गृहपृष्ठ आईएमई ग्रुपले भित्र्यायो सलाम एयरलाइन्स

आईएमई ग्रुपले भित्र्यायो सलाम एयरलाइन्स

नेपालको पर्यटन प्रवर्धनमा योगदान पुग्ने विश्वास

salam-air-newskarobar

आइएमई ग्रुपले सलाम एयरलाइन्सको सेवा नेपाल भित्र्याएको छ । मंगलबार बिहान सलाम एयरको पहिलो उडान अवतरण भएसँगै यसले अबदेखि काठमाडौं-मस्कट गन्तव्यका लागि नियमित उडान भर्नेछ । सलाम एयरलाइन्सको जीएसए (जनरल सेल्स एजेन्ट) व्यवस्थापन आइएमई ग्रुपद्वारा प्रवर्धित आइएमई इन्टरनेसनल ट्राभल प्रालिले गर्नेछ ।

ओमानको पहिलो बजेट क्यारियरको रुपमा सन् २०१६ मा स्थापना भई ३० जनवरी २०१७ देखि व्यावसायिक यात्रा सुरु गरेको सलाम एयरलाइन्सले मस्कटलाई आफ्नो हब बनाउनेछ । १७४ सिट क्षमताको एयरबस ३२०/२१४ ले हालसम्म ढाका, बाकु, टिवलिस, दोहा, दुबई, सिलकोट, मुल्तान, कराँची, खार्तुम, जेद्दालगायत १३ वटाका साथै सलाल र सुहार गरी दुईवटा आन्तरिक क्षेत्रमा उडान भर्दै आएकोमा काठमाडौं थप गरी १६ गन्तव्यमा हवाई सेवा विस्तार गरेको छ । सलाम एयरले ओमानलगायतका गन्तव्यको तुलनामा सस्तो र सुलभ भाडादर कायम गरेको छ । यसबाट वैदेशिक रोजगारीका लागि मध्यपूर्व एसियाका राष्ट्र जाने नेपालीले प्रत्यक्ष लाभ प्राप्त गर्न सक्नुका साथै नेपालको पर्यटन प्रवर्धनमा पनि योगदान पुग्नेछ ।

विभिन्न आन्तरिक तथा बाह्य क्षेत्रमा उडान विस्तार गरी हवाई यात्रुको सेवा र सुविधालाई मध्यनजर गर्दै लाइट, फ्रेन्ड्ली र फ्लेक्सी गरी तीन किसिमका हवाई भाडा निर्धारण गरेको छ । सलाम एयरले व्यावसायिक क्षमता वृद्धि र यात्रुको सुविधाका लागि कुनै पनि गन्तव्यमा एक वर्षभित्र १० पटक यात्रा गरेको बोर्डिङ पास सम्बन्धित कार्यालयको टिकट काउन्टरमा बुझाएपछि एउटा टिकट निःशुल्क दिनेछ ।

आईएमई ग्रुपद्वारा प्रवद्र्धित चन्द्रागिरि हिल्सले सलाम एयरलाइन्सको पहिलो उडानबाट नेपाल आउने यात्रुलाई उपहारस्वरुप ५० प्रतिशत र तत्पश्चात सलाम एयरबाट यात्रा गर्ने सम्पूर्ण यात्रुलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । यो सुविधा लिन सलाम एयरबाट यात्रा गर्ने यात्रुले थानकोटस्थित चन्द्रागिरि हिल्सको टिकट काउन्टरमा बोर्डिङ पास देखाउनुपर्नेछ । एयरलाइन्सले नेपाल नागरिक उडड्यन प्राधिकरणले दिएको समय तालिकाअनुसार काठमाडौंका लागि बिहान ८ः०० बजे अवतरण र ८ः४० मा उडान भर्नेछ ।

salam-air-newskarobar

सलाम एयरको पहिलो उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अवसर पारेर आईएमई ग्रुपले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पत्रकार भेटघाट कक्षमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्रीले सलाम एयरको हवाई सेवा सुरु भएपछि मध्यपूर्वी देशबाट नेपाल भ्रमणमा आउने विदेशी पर्यटक र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहज हुने बताए । सलाम एयरका प्रमुख कार्यकारी अधिकृत क्याप्टेन महम्मद अहमदले स्थापित ब्रान्ड आईएमईसँग व्यावसायिक सम्बन्ध जोड्न पाउँदा खुसी व्यक्त गरे ।

कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सलाम एयरको आगमनले नेपालको समग्र पर्यटन प्रवर्धनका साथै सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले श्रमका लागि मध्यपूर्वलगायत विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीलाई रेमिट्यान्स सेवाका अतिरिक्त बजेट एयरलाइन्समार्फत हवाई सेवा प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दिगो आर्थिक विकासको आधार पर्यटन भएको उल्लेख गर्दै आईएमई ग्रुपसँग जोडिएको सलाम एयरको सम्बन्धले नेपालको पर्यटन प्रवर्धनमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित समय १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु