयलाई लिएर नेपाल पक्षले छुट्टै बैठकसमेत राखेको थियो ।
प्रकाशित समय १४:१० बजे
















