गृहपृष्ठ वामदेवविरुद्ध नेकपाकै नेता कार्यकर्ता
वामदेवविरुद्ध नेकपाकै नेता कार्यकर्ता
फाइल तस्बिर
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता वामदेव गौतमका लागि सांसद रामवीर मानन्धरले काठमाडौं–७ छोड्ने घोषणा गरेलगतै पक्ष र विपक्षमा बहस तातेको छ । चिया पसलदेखि सामाजिक सञ्जालमा वामदेवको उम्मेदवारीबारे सकारात्मक र नकारात्मक चर्चा छ ।
मानन्धरले पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका गौतम संसदमा हुनुपर्ने भन्दै आफूले सहज रुपमा देश विकास गर्न राजीनामा दिने घोषणा गरेको भने पनि त्यसलाई धेरैले पत्याएका छैनन् । ‘व्यक्तिगत स्वार्थ’का लागि उपनिर्वाचन आवश्यक नरहने तर्क गर्दै चुनाव हारेपछि पनि सांसद बन्न खाज्ने गौतमप्रति नेकपाकै नेता कार्यकर्ता आक्रोसित छन् ।
नेकपामा केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेता कार्यकर्ता आक्रोसित छन् । तत्कालीन माओवादी केन्द्रबाट आएका र वामदेव गौतम निकटका केही नेता कार्यकर्ताबाहेक अरुले असन्तुष्टि पाखेका छन् ।
‘तत्कालीन बाम गठबन्धनको कांग्रेसभन्दा दोब्बर मत बढी भएका अवस्थामा पनि गौतमले बर्दिया १ बाट निर्वाचन किन हारे ?’ भन्ने समिक्षासमेत राम्रोसँग नभएको अवस्थामा फेरी उम्मेदवार बनाउन सांसदलाई राजीनाम गर्न लगाउनुलाई धेरैले रुचाएका छैनन् । ‘एउटा निर्वाचनमा दुई वटा दल मिल्दा पनि निर्वाचन हार्ने र टुरिस्ट उम्मेदवारका रुपमा काठमाडौं छिर्ने वामदेवको प्रयास र मानन्धरको निर्णयबारे नेकपाका नेता कार्यकर्ताहरु सामाजिक सञ्जालमा खनिएका छन् ।
‘पार्टीको बलियो सरकार र देशका अघि ठूला चुनौति रहेका बेला आम कार्यकता र जनतामा समेत नकरात्मक सन्देश दिने काम नेकपा नेतृत्वले नगर्दा नगर्दा राम्रो हुन्थ्यो । अझै समय छ यसतर्फ नेतृत्वको ध्यान जाओस,’ नेकपाकै नेता कार्यकर्ताले लेखेका छन् । थोरै मात्रले गौतमलाई काठमाडौं–७ मा उपनिर्वाचन गराएर संसदमा लैजानु आवश्यक रहेको तर्क गरेका छन् । तर धेरैले भने ‘व्यक्तिगत स्वार्थ’का लागि उपनिर्वाचन आवश्यक नरहने तर्क गर्दै चुनाव हारेपछि पनि सांसद बन्न खाज्ने गौतमप्रति आक्रोस पोखेका छन् ।
पोखरेलको प्रहार
बामदेव गौतमलाई उम्मेदवार बनाउने प्रस्तावको विरोध गरेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमै असन्तुष्टि पोखेका छन् । फेसबुक पेजमा लामो स्टाटस लेखेका पोखरेलले गौतम व्यक्तिगत लाभका लागि बिगतमा पार्टी विभाजन गरेका तथा माओवादीप्रति संकेत गर्दै क्रान्तिका नाममा विदेशी भूमिका आश्रय लिएको र विदेशी शक्तिसित साँठगाँठ गरेको भन्ने सन्देश दिन खोजेका छन् ।
बुधबार विहान आफ्नो फेसबुक पेजमार्फत उनले अप्रत्यक्षरुपमा अध्यक्ष प्रचण्ड र नेता गौतमलाई प्रहार गर्दै लेखेका हुन् । ‘हिजो अत्यन्त प्रतिकूल अवस्थामा, एक किसिमले केही नभएको अवस्थामा, अथक प्रयत्नका साथ हामीले कम्युनिष्ट पार्टी बनायौँ र त्यसलाई एउटा नयाँ उचाइमा पुर्यायौं,’ पोखरेलले लेखेका छन्, ‘मौलिकतामा आधारित सुसंगत विचारका श्रृंखला विकास ग¥र्यौं, सुदृढ संगठनात्मक संरचना तथा आम जनतामा स्थापित नेतृत्व पंक्ति विकास गर्यौं, यसक्रममा पार्टीभित्रै देखापर्ने विकृति विसंगतिका विरूद्धमा जुध्यौं र त्यसका वाहकहरूलाई पराजित गर्दै अघि बढ्यौँ, बढिरह्यौँ ।’
स्थायी समिति बैठकमा छलफल गर्न माग
विधि, प्रक्रिया र राष्ट्रिय हितबारे पार्टि स्थायी कमिटीमा छलफल अत्यावश्यक छ । राष्ट्रिय र पार्टि जीवनमा दीर्घकालीन प्रभाव पार्ने विषयमा छलफल बिना निहित स्वार्थ र अावेगले निष्कर्ष निकाल्ने काम कतै नहाेस् ।
— Bhim Rawal (@BhimRawal179) October 9, 2018
नेकपाकै कतिपय शीर्ष नेताहरुले यस विषयमा स्थायी कमिटी बैठकमा छलफल गर्नुपर्ने माग राखेका छन् । निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद रामवीर मानन्धरले पार्टीका अर्का नेता वामदेव गौतमका लागि आफू राजीनामा दिन तयार रहेको बताएपछि यसबारे सचिवालय बैठकमा मात्रै छलफल पर्याप्त नहुने नेताहरुले बताएका छन् । नेता भीम रावलले सामाजीक संञजाल मार्फत आवेगमा यस्तो विषयमा निर्णय नलिन पार्टी नेतृत्वलाई सचेत गराएका छन् ।
उनले ट्वीट गर्दै लेखेका छन, ‘विधि, प्रक्रिया र राष्ट्रिय हितबारे पार्टी स्थायी कमिटीमा छलफल आवश्यक छ । राष्ट्रिय र पार्टी जीवनमा दीर्घकालीन प्रभाव पार्ने विषयमा छलफलविना निहीत स्वार्थ र आवेगले निष्कर्ष निकाल्ने काम कतै नहोस् ।’
प्रकाशित समय १७:३२ बजे
















