गृहपृष्ठ वृद्ध बाबुआमाका पीडा : छोराछोरी टाढिए, बेसहारा भयौं
वृद्ध बाबुआमाका पीडा : छोराछोरी टाढिए, बेसहारा भयौं
घरमा बूढाबूढी एक्लै बस्नुपर्दा मानसिक रोगको सिकार बन्ने गरेका छन् : प्रशान्ति वृद्धाश्रम
वीरेन्द्रनगर–६ की ६६ वर्षीया वृद्धा तुलसी थापा घरमा एक्लै बस्छिन् । दोस्रो विवाह गरेर श्रीमान अन्तै गएपछि उनी एक्लो परेकी हुन् । उनका दुइटी छोरीको विवाह भइसकेको छ । बुढेसकालको सहारा कोही छैन । भन्छिन्, ‘अब मलाई कसले हेर्छ ?’
वीरेन्द्रनगर–४, भैरवस्थानका ७१ वर्षीय वृद्ध कलाधर अधिकारीको अवस्था पनि उस्तै छ । पारिवारिक अवस्था राम्रो भए पनि भएका दुई भाइ छोरा काठमाडौं बस्न थालेपछि उनी एक्लै निर्वाह गरिरहेका छन् । ‘बुढेसकालमा छोराछोरी टाढा भए, हामी बेसहारा भयौं,’ उनी भन्छन् ।
तुलसी र कलाधरले नेपाली समाजको अथार्थ स्थितिको प्रतिनिधित्व गर्छन् । यस्ता धेरै वृद्धवृद्धा छन्, जो बुढेसकालमा सहाराविहीन भएका छन् । छोराछोरी लाखापाखा लागेपछि कोही थोत्रो घर कुरेर दुःखको जिन्दगी बाँचिरहेका छन् भने कोही परिवारसँग बस्न नसकेर वृद्धाश्रमको सहारा लिन बाध्य छन् ।
अध्ययनका क्रममा होस् वा कमाउन, हिजोआज विदेशिनेहरुको लर्को लागेको छ । उच्च शिक्षा हासिल गर्न युरोप–अमेरिका जानेहरु सकेसम्म उतै ‘सेटल’ हुन चाहन्छन् । कमाइका लागि खाडी र मलेसियालगायतका जानेहरुले राम्रो शिक्षादिक्षाका लागि भन्दै श्रीमती र छोराछोरी सहरमा राख्छन् । परिणामतः वृद्ध बाबुआमा घर र खेतबारी कुर्न बाध्य हुन्छन् । कतिपयले आफ्नो सहजताका लागि बाबुआमालाई वृद्धाश्रममा छाड्छन् ।
बुढेसकालमा आफू पालिनका लागि बेलैमा आर्थिक जोहो गर्न नसकेका वृद्धवृद्धा यस्तो समस्याबाट बढी प्रताडित छन् । र, जुनसुकै वहानामा होस्, परिवारबाट सहाराविहीन बनाइएका वृद्धवृद्धालाई पालनपोषणको व्यवस्था मिलाउनु सरकारको दायित्व हो । बेसहारा बनेका वृद्धवृद्धा पनि सरकारले कानुन ल्याएर आफूहरुको बुढेसकाल सहज बनाइदिनुपर्ने बताउँछन् ।
सरकारले विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण तथा टोलटोलमा दिवासेवाको व्यवस्था गरिदिनुपर्ने वृद्धवृद्धा बताउँछन् । ‘सरकारले अलिकति भत्ता दिएर आफ्नो दायित्व पूरा भयो भन्ने ठान्नु हुँदैन,’ तुलसी भन्छिन्, ‘बुढेसकालमा सहाराविहीन बन्नुपर्दा तनाव धेरै हुन्छ, घुमेर मन बहलाउने हो, कसैका छोराछोरीलाई फुर्सद हुँदैन, कसैका बाहिर छन्, सरकारले त्यो व्यवस्था मिलाउनुपर्छ ।’ सरकारले उमेरभर यही धर्तीका लागि रगत पसिना बगाउनेहरु बुढेसकालमा सहाराविहीन बन्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
अक्टुबर १ तारिखमा विश्व जेष्ठ नागरिक दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइयो । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि जेष्ठ नागरिक दिवस मनाइएको छ । कर्णाली सरकार सामाजिक विकास मन्त्रालय तथा वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा जिल्ला जेष्ठ नागरिक संघलगायतका संघ–संस्थाले कार्यक्रम गरेका हुन् ।
कार्यक्रमका सहभागीले छोराछोरीको व्यस्तताका कारण कतिपय अवस्थामा आमाबुवालाई समय नसकेको पनि पाइएको बताए । त्यस्तै, कतिपय अवस्थामा आमाबुवालाई छोराछोरीले नै हेपाहा व्यवहार गरी वृद्धाश्रममा छोडेको जिल्ला जेष्ठनागरिक संघ सुर्खेतकी कोषाध्यक्ष डम्बर आचार्य बताउँछिन् ।
कर्णाली प्रदेशमा वृद्धवृद्धाको अवस्था निकै नाजुक छ । कोही घरमा एक्लो जीवन बिताउन बाध्य छन् भने कसैलाई छोराछोरीले वृद्धाश्रममा लगेर छाडेका छन् । ‘जबसम्म वृद्धवृद्धाका सवालमा राज्य सकारात्मक हुँदैन, तबसम्म वृद्धवृद्धाले दुःख पाइरहन्छन्,’ कोषाध्यक्ष आचार्य भन्छिन्, ‘एक दिनमात्रै जेष्ठ नागरिक दिवस मनाएर आम जेष्ठ नागरिकको सम्मान हुँदैन ।’
प्रशान्ति वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले बूढाबूढीहरु घरमा एक्लै बस्नुपर्दा मानसिक रोगको सिकार भएको बताउँछन् । ‘घरका सबै व्यक्ति व्यस्त हुन्छन्, छोराछोरी जागिर खान जान्छन्, नातिनातिना पढ्न जान्छन्, यसको असर वृद्ध बाबुआमामा परेको छ,’ उनले भने, ‘यसमा समेत कर्णाली सरकारले सोच्नुपर्ने बेला आएको छ ।’
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल कर्णाली प्रदेश सरकारले जेष्ठ नागरिकका लागि विशेष कार्यक्रम ल्याएको बताउँछन् । ‘हामीले जेष्ठ नागरिकको सम्मान गर्नुपर्छ । त्यसका लागि प्रत्येक जिल्लामा दिवा सेवा तथा वृद्धाश्रमको स्थापना गर्नेर्छौं,’ उनी भन्छन्, ‘वृद्धवृद्धालाई विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा भ्रमणको समेत व्यवस्था मिलाउने योजनामा छौं ।’ कर्णाली प्रदेशका स्थानीय तहले पनि आफ्नो नीतिअनुसार जेष्ठ नागरिकका लागि काम गरिरहेको मन्त्री रावलले बताए ।
प्रकाशित समय १३:३४ बजे
















