गृहपृष्ठ कहिले बढाउलान् ओलीले सुस्त सरकारको ‘गियर’

कहिले बढाउलान् ओलीले सुस्त सरकारको ‘गियर’

कुन मन्त्री कहाँ अलमलिए ?

वर्तमान सरकार गठन भएको नौ महिना पूरा हुनै लाग्दा सरकारले गति लिन नसकिरहेको सत्तारुढ दलकै नेताहरुले बताइरहेका छन् । सरकारको काम–कारबाही सुस्त भएको जनगुनासोबीच नेकपाका अध्यक्ष पुष्कपमल दाहाल ‘प्रचण्ड’ले सरकारले गियर परिवर्तन गर्नुपर्ने धारणा राख्दै आएका छन् । प्रचण्डले हरेक भाषणमा अब सरकारले ‘स्पिड’ बढाउनका लागि गियर फेर्ने बताउँदै आएका छन् । तर, मन्त्रीहरुको कार्यशैली देख्दा लाग्छ, उनीहरु केवल झण्डा हल्लाउनकै लागि मात्र मन्त्री बनेका हुन् ।

‘माखो नमार्ने’ मन्त्रीहरुका भीडमा उपप्रधानमन्त्री नै छन् । शक्तिशाली जिम्मेवारी पाएका ईश्वर पोखरेल अहिले रक्षामन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । यद्यपि, उनी गुमनाम प्रायः छन् । उपप्रधानमन्त्री उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालय सम्हाले पनि खासै चर्चा र चार्म छैन । ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका वर्षमान पुन पनि गुमनाम जस्तै छन् । उस्तै हालतमा छन्, वनमन्त्री शक्तिबहादुर बस्नेत पनि ।

कालिमाटी फलफूल बजार र बालाजुका दूध डेरी अनुगमनमा रमाइरहेका कृषिमन्त्री चक्रपाणी खनालको काम पनि प्रभावकारी नभएको गुनासो उत्तिकै छ । उनीहरु कसैले पनि जनजीविकाको सवालमा काम गर्न नसकेको भन्दै तीव्र आलोचना भइरहेको छ । नीतिगत विषयमा केही काम गरेको भए पनि देखिने काम गर्दै जनताका अपेक्षा पूरा कसैले सकेका छैनन् । सरकार गठनको सुरुवाती महिनामा केही मन्त्रीहरुले आशाको संकेत देखाएका थिए । तर, शक्तिशाली सरकारका मन्त्रीबाट चर्चा गरिएका काम नहुँदा सरकारप्रति जनताको असन्तुष्टि बढ्दै गएको छ ।

उपप्रधानमन्त्रीकै गति सुस्त
नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रालयको नेतृत्व सम्हालेका छन् । तत्कालीन एमालेका भावी नेतृत्वका रुपमा हेरिएका नेता पोखरेललाई रक्षामन्त्री बनाउँदा जति अपेक्षा गरिएको थियो, त्यो काम नहुँदा मन्त्री पोखरेल आलोचनाको पात्र बनेका छन् । ‘रक्षा मन्त्रालय जनजीविकाका सवालमा धेरै काम देखाउने ठाउँ नभए पनि नेपाली सेनाभित्रको सुधारमा मन्त्रीले खासै ध्यान दिन सकेको देखिएन,’ सुरक्षाविज्ञहरुको टिप्पणी छ ।

स्वास्थ्य मन्त्रालयका जिम्मेवारी सम्हालेका उपेन्द्र यादव पनि आफ्नै सचिवालयका कारण विवादमा छन् । जनतासँग प्रत्यक्ष जोडिएको मन्त्रालयको जिम्मेवारी पाए पनि आफूनिकटका र मधेसका कर्मचारीमात्र आकर्षक ठाउँमा सरुवा गर्नमै व्यस्त छन् । सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरुको सेवा प्रभावकारी बनाउनतर्फ उनले चासो दिइरहेका छैनन् ।

लथालिंग गृह प्रशासन
केपी शर्मा ओली सरकारका मन्त्रीमध्ये सबैभन्दा धेरै आशा जगाएका मन्त्री रामबहादुर थापा यतिबेला गलिसकेका छन् । राज्य संयन्त्रका विभिन्न क्षेत्रमा सुधारका लागि अभियान थालेका गृहमन्त्री सुस्त देखिँदा सिंगो सरकारको काम प्रभावित भएझैं देखिन्छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साढे ३ महिना पुग्दासमेत दोषी पत्ता लाग्न सकेको छैन ।

मुलुकको शान्ति सुरक्षा कमजोर बन्दै जाँदा र दण्डहीनता मौलाउँदै जाँदा गृहमन्त्रीले कुनै सशक्त कदम चाल्न सकेका छैनन् । बहुचर्चित सुन तस्करीको अनुसन्धानमा ‘ठूला माछा’ पत्ता लगाउन नसकेको तथा कामचोर ठेकेदारलाई कारबाही गर्न नसकेको आरोप लागेपछि गृहमन्त्री थापाको चर्चाभन्दा आलेचना बढी छ ।

