गृहपृष्ठ शाहको परिवारले न्याय नपाएको गुनासो
शाहको परिवारले न्याय नपाएको गुनासो
गत साउन २० गते भैरहवा मेडिकलकलेजमा उपचारका क्रममा मृत्यू भएका धनुषाका २३ वर्षिय महादेव शाहको परिवारले न्याय नपाएको गुनासो गरेका छन् । सोही अस्पतालमा एमबिबिएस अध्ययनरत विद्यार्थी समेत रहेका शाहको उपचारमा अस्पतालले गम्भीर लापरवाही गर्दा मृत्यू भएको परिवारको दावी छ ।
बुधबार बुटवमा आयोजित एक कार्यक्रममा पीडित परिवारले न्याय नपाएको गुनासो गरेका हुन् । महादेवका भाई अविनास शाहले सम्पत्ती बेचेर दाजुलाई पढाइएको बताउँदै अहिले परिवारमा बिचल्ली भएको गुनासो गरे । अस्पतालले छानविन समितिको प्रतिवेदन समेत लागू नगरेको भन्दै उनको पढाईमा लागेको खर्च उपलब्ध गराउनुपर्ने परिवारको माग छ ।
‘अस्पतालले छानविन गरेर क्षतिपूर्ती दिने सम्झौता गरेको थियो, महिनौं वित्दापनिअस्पतालले हाम्रो कुरा सुनेन’ उनले भने ।
शाहको मृत्यूपछि अस्पतालमा अध्ययनरत विद्यार्थीहले आन्दोलन चर्काएका थिए । आन्दोलनका क्रममा केहि सञ्चारकर्मीको क्यामेरामा समेत तोडफोड भएको थियो । मेडिकल कलेजमा विद्यार्थी शाहको मृत्यूको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले छानविन समिति गठन गरेको थियो ।
उक्त छानविन समितिले अस्पतालले उपचारमा लापरवाही गरेकाले प्रचलित कानुन अनुसार उचित क्षतिपूर्ती दिन अस्पताललाई निर्देशन दिएको थियो । छानविन समितिले प्रतिवेदन बुझाएको लामो समय सम्म पनि पीडित परिवारले न्याय नपाउनु दुःखद भएको छानविन समितिका सदस्य एंव इलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत विष्णु ज्ञवालीले बताए । उनले प्रशासनको तर्फबाट पहल भइरहेको तर अस्पताल प्रशासनले पीडित परिवारबाट कुनै माग नभएको भन्दै आलटाल गर्दा ढिलाई भएको बताए ।
प्रकाशित समय १८:४१ बजे
















