गृहपृष्ठ नेप्सेमा ३९ प्रतिशत गिरावट, २८ महिनामा ७३३ अंकले घट्यो

नेप्सेमा ३९ प्रतिशत गिरावट, २८ महिनामा ७३३ अंकले घट्यो

यो साता २७ अंकले बढ्यो सेयर बजार

share-decrease-newskarobar

सेयर बजार परिसूचक (नेप्से)मा ३९ प्रतिशतको गिरावट आएको छ । २०७३ साउन १२ गतेको उच्चतम अंक १८८१ बाट ओरालो लाग्न थालेको बजार २०७५ मंसिर २७ गते ११४८ अंकमा आइपुगेको छ । यो ३८.९६ अंकको गिरावट हो ।

पुँजी वृद्धि योजनाका कारण सेयर बजारमा सूचीकृत कम्पनीहरुले ठूलो मात्रामा हकप्रद र बोनस सेयर जारी गर्दा मूल्य समायोजनको असर बजारमा परेको हो । सेयर संख्या चार गुणाभन्दा धेरैले बढेपछि माग र आपूर्तिको असन्तुलनका कारण नेप्से लगातार घटेको छ । बजारको बियरिस प्रवृत्तिलाई बढ्दो ब्याजदरले थप प्रभावित बनाएको विश्लेषकहरू बताउँछन् ।

rabindra-newskarobar
रविन्द्र भट्टराई

सेयर बजार विश्लेषक रविन्द्र भट्टराई मूल्य समायोजनका साथै ब्याजदर, मुद्रा स्फीति, कम्पनीले दिने प्रतिफल, सरकारी नीतिलगायतका कारण बजार लगातार ओरालो लागेको बताउँछन् । ‘सेयर बजारको संरचनामा करिब १० वर्षपछि मात्र सुधारको, त्यो पनि अपुरो प्रयास भइरहेको छ,’ उनी भन्छन्, ‘बजारप्रति अनेक किसिमका भ्रम फैलाइरहने तर संरचनागत र नीतिगत सुधारको कुनै प्रयास नगर्ने प्रवृत्तिका कारण नेपालको सेयर बजारले बेला–बेला अनपेक्षित गति लिने गरेको छ ।’

नेपाल राष्ट्र बैंक बजारमा पैसाको सन्तुलन कायम राख्दै ब्याजदर नियन्त्रण गर्न असफल रहँदा सेयर बजारमा थप गिरावट आएको उनले बताए । ‘एकातिर कम्पनीको पुँजी वृद्धिको अनुपातमा नाफा बढेको छैन, अर्कातिर ब्याजदर नियन्त्रणबाहिर छ, जसको प्रत्यक्ष असर सेयर बजारमा परेको हो,’ विश्लेषक भट्टराईले भने ।

सेयर बजारको रेखा कहिल्यै सीधा दिशामा हिँड्दैन । लगानीकर्ताले बजारको उतारचढावबाटै फाइदा लिनसक्नुपर्छ । आफ्नो आर्थिक क्षमताअनुसारको लगानी र बजारमा प्रवेश गर्ने र बाहिरिने समयको सही मूल्यांकन गर्न सकेमात्र बजार आफ्नो नियन्त्रणमा रहन्छ । बजारले कहिल्यै नाफा दिँदैन, लगानीकर्ताले बजारबाट नाफा लिनसक्नुपर्छ ।

विश्लेषक भट्टराई सेयर बजारका हरेक बियरिस ट्रेन्ड बुलको आधार भएको उनी बताउँछन् । ‘हरेक बियरिस ट्रेन्ड बजार बुलको ढोका हो, लगानीकर्ताले यसलाई चिन्ने साहस र दक्षता जुटाउनुपर्छ,’ न्युज कारोबारसँग उनले भने ।

