गृहपृष्ठ जातीय विभेद र छुवाछुत पीडितको न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता
जातीय विभेद र छुवाछुत पीडितको न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता
शिवालय गाउँपालिकाका सरोकारवालाहरुले जातिय विभेद तथा छुवाछुत सम्बन्धीका मुद्दामा पीडितलाई न्यायप्राप्तिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कानुनले जातीय विभेद तथा छुवाछूत गर्नुलाई अपराध मानिसकेको अवस्थामा यस्ता घटनाका पीडितहरुले न्याय पाउन संघर्ष गर्नुपरेको यथार्थ चित्रण गर्दै सरोकारवालाहरुले आगामी दिनमा न्यायप्राप्तिका लागि आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
साझा आवाज कार्यक्रम अन्तर्गत नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले शिवालायमा आयोजना गरेको स्थानीय स्तरमा घट्ने जातिय विभेद र छुवाछुत सम्बन्धी घटनाहरुको न्यायिक प्रक्रियाका लागि सहकार्यमूलक कार्यशालाका सहभागीहरुले आगामी दिनमा थप सहयोग गर्ने बताए ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जातिय विभेद र छुवाछुतका घटनामा न्याय दिन गाउँपालिकाले सहायोग गर्ने बताए । उनले कुनै पनि हिंसामा परेका व्यक्तिलाई न्यायका लागि सहयोग गर्ने गाउँपालिकाको योजना रहेको बताउँदै अब शिवालयमा कोही पनि नागरिक न्याय पाउनबाट बञ्चित हुनुनपर्ने जिकिर गरे ।
जातिय विभेद र छुवाछुत न्यूनीकरणका लागि गाउँपालिकाले विशोष कार्ययोजना बनाउने योजना रहेको अध्यक्ष शाहीले जनाए । ‘जातिय विभेद र छुवाछुत अन्त्य गर्न गाउँपालिकाले एउटा कार्ययोजना बनाउछ’,उनले भने,‘तर कुनै एक व्यक्ति, जाति, पार्टीको पहलले संभव छैन हामी सबैले हातमा हात काँधमा काँध गरेर अगाडि बढ्नु आवश्यक छ ।’
प्रकाशित समय १९:३१ बजे
