कूटनीतिमा केही सुधार
सरकारका मन्त्रीहरुमध्ये तुलनात्मक रुपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको काम राम्रो देखिएको छ । विगतमा छिमेकी देशसँग ढल्किएको आरोप लाग्नेमा यसपटक त्यो आरोप सरकारले खेप्नुपरेको छैन । ज्ञवालीले परराष्ट्र मन्त्रालय समहालेपछि दुवै छिमेकीसँग हालसम्म सरकारले सन्तुलित सम्बन्ध राख्न सकेको र कूटनीतिमा सरकार केही हदसम्म सफल भएको कूटनीतिज्ञहरु बताउँछन् ।

नेपालस्थित संयुक्त राष्ट्रसंघको राजनीतिक कार्यालय र विराटनगरस्थित भारतीय दूतावासको फिल्ड अफिस बन्द गराउन सक्नुलाई सरकारले अर्को कूटनीतिक सफलताको रुपमा व्याख्या गर्दै आएको छ । राजदूत नियुक्तिसम्बन्धी मापदण्ड बनाए पनि कार्यान्वयनमा भने परराष्ट्रमन्त्री ज्ञवाली सफल हुन सकिरहेका छैनन् ।

विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको पनि काम राम्रो नभएको भन्दै नेकपाकै कार्यकर्ताले टिप्पणी गर्न थालेका छन् । डा. गोविन्द केसीसँग विगतमा सरकारले गरेको सहमति र आफ्नै सरकारले पनि निरन्तरता दिएको अध्यादेशलाई बेवास्ता गरेर प्रतिस्थापन विधेयक ल्याएपछि उनी विवादमा तानिए । त्यसपछि उनलाई शिक्षा क्षेत्रमा नीतिगत सुधार गर्न नसकेको आरोप लागिरहेको छ ।

कामभन्दा बदनाम धेरै
भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि बदनामका पात्र बनेका छन् । बिपी राजमार्गमा ठूला सवारी साधनलाई अनुमति दिने, काम नगर्ने ठेकेदारको पक्षमा खुला रुपमा उभिनेमात्रै नभई र काठमाडौंका सडकका खाल्डा पुर्ने कार्यमा उदासीन हुँदा उनीमाथिको असन्तुष्टि चुलिएको छ । यातायात क्षेत्रको सिन्टिकेट अन्त्य गर्ने सवालदेखि, सडकका खाल्डाखुल्डी पुर्ने तथा ठेकेदारलाई कारबाही गर्न रोक्ने विषयमा उनको गति उल्टो छ ।

लालबाबुको कामसँग प्रधानमन्त्री नै असन्तुष्ट
अघिल्लो सरकारमा हुँदा सबैभन्दा चर्चित पात्र लालबाबु पण्डितले पनि यसपटक राम्रो काम गर्न सकेका छैनन् । संघीयताको संक्रमणमा रहेको समयमा मुख्य जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हुनुपर्ने हो । तर, कर्मचारीलाई समायोजन अलपत्र परेको छ ।

चौथोपटक मन्त्री हुँदा मातृका यादवले पनि पहिलेभन्दा काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ । उनको ‘पर्फर्मेन्स’बाट प्रधानमन्त्री स्वयं असन्तुष्ट छन् । पुराना, रुग्ण र बन्द भइसकेका कतिपय सार्वजनिक संस्थानलाई पुनः ब्युँताउने योजना अलपत्र छ । वीरगन्ज चिनी उद्योग, हेटौंडा कपडा उद्योग, गोरखकाली टायर उद्योगलगायतका आधा दर्जन उद्योग यसै वर्ष सञ्चालन गर्ने योजना भए पनि काम अघि बढ्न नसक्दा मन्त्री यादवको काम देखिएको छैन ।

पर्यटनमन्त्री रविन्द्र अधिकारी भने काम गरेर पनि विवादित बनिरहेका छन् । वाइडबडी विमान खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा उनी मुछिए । पर्याप्त अध्ययन र पूर्वाधारबिनै विभिन्न स्थानमा आन्तरिक विमानस्थल सञ्चालनका लागि हतारो देखाएका उनी केही ठाउँमा सफल पनि देखिएका छन् भने केही ठाउँमा असफल । बिनाप्रतिस्पर्धा लुम्बिनी विकास कोषलगायत विभिन्न स्थानमा नियुक्ति गरेर उनी विवाद आए ।

मन्त्री थममाया थापा समाज कल्याण परिषद्का सदस्य सचिव डिल्ली भट्टलाई मन्त्रालयमा तान्ने र उनको जागिर खोस्ने जस्ता कामले विवादित छिन् । उनको काम नदेखिएको भन्दै धेरैबाट आलोचना भइरहेका छन् । त्यहाँभित्रका डरलाग्दा भ्रष्टाचार प्रकरणमा समेत उनी मौन छिन् । खानेपानीमन्त्री वीना मगर, कानुनमन्त्री भानुभक्त ढकालदेखि हालैमात्र सहरी विकासमन्त्री बनेका मोहम्मद इस्तियाक राई, पद्मा अर्याल, जगतबहादुर विश्वकर्मालगायतका मन्त्रीसमेत महत्वपूर्ण जिम्मेवारी पाएर गुमनाम छन्, जसको सीधा असर सरकारको पर्फर्मेन्समा परिरहेको छ ।

प्रकाशित समय ०७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु