गृहपृष्ठ दसैंमा सरकारी कर्मचारीका लागि १३ अर्ब रुपैयाँ खर्च हुँदै

दसैंमा सरकारी कर्मचारीका लागि १३ अर्ब रुपैयाँ खर्च हुँदै

असोजभित्रै वितरण गर्छौँ : अर्थ मन्त्रालय

arthamantralaya-newskarobar

यो दसैंमा कर्मचारीका लागि सरकारी ढुकुटीबाट १३ अर्ब रुपैयाँ खर्च हुने भएको छ । नियमित तलब र चाडपर्व खर्च गरी सरकारले यो रकम खर्च गर्न लागेको हो । सरकारी कर्मचारीका लागि ८४ अर्ब १० करोड ५३ लाख रुपैयाँ वार्षिक खर्च छुट्याइएको छ । त्यसबाट असोजभित्र नै १३ अर्ब रुपैयाँ कर्मचारीका लागि खर्च गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।

साढे ६ अर्ब चाडपर्व खर्च

करिब ७ अर्ब रुपैयाँ नियमित तलबका रुपमा खर्च गरिँदा कर्मचारीका लागि झण्डै साढे ६ अर्ब रुपैयाँ खर्च ‘चाडपर्व खर्च’ शीर्षकमा हुनेछ । चाडपर्व खर्चका लागि सरकारी कर्मचारीहरुले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउँछन् । विभिन्न क्षेत्र, तह, र अवकाश प्राप्त गरी करिब पाँच लाख ५६ हजार कर्मचारीलाई दसैं पेस्कीस्वरुप ६ अर्ब ४७ करोड रुपैयाँ निकासा गर्न लागिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

दसैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन् । सामान्यतयाः बहुसंख्यक नेपालीले मान्ने चाड दसैंको घटस्थापनामा सबैलाई समेट्ने गरी चाडपर्व भत्ता दिने चलन छ । तर ईद, क्रिसमसलगायत चाडपर्व मनाउने कर्मचारीले दसैंको सट्टा आफ्नो सम्बन्धित चाडपर्वमा उक्त भत्ता लिन पाउने व्यवस्था छ ।

‘यो दसैंलाई मात्र नभई सबै चाडपर्वका लागि दिइने खर्च हो,’ महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता जगन्नाथ देवकोटाले न्युज कारोबारसँग भने, ‘कर्मचारीले वर्षमा १३ महिनाको तलब पाउने हो, यसको अर्थ बेसीक र ग्रेड चाहिँ दिने हो ।’ उनका अनुसार कुनै कर्मचारीले अहिले नलिएर दसैंपछि आउने अन्य चाडपर्वमा यो शीर्षकको खर्च लिन चाहेमा पाउने छन् ।

अर्थ मन्त्रालयकी प्रवक्ता चन्दकला पौडेलले चाडपर्व शीर्षकको खर्च सरकारी कार्यालयका सबै कर्मचारी, शिक्षकले पाउने बताइन् । ‘करारका कर्मचारीलाई समेत चाडपर्व खर्च दिने व्यवस्था गरिएको छ,’ उनले भनिन् ।

कति छन् कर्मचारी ?

विभिन्न क्षेत्र, तह र अवकाश प्राप्त गरी करिब पाँच लाख ५६ हजार कर्मचारीमध्ये ८६ हजार निजामती कर्मचारी, ९० हजार सैनिक, ६५ हजार नेपाल प्रहरी र ३५ हजार सशस्त्र प्रहरी रहेका सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यीबाहेक शिक्षक, करारका कर्मचारी र पेन्सनधारीलाई पनि सरकारले चाडपर्व खर्च शीर्षकमा एक महिनाको अतिरिक्त रकम दिने गरेको छ । अहिले करिब डेढ लाख शिक्षक छन् भने एक लाख पेन्सनधारी छन् । यसैगरी करिब २२ हजार कर्मचारी निजामती सेवाको करारमा कार्यरत छन् । झण्डै आठ हजार कर्मचारी प्रदेश र स्थानीय तहमा छन् ।

कहिले हुन्छ भुक्तानी ?

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता शर्माले यही असोजभित्र कर्मचारीका लागि विनियोजित रकम भुक्तानी हुने बताए । ‘दसैंका लागि तलब र चाडपर्व खर्च यही असोजभित्रै भुक्तानी गरिने छ,’ शर्माले भने ।

चाड खर्च दिने चलन

सरकारी कर्मचारीलाई एक महीना बराबरको अतिरिक्त तलब दिन २०३० सालदेखि थालिएको हो । तर, कर्मचारीले उक्त रकम ६ महीनाभित्र फिर्ता गर्नुपर्दथ्यो । २०४२ को बजेटबाट सरकारले दसैं पेश्की फिर्ता गर्नु नपर्ने घोषणा गर्यो । २०४६ को राजनीतिक परिवर्तनपछि सार्वजनिक संस्थान र निजी क्षेत्रले पनि कर्मचारीलाई दशैंमा एक महीना बराबरको अतिरिक्त भत्ता दिन थाले । सरकारबाट पेन्सन पाउनेले पनि २०४२ देखि नै फिर्ता गर्नु नपर्ने गरी एक महीना बराबरको अतिरिक्त पैसा पाउन थालेका हुन् ।

प्रकाशित समय १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु