गृहपृष्ठ पूर्वमा यातायात : व्यवसाय कि लूट ?
पूर्वमा यातायात : व्यवसाय कि लूट ?
दसैंमा सबै आफन्त भेला भएको अवसरमा घुम्न जाने योजना बन्यो । म मेरी हजुरआमा, फुपू, फपाजू र भाइहरुसँग धरान जाने भनेर बुधबार इटहरीस्थित घरबाट निस्कियौँ । इटहरी बसपार्कबाट धरानसम्म सजिलै पुगियो र विजयपुर, पिण्डेश्वरी, दन्तकाली, बूढासुव्बालगायतका पूर्वका प्रसिद्ध धार्मिक स्थल र मन्दिरको भ्रमण गरी हामीले घर फर्कने तयारी गर्यौँ ।
अपरान्ह ३ बजेको थियो । करिब १६ किलोमिटर छ धरानबाट इटहरी जानुपर्ने दूरी । गाडी चढ्न भनेर बसपार्क पुगे पनि कुनै बसमा खुट्टा हाल्ने ठाउँसम्म थिएन । भोलिपल्ट अर्थात विहीबार दसैं टिकाको अन्तिम दिन भएकाले पनि हुन सक्छ सवारी साधन खचाखच थिए । खाली भएका सिटमा पनि इटहरीकालाई चढ्न दिइएन । धरानबाट इटहरी हुँदै काँकरभिट्टा जाने बसले काँकरभिट्टा र विर्तामोड जाने यात्रुमात्र हाल्दै थिए र विराटनगर जाने बसले बिराटनगर जाने यात्रु मात्रै हाल्दै थिए ।
इटहरी, दुहबी, बिराटचोकजस्ता ठाउँतिर जाने यात्रु भने घण्टौसम्म बस कुरेर बसेका थिए । हामी पनि त्यही भिडमा पर्यौँ । बसमा १५ मिनेटको बाटो जानका लागि हामी घण्टौ कुर्न बाध्य भयौँ । बल्ल सगरमाथा यातायातको एउटा बसमा हामी चढ्न पायौँ । इटहरीका यात्रु हाल्न नमान्दा नमान्दै हामी चढ्यौँ । हामीसँगै दुईजना यात्रु इटहरीका लागि चढेका थिए ।
तर, बीचमा काम परेर उनीहरुलाई तरहरामा उत्रिनुपर्ने भयो । उनीहरुले बसका सहचालकलाई आग्रह गरे । तर, बसका चालक झर्को र फर्को गर्न थाले । उनीहरु चाहिँ कुनै गल्ती नै नगर्नेजस्तो गरी उनले थर्काए । एकैछिनअघि पैसा तिरेपछि हामीलाई टिकट देउ भन्दा चाहिँदैन टिकटसिटक भन्ने आखिर यही बसका मान्छेहरु थिए ।
त्यसो त निर्धारण गरिएकोभन्दा ज्यादा भाडा असुलिरहेका थिए उनीहरु । पूर्वमा नाम चलेको सगरमाथा यातायातको यो दादागिरी देखेर म आश्चर्यचकित भएँ । अहिले पूर्वमा सगरमाथासहित नागरिक यातायात पनि चल्तीका सवारी साधन हुन् । तर, यीनीहरुले सुरुका दिनमा राम्रो सेवा दिए पनि हिजोआज मात्तिन थालेका छन् ।
यात्रुलाई अपमान गर्ने, मनलाग्दी भाडा उठाउने, मन लागे चढाउने नत्र इग्नोर गर्ने, साँघुरो बाटोमा ज्यानमारा तरिकाले सवारी गुडाउने, छोटो दूरीका यात्रुलाई चढाउँदै नचढाउने प्रवृत्ति यी यातायातमा देखिएको छ । यसको शिकार स्वयं म नै हुँ ।
यी यातायातको दादागिरी यतिसम्म बढेको छ कि विद्यार्थीलाई समेत छुट दिन मान्दैनन् । बरु छुट दिनुपर्छ भनेर युनिफर्ममा बस कुरिरहेका विद्यार्थीसामु रोक्दै नरोकी हुँइकिन्छन् । ज्येष्ठ नागरिकले पाउने आरक्षणदेखि छुटसम्मका व्यवस्था यी बसहरुले बेवास्ता गरेका छन् ।
सरकारले सिन्डिकेट हटायौँ भनेर दाबी गरे पनि पूर्वमा विस्तारै सिन्डिकेट ब्यूँतदै गरेको आभास भइसकेको छ । यसमा कसैलाई शंका लाग्छ भने एकदिन सगरमाथा, नागरिक वा पूर्वको नाम चलेको कुनै एउटा यातायातमा चढेर हेरुन् । यातायात सेवा मानिसको दैनिकीसँग जोडिएको हुन्छ । तर, सेवाप्रदायकहरु असभ्य, अनियन्त्रित र बेइमान हुँदा आमनागरिकमा नैराश्यता पैदा भएको छ । सम्बन्धित निकायले यसबारे बेलैमा गम्भीर बनेर सोच्न जरुरी छ ।
प्रकाशित समय १२:११ बजे
















