गृहपृष्ठ सत्तासीन भन्छन्– सरकार सही गतिमा छ, चाँडै परिणाम देखिन्छ
सत्तासीन भन्छन्– सरकार सही गतिमा छ, चाँडै परिणाम देखिन्छ
सत्ताबाहिर रहेकाको आरोप- गर्नै सकेनौ
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हालेको नौ महिना बितिसक्दा आमजनता सरकारका काम–कारबाही र विकासका गतिविधिप्रति कत्ति सन्तुष्ट छैनन् । जनअपेक्षा एकातिर सरकारका गतिविधि अर्कातिर छन् । सत्तासीनहरुका अपत्यारिला भाषण सुन्दा–सुन्दा जनता वाक्कदिक्क भइसकेका छन् ।
प्रधानमन्त्रीका ठूल्ठूला भाषण र जनजीविकाबीच कुनै तादात्म्य छैन । जनताको प्राथमिकता सहज दैनिकीमा छ भने सत्तासीनहरुका भाषण ‘तत्काल कायापलट’ गर्न केन्द्रित छन् । चार महिनामा तीन प्रतिशत हाराहारीको पुँजीगत खर्चको अवस्थाले पनि सरकारको विकास निर्माणप्रतिको मोहलाई उदांगो पारेको छ । केन्द्र सरकारका एकाधबाहेक अधिकांश मन्त्री छायाँमा छन् ।
केन्द्र सरकारमात्र होइन, प्रदेश सरकारको पनि हालत उस्तै छ । प्रदेश सरकारका मन्त्रीहरुको हैसियत वडाध्यक्षको भन्दा माथि छैन । केन्द्र सरकारका मन्त्री म्युजिक भिडियो उद्घाटन गरिरहँदा प्रदेश सरकारका मन्त्रीहरु मन्दिर र देवस्थल उद्घाटन गर्न व्यस्त छन् ।
कानुन अभावमा प्रदेश सरकार ‘भीरको चिण्डो’ भएको छ । बजेट खर्च गर्न नपाउँदा प्रदेश सरकार जनतासामु महत्वहीन बन्दै गएको छ । कानुन र अधिकारका लागि पटक–पटक आवाज उठाउँदै आएका मुख्यमन्त्रीहरु प्रधानमन्त्री केपी ओली सामु निरीह सावित भइरहेका छन् ।
स्थानीय सरकारको हालत पनि उही छ । आफ्ना आम्दानीका स्रोत के–के हुनसक्छन् भन्नेमा स्थानीय सरकार बेखबर छ । स्रोत परिचालनमा पनि काठमाडौं महानगरपालिकादेखि गाउँपालिकासम्म अन्योलमा छन् । ठूला सपना बाँड्न सिपालु जनप्रतिनिधिलाई जनजीविकासँग प्रत्यक्ष जोडिने साना–साना कामप्रति कुनै चासो छैन ।
सरकारको गति
सत्तासीनहरु सरकारको गति बढिरहेको बताउँछन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं महानगरपालिका–५ वडा कमिटीले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानुन निर्माणका कारण विकासका काम केही ओझेलमा परेको बताए । ‘अब चाँडै कानुन बनिसक्छन्, सरकार समृद्धिको प्रतिबद्धता पूरा गर्न लालायित छ, हामी प्रतिबद्धताबाट पछि हट्दैनौं,’ चियापानका सहभागीलाई आश्वस्त पार्दै उनले भने, ‘पछि हट्यौं भने जस्तोसुकै सजाय भोग्न हामी तयार छौं ।’

काठमाडौं–५ (क) का सांसद नारायण सिलवालले सरकार विकासप्रति गम्भीर र संवेदनशील रहेको भन्दै बजेट विनियोजनका केही फेहरिस्त सुनाए । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरले न्युज कारोबारसँग नतिजा तत्काल नदेखिनेखालका धेरै काम गरेको र यसको नतिजा चाँडै आउने बताए ।
तर, सधैं आश्वासन सुनिरहेका जनतालाई उनीहरुका कुराले कत्ति छोएन । भाषण सुनिरहेका एक युवाले साथीसँग भने– अनेक कुरा गरेर सधैं जनतामा भ्रम छर्ने त हो नि !’
