गृहपृष्ठ स्थापित यसरी भए विस्थापित
स्थापित यसरी भए विस्थापित
प्रदेशका पहिलो भूतपुर्वमन्त्री बनेका केशव स्थापित महानगरको मेयरदेखि मन्त्री हुँदासम्म विवादमुक्त बन्न सकेनन् । उनले आफ्नै स्वभावका कारणले खाइपाई आएको पद गुमाएका छन् ।
प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री बनेका उनी मुख्यमन्त्री डोरमणि पौडेललाई अपशब्द प्रयोग गरेपछि बर्खास्त भएका हुन् । मुख्यमन्त्रीको निर्देशनलाई सधै अटेर गर्दै आएको र बढी बजेट भएको मन्त्रालयको प्रगति शून्य देखिएपछि बर्खास्थ गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रदेश सरकार गठन भएदेखि नै मुख्यमन्त्री पौडेल र स्थापितबीच मतभिन्नता थिए । राजधानी कहाँ राख्ने ?, भौतिक पूर्वाधार कुन–कुन ठाउँमा निर्माण गर्ने र कुन–कुन शीर्षकमा बजेट विनियोजन गर्ने भन्ने विषयमा पनि मत बाझिएपछि आफ्नो मन्त्रालयमा धेरै बजेट भए पनि स्थापितले केही गर्न सकेका थिएनन् ।
चालु आर्थिक वर्षको लागि प्रदेश नम्वर ३ को भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा १३ अर्ब रूपैयाँ बजेट छुट्याइएको भए पनि उपयोगिताको लागि स्थापितले कुनै काम गर्न सकेनन् । स्थापित नेतृत्वको मन्त्रालयले कामलाई तीव्रता नदिएको भन्दै मुख्यमन्त्रीले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
स्थापितलाई यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा गठन गरिएको उपत्यका विकास प्राधिकारणका प्रमुख बनाइएको थियो । पछि उनलाई प्राधिकरणमा सन्तोषजनक काम गर्न नसकेको भन्दै एक महिनामै हटाइएको थियो । भट्टराई पत्नी हिसिला यमीले पैसा मागेर काम गर्ने वातावरण नभएको भन्दै उनले हिसिलाकै कारण आफूलाई हटाइएको आरोप लगाएका थिए ।
दोस्रो संविधान सभामा भने उनी अशोक राई नेतृत्वको संघीय समाजवादी फोरमबाट काठमाडौं क्षेत्र नम्बर ६ मा उम्मेद्वार बनेका थिए । त्यसबखत उनले लज्जास्पद हार व्यहोर्नुपर्याे । त्यतिबेला सो क्षेत्रका उम्मेद्धवार योगेश भट्टराईलाई हराउन स्थापितको भूमिका ठूलो रहेको टिप्पणी एमालेमा अझै हुँदै आएको छ ।
‘स्थापित आफ्नो स्वार्थको लागि कहिले राजावादी, माओवादी, माले र पछि पुरानै पार्र्टी एमालेमा फर्किएका हुन्,’ उनका विषयमा नेकपाका नेताहरुले अनौपचारिक रुपमा टिप्पणी गर्छन् ।
आफू मेयर हुँदा विश्वकै उत्कृस्ट मेयरको पाँच नम्बरमा परिसकेको दावी गर्ने उनी आफूसँग काठमाडौंको धुलो, धुवालगाएतका प्रदुषण ‘फु मन्तर’ गरेर हटाउने योजना भएको दावी गर्छन् । तर, व्यवहारमा भने मन्त्री हुँदासमेत केही गर्न सकेनन् । उनी अहिले पनि बेला बेलामा बिभिन्न सञ्चारमाध्यमहरुमा आफु बराबर मेयर हुन योग्य अरु कोहि नभएको टिप्पणी गर्छन् ।
उनले काठमाडौंको विकाश र सम्वृद्धिको योजनाहरु खरर सुनाउँदै आएका छन् । तर उनको विकाशको योजना सुनेर कतिपयले उनलाई ‘हावा’ भन्ने गर्छन् भने कतिपयले उनले बुनेका विकाशको योजनामा सहमति जनाउछन् ।
स्थानीय निर्वाचनअघि मेयर भएमा काठमाडौं महानगरपालिकाको कायापलट गर्ने भन्दै आफ्नो महत्वकांक्षी योजना सुनाएका उनले प्रदेशको मन्त्री हुँदा माखो मार्न नसकेको भन्दै आलोचना पाएका छन् । यत्तिकैमा उनी पदबाट बर्खास्तगीमा परेका हुन् ।
स्थापितले काठमाडौंको मेयर हुँदा एक मात्र राम्रो काम गरेका थिए भन्दै अहिले पनि र्चा हुने गर्छ । माइतीघर, पशुपति क्षेत्र, तिनकुनेमा रहेका नियम मिचेर बनाईएका र अव्यबस्थित बस्तीहरु उनैले हटाएका थिए । उनले बस्ती हटाइएर बाटोहरु फराकिलो बनाएका थिए ।
मुख्यमन्त्रीसँगको विवादअघि स्थापित यौन दुव्र्यवहारको विवादमा फसेका थिए । काठमाडौं महानगरपालिको मेयरमा छँदा महानगरकी कर्मचारी रश्मिला प्रजापतिलाई यौन दुव्र्यवहार गरेको आरोप स्थापितमाथि लागेको थियो । सामाजिक सञ्जालमा फैलिएको यौन दुव्र्यवहारसम्बन्धी अन्तर्राष्ट्रिय अभियान मिटु अन्तर्गत रश्मिला प्रजापति र अर्की एक पत्रकार उज्वला मर्हजनले स्थापितले यौन दुव्र्यवहार गरेको भनेर सामाजिक सञ्जालमा लेखेका थिए । यद्यपी उनले सो आरोपको खण्डन गर्दै प्रमाणीत गर्न चुनौती दिदै आएका छन् ।
प्रकाशित समय १९:३९ बजे

















