गृहपृष्ठ तिनाउ विकास बैंकको ३१औं वार्षिकोत्सव सम्पन्न

तिनाउ विकास बैंकको ३१औं वार्षिकोत्सव सम्पन्न

tinau-bikash-bank-newskarobar

बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ विकास बैंकले १३औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम गरेको छ । रुपन्देही, नवलपरासी र चितवन तीन कार्यक्षेत्र रहेको बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान, छात्रवृत्ति वितरण, आश्रममा सहयोग तथा विभिन्न विद्यालयलाई आर्थिक सहयोग गरेर वार्षिकोत्सव मनाएको हो ।

प्रधान कार्यालय बुटवलले वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीसँगको सहकार्यमा बैंकले बुटवल ब्लड बैंकमा रक्तदान सम्पन्न गरेको छ । बैंकका कर्मचारी, सञ्चालक, स्वयंसेवी रक्तदाताका सदस्य तथा अन्य शुभेच्छुक गरी ५० जनाले रक्तदान गरेका छन् ।

रगतको अभाव हुन नदिन मानवीय सेवा गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठले बताए । उनले १३औं वार्षिकोत्सवमा तीनवटै जिल्लाका शाखाहरुले समेत विभिन्न कार्यक्रम गरेको जानकारी दिए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको अक्षयकोष सहयोगार्थ नगद २० हजार बैंकले प्रदान गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद ओझाले स्वयंसेवी समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीलाई २० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

वार्षिकोत्सवकै अवसरमा बुटवल संगमपथ शाखाले बुटवल–१३, देवीनगरस्थित अपांग आश्रममा कम्बल वितरण गरेको छ । बुटवल बेल्बास शाखाले बेल्बास टोल विकास समितिलाई सय थान फोहोर फाल्ने डस्टविन प्रदान गरेको छ । यसैगरी, रुपन्देहीको छपिया शाखाले छपिया लिलाधर उच्च माविलाई २१ हजार सहयोग गरेको छ । जोगिकुटी शाखाले मणिग्राममा रहेको आत्मशान्ति अनाथ आश्रममा खाद्य सामग्री प्रदान गरिएको छ ।

बिहीबार नै नवलपरासी बर्दघाट झिमिरेभार शाखाले रक्तदान गरेको छ । शाखाले गरेको रक्तदानमा ४० युनिट रगत संकलन भएको छ । यसैगरी, चितवन नारायणगढ शाखाले देवघाटमा खाना खुवाएको बैंकका सपोर्ट डिभिजन प्रमुख कमल कँडेलले जानकारी दिए ।

बैंकले १३औं वार्षिकोत्सवपछि पाल्पामा कार्यक्षेत्र विस्तारको योजना बनाएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । बैंकले १२ प्रतिशत बोनस सेयर वितरण गरेको छ । सेयर वितरणपछि ५० करोड ६९ लाख चुक्ता पुँजी रहेको बैंकको ५६ करोड ७२ लाख पुगेको छ । बैंकको निक्षेप संकलन ५ अर्ब ७ करोड, कर्जा लगानी ४ अर्ब १८ करोड छ । बैंकले १५ वटा शाखा, आठवटा एटीएम र मोबाइल बैंकिङ सेवा दिँदै आएको छ ।

प्रकाशित समय १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु