गृहपृष्ठ सुदूरपश्चिम प्रदेशमा प्राविधिक कर्मचारीको अभाव

सुदूरपश्चिम प्रदेशमा प्राविधिक कर्मचारीको अभाव

विकास निर्माणको कामले गति लिएन

प्राविधिक जनशक्तिको अभावमा सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने विकास निर्माणका योजनाको काम ठप्प रहेको छ । चालु आर्थिक वर्षका तीन महिना पुग्नै लाग्दा समेत कर्मचारीको अभावमा सुदूरपश्चिमको सरकारले विकास निर्माणका योजना सुरु गर्न सकेको छैन ।

सुदूरपश्चिमको प्रदेश सरकारले सञ्चलन गर्ने विकास निर्माणका योजना कार्यान्वयनका लागि पूर्वाधार विकास कार्यालय नै सञ्चालन नभएपछि विकास निर्माणको काम ठप्प भएको हो । ४ जिल्लामा पूर्वाधार विकास कार्यालयका लागि ६९ जना प्राविधिक कर्मचारी आवश्यक छ, तर प्रदेश सरकारसँग ११ जना मात्रै प्राविधिक कर्मचारी छन् ।

संघीय सरकारले पठाएका ५ जना कर्मचारी अझै पुगेका छैनन् । सुदूरपश्चिम प्रदेश सरकारले कार्यान्वयन गर्ने निकाय नभएकै कारण सडक–पुल कार्यक्रमका लागि आएको २० करोड ४० लाख खर्च गर्नसमस्या भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी श्यामबहादुर खड्काले बताए ।

प्राविधिक कर्मचारी सुदूरपश्चिममा नआए मन्त्रालयले सञ्चालन गर्ने भनिएका विकास निर्माणका योजना कार्यान्वयन नहुने देखिएको छ । कैलाली, अछाम, डडेल्धुरा र बैडीमा प्रदेश सरकार सञ्चालन भएको ८ महिनासम्म विकास निर्माणका योजना कार्यान्वयन गर्ने पूर्वाधार विकास कार्यालय खोल्नै बाँकी छ ।

सुदूरपश्चिम प्रदेशका ४ पुर्वाधार विकास कार्यालयका लागि १/१ जना उप–सचिव स्तरका इन्जिनियर कर्मचारी, प्रत्येक कार्यालयमा ४/४ जना अधिकृत तहका इन्जिनियर र ६/६ जना ओभरसियरको आवश्यकता छ । यसबाहेक कार्यालय सहयोगी, सवारी चालक लगायतका कर्मचारी समेत आवश्यक छ ।

तर, कार्यालयहरुको प्रमुखको जिम्मेवारी लिन उप–सचिव तहको कर्मचारीदेखि अधिकृत तहका कर्मचारी सुदूरपश्चिम प्रदेशमा आउन मानेका छैनन् । सुदूरपश्चिम प्रदेशमा पठाइएका सिनियर इन्जिनियरहरु जितेन्द्र कर्ण र राजेशलाल कर्णको समेत अत्तोपत्तो छैन ।

प्रकाशित समय १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु