गृहपृष्ठ स्याङजामा प्याराग्लाइडिङ वर्ल्डकप हुँदै
स्याङजामा प्याराग्लाइडिङ वर्ल्डकप हुँदै
४ स्वर्ण पदकको लागि २१ राष्ट्र सहभागी
स्याङजामा आउँदो बिहीबारदेखि प्रथम प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्याण्डिङ) वल्र्ड कप २०१८ सुरु हुँदैछ । नेपाल पाराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाइडिङ वल्र्ड कप हुन लागेको हो ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । स्याङ्गजाको स्वरेक मैदान (भिरकोट) र डौंवाफाँटमा कार्तिक १५ गते बिहिबार देखि सञ्चालन हुने प्रतियोगितामा पुरुष, महिला तथा व्यक्तिगत एक्युरेसी गरि चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता मूल आयोजक समितिकी संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सीताकुमारी सुन्दासले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइन् । उनका अनुसार विभिन्न राष्ट्रका प्याराग्लाइडिङ पाईलटहरुले नाम दर्ता गराउने क्रम जारी छ ।
प्रतियोगिताको आयोजनासँगै जिल्लाका स्थानीय सरकार, निकायदेखि सर्वसाधारण पनि उत्साहित देखिएका महोत्सव सचिवालयका प्रमुख अनन्तकुमार श्रेष्ठले बताए । उनका अनुसार हालसम्म भारत, चीन, एसियालीसहित अमेरीकासम्मका गरी २१ देशका ९८ जना प्याराग्लाइडिङ पाईलटले नाम दर्ता गराएका छन् । बिहीबार प्रतियोगितको उद्घाटनसहित अभ्यास खेल भए पनि शुक्रबारदेखि मात्र प्रतियोगीको अंक जोडिन्छ । एकै दिनमा दुई राउण्ड अर्थात दुई वटा फ्लाईट गर्नुपर्ने हुन्छ ।
टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ पाँच र महिलातर्फ तीन खेलाडीको समूह हुने छ । प्रतियोगितामा प्रत्येक समूह तथा व्यक्तिले ६ पटकसम्म ल्याण्डिङ गर्नु पर्नेछ । १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्रीतर्फ रजत पदक हात पार्न सफल भएको थियो । जिल्ला समन्वय समित, स्याङ्गजा, जिल्लाको स्थानीय सरकारको सहयोगमा हुने प्रतियोगिताका विजयी टिमतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने व्यक्तिगततर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः एक हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् । प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाँको हुने संयोजक शैलेन्द्रले बताए ।
विश्वमै प्याराग्लाइडिङको उत्कृष्ट पाँचमध्येमा पर्ने पोखरामा यसअघि प्याराग्लाइडिङको प्रि वल्र्ड कप (एफएआई क्याटागोरी टु) समेत सम्पन्न भई वल्र्ड कपको तयारी हुँदै गर्दा पोखरा महानगरपालिका र व्यवसायीबीच करको बिषयमा विवाद टुंगाउन नसक्दा अन्ततः उक्त प्रतियोगिता पोखराबाट करिब ७० किलोमिटर टाडाको दूरी स्याङजामा हुने भएको हो ।
प्रकाशित समय १८:३० बजे


















