गृहपृष्ठ तीन राप्रपाको एकता प्रयास

तीन राप्रपाको एकता प्रयास

नाम: एकीकृत राप्रपा, अध्यक्ष- तीनजना

पूर्वपञ्चहरुको पार्टी भनेर चिनिने तीन राप्रपा पुनः एक ठाउमा गोलबन्द हुन एकताको पहल थालेका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेपछि उनीहरुले फेरि एकताको प्रयास गरेका हुन् ।

पटक–पटक जुट्दै र फुट्दै आएका कमल थापा नेतृत्वको राप्रपा, पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डाक्टर प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा (राष्ट्रवादी)ले एकताको गृहकार्य तीब्र पारेका छन् । यसअघि ५ पटक विभाजन भएका दललहरु चार पटक भने एकजुट भएका थिए । तर, विभिन्न स्वार्थले जुट्ने र आन्तरिक द्वन्द्वका कारण वैचारिक असहमति उब्जने बित्तिकै फुट्ने प्रवृत्तिले गत वर्ष पनि उनीहरु अलग्गिएका थिए ।

तीन दलमा विभाजित भएकै कारण निर्वाचनमा हार व्योहोर्नुपरेको महशुस गर्दै एक अर्काबीच फेरि एकताको प्रक्रिया अघि बढेको हो । कार्यदल तहको वार्ताले सकारात्मक सन्देश दिएपछि अहिले तीनै दलका अध्यक्षहरु समेत वार्तामा बस्न थालेका छन् । पछिल्लो पटक मंगलबार राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाबीच वार्ता भएको थियो । त्यसयता पनि पटक–पटक औपचारिक अनौपचारिक छलफल भइरहेको नेताहरुले बताएका छन् ।

तीनवटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भइसकेको समेत नेताहरुको दाबी छ । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. लोहनी महिना दिनभित्र पार्टी एकता भईसक्ने दाबी गर्छन् । ‘कार्यकर्ताको चर्को दबाब छ, त्यही भएर हामी अब मिलेर जान्छौं । अबको महिना दिनभित्रै एकता सम्पन्न भएर सिंगो पार्टी बन्छ, एकताको १० प्रतिशत काम मात्र बाँकी छ,’ डा. लोहनीले भने ।

हिन्दु धर्म तथा संवैधानिक राजसंस्थाको एजेण्डासँगै राष्ट्रियता, स्थायित्व र समृद्धिलाई आधार बनाएर एकतामा जुट्न लागेको राप्रपा राष्ट्रवादीकै उपाध्यक्ष तथा संगठन विभाग प्रमुख तारानाथ लुईटेल बताउँछन् । उनले न्युज कारोबारसँग भने , ‘मुलुकमा हिन्दु राष्ट्र तथा राष्ट्रिय हितका लागि राष्ट्रिय चरित्र भएको संस्थाको खाँचो छ, यसै एजेण्डालाई लिएर एकता गर्र्दै अगाडि बढ्छौ ।’

पशुपति शमशेर राजसंस्थामै फर्कने
तीन पार्टीको एकतापछि तीन जना अध्यक्ष हुने सहमति भएको छ । राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री राजाराम श्रेष्ठले पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारे कुनै बिबाद नरहेको बताए । उनले भने, ‘अध्यक्षमा तीनैजना नेताहरु मिलेर बस्ने तय भएको छ, एकतापछिको पार्टीको राजनीतिक कार्यदिशा आलंकारिक राजसंस्था र सनातन हिन्दुराष्ट्र बनाएर जाने विषयमा सहमति छ ।’

यसअघि अहिले गणतन्त्र अस्वीकार गरेपनि पशुपति शमशेर राणाले पहिले भने स्वीकारेका थिए । कमल थापा र डा. लोहनी भने संवैधानिक राजसंस्थाको पक्षमा थिए । तर, अब राणालाई समेत राजसंस्थाको एजेण्डामा सहमति गराइएको थापा नेतृत्वका राप्रपा नेताहरु बताउँछन् । राप्रपा नेता मोहन श्रेष्ठले कार्यदलसहित अध्यक्षकै तहमा एकताबारे छलफल भइरहेकाले एकता प्रक्रिया छिट्टै निर्णयमा पुग्ने बताए ।

पछिल्लो पटक राप्रपा नेपाल र राप्रपाको एकीकरण हुँदा राप्रपा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी थियो । पार्टी नेतृत्वले एकता अधिवेशनमा गरेका प्रतिबद्धता विपरित नेतृत्व व्यक्तिगत स्वार्थमा केन्द्रित भएको अध्यक्ष कमल थापालाई आरोप लाग्ने गरेको थियो । अध्यक्ष थापा अवसरवादी बन्दै सरकारमा सामेल भएको भन्दै चौँथो दिनमै वरिष्ठ नेता लोहनीले पार्टी परित्याग गरेपछि अन्ततः पार्टी तीन टुक्रामा विभाजन भयो ।

हिन्दु राष्ट्र घोषणाको अभियानमा लागेका राप्रपा राष्ट्रवादीका सहमहामन्त्री प्रदीपविक्रम राणा तीन पार्टी जसरी पनि एकता हुनुपर्ने धारणा राख्छन् । ‘आपसमा फुट्दा चुनावमा जनताबाट अस्वीकृत बन्नुपरेको यर्थाथलाई आत्मसाथ गर्दै पार्टी एकता गर्नैपर्छ, विगतबाट पाठ सिकेर वर्तमान सच्चाउन सकिएन भने भविष्यमा पनि यसै गरि पछुताउनुपर्छ,’ उनले भने ।

२०४७ सालमा पञ्चायतको अन्त्यपछि राष्ट्रिय प्रजातन्त्र पार्टी गठन भएको थियो । पञ्चायती व्यवस्थामा शक्तिमा रहेका नेताहरुले सो पार्टी गठन गरेका थिए । सूर्यबहादुर थापा, पशुपति शमशेर राणा, लोकेन्द्रबहादुर चन्द लगायत पञ्चायतकालका अधिकांश शक्तिशाली नेताहरु सो पार्टीमा थिए । तर नेतृत्वको विषयलाई लिएर उनीहरु पटक–पटक फुट्दै आएका छन् ।

प्रकाशित समय १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु