गृहपृष्ठ फूलमा पनि विदेशकै भर, तिहारका लागि ११ करोडको आयात
फूलमा पनि विदेशकै भर, तिहारका लागि ११ करोडको आयात
तिहारको लागि झण्डै ११ करोडको माला र फूल भारतबाट आयात गरिएको छ । स्वदेशमा फूल अभाव भएपछि भारतको कोलकातालगायत विभिन्न क्षेत्रबाट आयात गरिएको हो । ४५ जातका तीन लाख सयपत्रीका माला र फूल आयात गरिएको फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ । गएको बर्ष पनि करिब ११ करोड रुपैयाँ बराबरको फूल आयात गरिएको थियो ।
भाइटीकामा काठमाडौंलाई मात्र १७ लाख माला भित्र्याइएको एशोसिएशनका अध्यक्ष कुमार कसजुले बताए । तिहारमा अत्यधिक फूल खपत हुने भएकाले स्वदेशमा उत्पादन भएको फूल अपुग भएपछि आयात गरिएको हो । मौसमी खेती पर्याप्त हुन नसक्दा फूलको आयात घट्न नसकेको अध्यक्ष कसजुले बताए ।
उनले न्यूज कारोबारसंग भने, ‘व्यावसायिक फूल खेती गर्न नेपाली कृषक आकर्षित हुन सकेका छैनन्, खाद्यान्नका साथै फूल उत्पादन पनि कृषि पेशा हो भन्ने कुरा कृषकलाई बुझाउन नसक्दा फूलको उत्पादन हुन नसकेको हो,’ उनले भने ।
पुष्प व्यवसाय मौसममा निर्भर भए पनि यसबाट पर्याप्त आम्दानी लिन सकिने भएकाले खेतबारीका आली, कान्लो खेर गइरेका जमिन प्रयोग गर्न सकिन्छ । तर, कृषक भने परम्परागत खेतीतर्फ नै केन्द्रीकृत छन् । फूल बिक्रीबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने धारणाको विकास कृषकमा गएमा विदेशबाट आयतमा कमी आउने कसजुले बताए ।
फ्लोरीकल्चर एशोसिएशनका अनुसार नेपालमा पुष्पखेती १५५ हेक्टर क्षेत्रफलमा गरिएको छ । जुन कूल खेतीयोग्य जमीनको ०.००५० प्रतिशत हो । नेपालमा २०११ सालदेखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्यस्तरमा पुष्प खेती शुरु भएको हो । फूल व्यवसाय हाल ४३ जिल्लामा विस्तार भइसकेको छ । करीब ६९७ फूल व्यवसायी सक्रिय छन् ।
सयपत्री बढी बिक्ने गर्छ
तिहारमा सयपत्री, मखमली र गोदावरी फूल, माला र गमला बिक्री हुन्छ । सबैभन्दा सयपत्रीको १३ लाख, मखमली तीन लाख र गोदावरीको एक लाख माला खपत हुने गर्छ । तिहारका समयमा राजधानीमा फूल, माला, र गमला गरी झण्डै १६ करोड रुपैयाँ बराबरको कारोवार हुन्छ । राजधानीमा विदेशबाट अयात हुने फूल बाहेक भक्तपुर, काठमाडौंको इचङ्कुनारायण, थानकोट, साँखु, ककनी, धादिङ, नुवाकोट, काभ्रेबाट फूल भित्रने गर्छ ।
प्रकाशित समय १४:४७ बजे

