मन्त्रीहरुको आफ्नै दाबी
पर्यटनमन्त्री रविन्द्र अधिकारी कर्णालीमै १० लाख पर्यटक उतार्ने दाउमा छन् भने भौतिक योजनामन्त्री रघुवीर महासेठ हरेक स्थानीय तहलाई सदरमुकामसँग जोड्ने ‘योजना’मा छन् । तर, विकासका बाधक ठेकेदारकै संरक्षणमा जुटिरहेको आरोप खेप्दै आएका मन्त्री महासेठका भाषण पनि आसेपासेभन्दा बढीलाई मन पर्दैन ।
राजनीतिक दलाल र मानव तस्करहरुको तगारो छिचोल्दै रोजगारमन्त्री गोकर्ण विष्ट जबर्जस्त अघि बढिरहेका छन् । मलेसियासँगको श्रम सम्झौता उनकै अनवरत प्रयासको नतिजा हो । यद्यपि, कार्यान्वयन पक्ष हेर्न बाँकी छ । अरु अधिकांश मन्त्री कहाँ के गरिरहेका छन्, सम्भवतः प्रधानमन्त्री नै बेखरब छन् ।
सत्तारुढ दलकै नेताहरुको विरोध
सत्तारुढ दलका शीर्षस्थ नेताहरु माधवकुमार नेपालदेखि झलनाथ खनालसम्म सरकारको गतिविधिप्रति सन्तुष्ट छैनन् । विभिन्न फोरममा उनीहरुले सरकारका काम–कारबाहीको आलोचना गर्दै आएका छन् । कतिपयले पार्टीभित्रको विवाद सरकारमार्फत सतहमा देखापरेको रुपमा पनि अथ्र्याउने गरेको छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने जनतासामु निराशा प्रकट गरिहाल्दैनन् । शनिबार बुटवल पुगेर उनले जनतालाई आश्वस्त पार्दै अवस्था र व्यवस्था परिवर्तन भयो, अब समृद्धि र विकासको पालो आएको बताए । ‘अब सरकार चार गियरमा हुइँकिन्छ,’ उनले जनताका अगाडि निर्धक्कसँग भने, ‘अब समृद्धिको यात्रामा सरकारको गतिलाई कसैले रोक्न सक्दैनन् ।’
के भन्छ विपक्षी ?
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु त सरकारको दिनगन्ती सुरु भइसकेको बताउँछन् । सरकारले जनतामा चरम निराशा बढाएकाले जनताले नै उनीहरुलाई खुइल्याउने कांग्रेसका नेता बताउँछन् । नेकपाका नेताहरुले भने यसलाई विपक्षीको विरोध गर्ने शैलीका रुपमा मात्र लिएका छन् ।
कांग्रेस नेता शशांक कोइराला सरकारलार्इ एक मिनेट पनि सत्तामा बस्ने नैतिकता नरहेको बताएका छन् । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) प्रदेश-१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले जनताको जिउधनको रक्षा गर्न नसकेको दाबी गरे ।
जनआन्दोलनका घाइते निराश
जनआन्दोलनका घाइतेलाई सरकारका काम–कारबाही झन् चित्त बुझेको छैन । नेताहरुले आफूहरुलाई भर्याङ बनाएर सत्तारोहण गरेपछि सबै भुलेको उनीहरुको आरोप छ ।

शनिबार न्युज कारोबारकै कार्यालय नयाँ बानेश्वर आइपुगेका दोस्रो जनआन्दोलनका घाइते नन्दप्रसाद रुपाखेती र आशिष नेपालले सरकारले ठूल्ठूला भाषण गरेर जनताका आँखामा छारोमात्र हालेको आरोप लगाए । सरकारसँग निकै आक्रोशित ढंगले प्रस्तुत भएका उनीहरुले सरकारलाई जनताको जीवनयापन सहज बनाउन कुनै मतलब नै नरहेको बताए ।
‘सरकारमा पुगेपछि सबैलाई भुँडी भर्नमात्र ठिक हुने रहेछ,’ जनआन्दोलनमा गम्भीर घाइते भएका रुपाखेतीले भने, ‘दुई गाँस भात र आढ्ने ओछ्याउनेको अभावमा जनता मरिरहेका छन्, उनीहरु पानीजहाज र रेलको पछि दौडिरहेका छन् ।’
अर्का घाइते नेपालले पनि जनआन्दोलनकै बलमा सत्तारोहण गरेकाहरुले अहिले घाइतेहरुलाई बिर्सिएको आरोप लगाए । ‘सरकार छ जस्तो नै लाग्दैन,’ उनले भने, ‘सरकार भए हामीलाई पनि त्यसको महसुस हुनुपर्छ ।’
प्रकाशित समय ०९:५१ बजे
