पुँजीबजारको विकास र विस्तारका लागि अर्थ मन्त्रालय नै बढी जिम्मेवार हुने भट्टराई बताउँछन् । ‘अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र नेप्सेलाई छाडा छाडेका कारण पनि बजारमा सुधार आउन नसकेको हो,’ उनले भने । अर्थमन्त्रीले बजार उत्पादक कि अनुत्पादक भनेर बहस र भाषण गरेर बस्नुभन्दा पनि पुँजीबजारमार्फत कसरी ५० हजार मानिसले रोजगारी पाउँछन् र त्यहाँ संकलित पुँजी कसरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिन्छ भनेर योजना बनाउनुपर्ने उनको सुझाव छ । पुँजीबजारलाई रोजगारी र लगानी जुटाउने माध्यमको रूपमा सरकारले सहर्ष लिने हो भने अधिकांश समस्या आफैं समाधान भएर जाने भट्टराईले बताए ।

bharat-ranabhat-newskarobar
भरत रानाभाट

स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट पनि बजार घट्नुको मुख्य कारण सेयर आपूर्तिमा भारी वृद्धि र उच्च ब्याजदर भएको बताउँछन् । ‘सेयर बजारमा उतारचढाव आउँछ, स्वाभाविक हो,’ उनी भन्छन्, ‘तर ब्याजदर नियन्त्रणमा नआउँदा बजार प्रत्यक्ष प्रभावित भइरहेको छ ।’

सेयर आपूर्तिमा चार–पाँच गुणासम्म वृद्धि भए पनि बजार विस्तार सोही अनुपातमा नभएको उनले बताए । ‘यद्यपि, पुतलीसडकको बजार अधिकांश ठूला सहरसम्म पुगेको छ,’ अध्यक्ष रानाभाट भन्छन्, ‘सेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नहुँदा हामीकहाँ लगानीकर्ता सानो उतारचढावमा पनि आत्तिने अवस्था छ, त्यसको फाइदा हल्लाबाजहरूले उठाउँछन् र बजार बढी प्रभावित हुन्छ ।’ सक्रिय र अध्ययनशील लगानीकर्ताको संख्या बढ्दै जाँदा बजार उतारचढावको स्वरूप पनि बदलिने उनले बताए ।

२०६५ पछि २०६८ सम्मको बियरिस ट्रेन्ड हेर्ने हो भने बजारमा ठूलो गिरावट आएको होइन । त्यसबेला नेप्से परिसूचकमा ७५ प्रतिशतको गिरावट आएको थियो ।

 

संरचनागत सुधारमा बेवास्ता

सेयर बजारको संरचनागत सुधारमा नियामक निकाय सधैं चुक्ने गरेका छन् । लगानीकर्ताको सम्पत्ति संरक्षण र पुँजीबजारमार्फत रोजगारी सिर्जना गर्न सक्षम रहेका नियामकहरूले संरचना सुधारलाई पनि कुनै प्राथमिकतामा राख्ने गरेका छैनन् ।

२०५० सालमा सुरू भएको सेयर कारोबारमा १५ वर्षसम्म कुनै भौतिक सुधार भएन । ठूलो स्वरमा कराएरै बित्यो १५ वर्ष । १५ वर्षपछि काठामाडौंलाई लक्षित गरी २०६५ सालमा कम्प्युटरबाट कारोबार सुरु भयो । तर, त्यसको एक दशकसम्म पनि सुधारको कुनै प्रयास भएन । बल्ल १० वर्षपछि २०७५ साउन १ गतेदेखि अनलाइन कारोबार सुरू भयो, त्यो पनि अपुरो । लामो समयको परीक्षणपछि कात्तिकमा धुमधामका साथ सुरू भएको अनलाइन प्रणाली लगानीकर्ताको सुविधासम्म अझै पुग्न सकेको छैन ।

सेयर बजार विश्लेषकहरू घट्दो बजार थेग्न नसकेर लगानीकर्ता सडकमा आइपुगेपछि मलमपट्टीका रूपमा अर्थ मन्त्रालयले गठन गर्ने समितिहरूलाई झारो टारिएको रूपमा लिन्छन् । ‘बजारको संरचनागत सुधारमा कुनै चासो नदिने अनि लगानीकर्ता सडकमा उत्रिएपछि थामथुम पार्न समिति गठन गर्नु नाटक सिवाय केही होइन,’ विश्लेषक भट्टराईले भने ।

 

यो साता २८ अंक बढ्यो

सेयर बजार यो साता २७.९३ अंकले बढेको छ । साताको पहिलो दिन आइतबार ११२०.८५ अंकबाट कारोबार सुरू भएको बजार बिहीबार ११४८.७८ अंकमा बन्द भएको छ । यो साता बजारमा सूचीकृत अधिकांश कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

प्रकाशित समय १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु