गृहपृष्ठ सेयर बजार निरन्तर उकालो लाग्दै, डेढ महिनामा ९० अंक बढ्यो
सेयर बजार निरन्तर उकालो लाग्दै, डेढ महिनामा ९० अंक बढ्यो
सेयर बजार परिसूचक (नेप्से) ६ सातामा ९० अंक उकालो लागेको छ । लामो समय ओरालो लागेर केही समय तेर्सो यात्रा गरेको नेप्से साउन २८ गतेदेखि असोज ४ गतेसम्ममा ९० अंक बढेको छ ।
साउन २८ गते ११६५ अंकमा रहेको नेप्से सोही साता निरन्तर बढेर ४५ अंक उक्लिएको थियो । त्यस्तै भदौ तेस्रो साता पनि बजार ४८ अंकले उकालो लागेको थियो । अरु साता सामान्य घटबढ भए पनि समग्रमा बजार ९० अंकले बढेको छ ।
यो साता १० अंक बढ्यो
सेयर बजार यो साता पनि बजार १०.२३ अंकले उकालो लागेको छ । साताको पहिलो दिन आइतबार १२४४ अंकबाट कारोबार सुरु भएको बजार बिहीबार १२५५.०७ अंकमा पुगेर बन्द भएको छ । साताभरमा १८९ कम्पनीको कारोबार भएको बजारमा दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँबराबरको ९० लाख ७० हजार सात सय ७० कित्ता सेयर खरिद–बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो । गत साता १८६ कम्पनीको दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँबराबरको एक करोड दुई लाख ५५ हजार ६ सय ८० कित्ता सेयर किनबेच भएका थिए ।
निरन्तर उकालो लाग्दै
सेयर बजार परिसूचक नजानिँदो पाराले उकालो लाग्न थालेको छ । दुई वर्षदेखि घट्दो क्रममा रहेको बजार बैंकको ब्याजदर घट्नुका साथै अनलाइन कारोबारको प्रभावले बढ्न थालेको हो । लगानीकर्तामा हकप्रदको भार पर्न छाडेका कारण पनि बजारमा सेयरको माग बढेको विश्लेषकहरु बताउँछन् ।
लामो समयदेखि बजारको न्यून विन्दुको पर्खाइमा रहेका लगानीकर्ता यतिखेर बजार प्रवेश गर्न थालेका छन् । पुँजी वृद्धिका कारण बोनस र हकप्रदको बाढी आउँदा चार–पाँच गुणासम्म सेयर संख्या बढेसँगै कम्पनीको मूल्य पनि चार–पाँच गुणा तल झरेको छ । विश्लेषकहरुले बजार न्यून विन्दुमा पुगेकाले उकालो लाग्न थालेका बताएका छन् । सस्तो मूल्यमा सेयर खरिद गर्न मौका पर्खिएर बसेका ठूला एवं संस्थागत लगानीकर्ता पनि विस्तारै बजार प्रवेश गरेपछि कारोबार रकममा पनि सुधार आएको छ ।
विगत केही साता निरन्तरजसो दैनिक २०–२५ करोड रुपैयाँभन्दा तल सेयर किनबेच भएको बजारमा यतिखेर ४०–५० करोडको कारोबार हुन थालेको छ । यो साताको पहिलो दिन आइतबार ९१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । साताको अन्तिम दिन बिहीबार पनि ५५ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।
बजार छिर्ने उपयुक्त समय
बजार उकालो लाग्दै गर्दा विश्लेषकहरुले यो समयलाई सेयर किन्ने उपयुक्त समयका रुपमा टिप्पणी गरिरहेका छन् । ‘बजार न्यून विन्दुबाट उकालो लाग्न थालेकाले सेयर बजार प्रवेश गर्दा यतिखेर कम जोखिम हुन्छ,’ सेयर बजार विश्लेषक रविन्द्र भट्टराई भन्छन्, ‘अनलाइन कारोबार सुरु भएकाले संयम भएर क्रमिक रुपमा बजार प्रवेश गर्न सके राम्रो फाइदा हुनसक्छ ।’
बजार न्यून विन्दुतिर रहेका बेला आफूसँग भएको पैसा क्रमिक रुपमा लगानी गर्दै पोर्टफोलियो बनाउन सकिने उनको भनाइ छ । ‘घट्दो ब्याजदरसँग अनलाइन कारोबारको सुरूवात हुने चर्चाले बजारलार्इ बढ्न थप मद्दत पुग्छ,’ उनले भने, ‘गत वर्षको नाफाबाट कम्पनीहरूले लाभांश घोषणा गरिरहेकाले लाभांशसहित सेयरको मूल्यवृद्धिको नाफा पनि लिन सकिन्छ ।’
प्रकाशित समय १७:१६ बजे

















