गृहपृष्ठ नेपालको शिर उचो पार्ने खेलाडीहरु पाँच लाख नगदसहित सम्मानित

नेपालको शिर उचो पार्ने खेलाडीहरु पाँच लाख नगदसहित सम्मानित

सरकारले एसियाली खेलकुदमा रजत पदक विजेता प्याराग्लाइडिङका खेलाडीहरुलाई जनही पाँच लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ । काठमाडौंमा सोमबार नगरपरिक्रमासहित पदक विजेता खेलाडी, प्रशिक्षक तथा संघलाई सम्मान गरिएको हो ।

इन्डोनेशियाको जाकार्तामा हालै सम्पन्न एसियाली खेलकुदमा सहभागी भएर प्याराग्लाइडिङतर्फ रजत जित्ने नेपाली टोलीका कप्तान बिमल अधिकारी, युकेश गुरुङ, सुशील गुरुङ, विजय गौतम र विशाल थापाले सम्मानस्वरुप जनही ५ लाख रुपैयाँ पाए ।

राष्ट्रिय खेलकुद परिषदले पदक विजेता खेलाडीलाई जनही ५ लाख र मुख्य प्रशिक्षकलाई ३ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ । यस्तै, सहायक प्रशिक्षकलाई १ लाख ५० हजार र प्याराग्लाइडिङ संघलाई ५ लाख प्रदान गरिएको छ ।

पुरस्कार प्रदान गर्नुअघि रजत पदक विजेता खेडालीहरुलाई राष्ट्रिय खेलकुद परिषदको आह्वानमा काठमाडौंमा नगर परिक्रमसमेत गरिएको थियो । राखेपले आयोजना गरेको नगरपरिक्रमा त्रिपुरेश्वर हुँदै सुन्धारा, रत्नपार्क, पुरानो बसपार्कबाट राष्ट्रियसभा गृहमा पुगेर सम्पन्न भएको थियो ।

त्यसपछि राष्ट्रिय सभा गृहमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले रजत पदक विजेता खेलाडीहरुलाई जनही ५ लाख नगदसहित सम्मान गरे । त्यसक्रममा उनले नेपाली खेलाडीहरुलाई उचित वातावरण बनाउन सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘नेपालको खेलकुद क्षेत्रको विकासमा आवश्यक पहल कदमी लिन म सबैलाई आग्रह पनि गर्न चाहान्छु ।’ उनले भने ।

कार्यक्रममा मन्त्री विश्वकर्मासँगै राखेप सदस्य सचिव केशवकुमार विष्ट, ओलम्पिक कमिटिका अध्यक्ष जिवनराज श्रेष्ठलगायत उपस्थित थिए । राखेप सदस्य सचिव विष्टले प्याराग्लाइडिङका खेलाडीले नेपाली खेलकुदको शिर उचो बनाएको बताए ।

‘यस खेलको विकास र प्रवद्र्धनमा सरकारले सहयोग गर्नेछ,’ उनले भने । इन्डोनेशियामा आयोजित एसियाली खेलकुद प्रतियोगितामा नेपालले २० वर्षपछि पदक हात पारेको हो । बीस वर्षअगाडि सविता राजभण्डारीले बैंकक एशियाली खेलकुदमा तेक्वान्दोबाट नेपाललाई पहिलो पटक ऐतिहासिक रजत पदक दिलाएकी थिइन् ।

तर, पोखरामै सीमित मानिएको प्याराग्लाइडिङले खेल ले ठीक २० वर्षपछि जकार्ता एशियाली खेलकुदमा रजत पदकको इतिहास दोर्होयाएको हो । पोखराको आकाशमा झन्डै दुई दशकको अनुभवबाट खारिएका खेलाडीहरूले इन्डोनेशियाको पहाडी पर्यटन क्षेत्र गुनुङ मास कुन्काकको आकाशमा त्यो इतिहास बनाएका हुन् ।

नेपालका लागि यो ऐतिहासिक पदक कप्तान विमल अधिकारी, विशाल थापा, विजय गौतम, सुशील गुरुङ र युकेश गुरुङले पुरुष टिम त्रस कन्ट्री इभेन्ट्समा जितेका हुन् । एशियाली खेलकुदमै प्याराग्लाइडिङ समावेश गरिएको यो पहिलो पटक हो ।

प्रकाशित समय १९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु