गृहपृष्ठ नेविसंघमा ‘३२ वर्षे उमेर हद’ लागू हुने
नेविसंघमा ‘३२ वर्षे उमेर हद’ लागू हुने
अब ३२ वर्षभन्दा बढी उमेर भएका व्यक्ति नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको नेतृत्वका लागि अयोग्य हुने भएका छन् । उमेर हदसम्बन्धी विवाद नेविसंघले मिलाउन नसकेपछि माउ पार्टी नेपाली कांग्रेसको केन्द्रीय समितिले टुंग्याएको हो । आइतबार राति सम्पन्न बैठकले ३२ वर्षे उमेर हदसम्बन्धी व्यवस्था अनुमोदन गरेको सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । यद्यपि, संघको संशोधित विधान भने असोज २५ गते बस्ने अर्को बैठकले पारित गर्ने उनले बताए ।
११ औँ महाधिवेशनबाटै नेविसंघमा ३२ वर्षे उमेर हदसम्बन्धी व्यवस्था भए पनि नेताहरुमा यसबारे विवाद थियो । आइतबारको बैठकमा पनि शीर्ष नेताहरुबीच विवाद भयो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले उमेर हदसम्बन्धी व्यवस्था अलोकतान्त्रिक र निषेधको राजनीति भएको भन्दै विरोध गरेका थिए । ‘उमेर हद राख्नु भनेको अलोकतान्त्रिक प्रक्रिया हो,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रश्न गरे, ‘अहिले आएर किन निषेधको राजनीति गर्न खोजिँदैछ ?’
सिटौलाले पनि उमेर हदसम्बन्धी व्यवस्थाले कैयौँ नेताहरुको मनोवल गिर्ने तर्क गरेका संस्थापन पक्षीय केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए । ‘पूर्वमहामन्त्री कृष्ण सिटौलाजीले आफूहरुले यसबारे अध्ययन गर्नैै नपाइ निर्णय गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो ।’ यादवले भने ।
बैठकमा उमेर हदको पक्षमा बोलेका केन्द्रीय सदस्य गुरु बरालले बंगलादेश युनिभर्सिटीको उदाहरण प्रस्तुत गरेका थिए । ‘बंगलादेशका विद्यार्थीहरुले बंगलादेश युनिभर्सिटीलाई नै क्याप्चरमा राखेका छन्,’ उनको भनाइ उदृत गर्दै यादवले भने, ‘शिक्षालाई सकारात्मक दिशा दिन सक्नेलाई नेतृत्व दिने कि जो पायो त्यहीलाई ?’
सबैको कुरा सुनिसकेपछि सभापति शेरबहादुर देउवाले नेविसंघका बहुसंख्यक नेता तथा विद्यार्थीहरुको चाहाना उमेर हद लागू हुनुपर्छ भन्ने रहेको बताए । ११ औँ महाधिवेशनमा नेविसंघले नै तयार गरेको व्यवस्थालाई हाल अघि बढाइएको उनको भनाइ थियो ।
‘यति चाँडो परिवर्तन नगरौँ भनेको हो, तरुण दलमा पनि ४५ वर्षे उमेर हद छ, तीन चारवटा महाधिवेशन भइसक्यो,’ देउवाले भने, ‘अहिले हामी यहाँ बैठकमा बसेका छौँ, बाहिर उमेर हद लागू हुनुपर्छ भन्दै विद्यार्थीहरु धर्नामा बसेका छन्, उनीहरुलाई सम्बोधन गर्नुपर्छ ।’
महाधिवेशन अघि नै नेविसंघ केन्द्रीय समितिले तयार पारेको विधान निर्देशक समिति हुँदै पार्टीको केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । कांग्रेस केन्द्रीय समितिको पछिल्लो निर्णयसँगै आगामी कार्तिकका लागि तय नेविसंघको १२ औँ महाधिवेशनको बाटो खुलेको छ ।
कांग्रेसका शीर्ष नेताहरूबीच नेविसंघको विधान कस्तो बनाउने भन्ने विषयमा विवाद हुँदा यसअघि पार्टीका कैंयौँ बैठक प्रभावित भएका थिए । नेविसंघले सर्वसम्मत पारित गरेको अधिवेशन तालिकासहितको विधान निर्देशक समितिमा छलफलका क्रममा विवाद भएपछि समिति नै अनिर्णित बनेको थियो ।
नेविसंघले पारित गरेको विधानमा ३२ वर्षे हदम्यादको विषय समेटिएको थिएन । तर, निर्देशक समितिको बैठकमा पनि नेताहरू गुरु घिमिरे र किशोर सिंह राठोरले ३२ वर्षे प्रावधानबारे बोलेका थिए । पौडेल पक्षका विद्यार्थी नेताहरूले भने यो अमान्य हुने बताएका थिए । यसरी संगठनभित्र कुरा नमिल्ने देखिएपछि पार्टीको केन्द्रीय समितिबाटै विवाद निराकरण गर्न कतिपय नेताले नेतृत्वलाई सुझाएका थिए । सोही अनुसार पार्टीको केन्द्रीय समितिले यो व्यवस्थालाई टुंगो लगाएको हो ।
सरकारको आलोचना
कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकारका कामबारे पनि छलफल गरेको प्रवक्ता शर्माले जनाए । सरकारले कतिपय घटनामा अपराधी, अनियमितता र दण्डहीनतालाई पश्रय दिइरहेको भन्दै बैठकमा नेताहरुले सरकारको आलोचना गरेका थिए । बैठकले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा देखिएको अनियमितताका सम्बन्धमा भइरहेको छानबिनलाई जतिसक्दो छिटो पुर्याइ दोषीलाई कानुनी कारबाही गर्न माग पनि गरेको छ ।
निजगढ विमानस्थलमा ढिलाइ नगर
कांग्रेसले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ नगर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । ‘निजगढ विमानस्थललाई प्राथमिकतामा राख्न र आवश्यकभन्दा बढी रुख नकाटन पनि बैठकले आग्रह गरेको छ,’ शर्माले भने ।
प्रकाशित समय १३:२८ बजे
















