गृहपृष्ठ नेकपाको आन्तरिक किचलो : पाँच भर्सेज चार नेता
नेकपाको आन्तरिक किचलो : पाँच भर्सेज चार नेता
नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा ‘पाँच नेता भर्सेज चार नेता’ को ‘अनौपचारिक समूह’ बन्ने देखिएको छ । चार नेताको बहिष्कारका बाबजुद पाँच नेताले बैठक बसेर स्थायी समितिको बैठक बोलाएपछि नेकपाको आन्तरिक किचलो छताछुल्ल भएको थियो ।
यो समूह आउँदा दिनमा कसरी प्रस्तुत होला भन्ने नेता कार्यकर्तामा कौतूहलको विषय बनिरहँदा नेकपा स्थायी समिति बैठक शनिबार सुरु हुँदैछ । बैठक निर्धारित समयमै नभएका कारण ४ नेताले बैठक बहिस्कार गरेपछि पार्टीभित्रको विवाद छताछुल्ल देखिएको हो । गएको शनिबार बसेको पार्टी सचिवालय बैठक समयमै सञ्चालन नभएपछि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य बामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बहिष्कार गरेका थिए ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा बैठक सञ्चालन नगरेपछि उनीहरुले बैठक बहिष्कार गरेका थिए ।
वरिष्ठ नेताद्वय नेपाल, खनाल, सचिवालय सदस्य गौतम र प्रवक्ता श्रेष्ठले बैठक बहिष्कार गरे पनि अध्यक्षद्वय ओली, प्रचण्ड, सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलसहितको बैठक बसेको थियो ।
बहुमतको आडमा स्थायी समिति बैठक बोलाइएपछि स्थायी समितिमा पनि सहमति नभए बुहमतकै भरमा निर्णय हुने संकेत नेकपामा देखिएको छ । पार्टी एकता प्रक्रिया चलिरहेकाले कुनै पनि निर्णय सहमतिमै गर्ने भद्र सहमति भए पनि पछिल्लो समय बहुमत र अल्पमतको हिसाबले निर्णय हुन थालेको छ ।
विवाद समाधान नभए गाउँगाउँसम्म पार्टी एकता टुंगो लगाउन बाँकी रहे पनि केन्द्रमा देखिएको विवाद गाउँसम्मै पुग्ने नेकपाकै नेताहरु बताउँछन् । केन्द्रमै गुटगत हिसाबले काम भइरहेकाले त्यसको असर जनवर्गीय संगठनदेखि गाउँगाउँसम्मको पार्टी एकतामा समेत पर्ने निश्चत छ ।
यसैले शनिबार बस्ने स्थायी समिति बैठकमा यीनै सचिवालयको गुटगत विषयले महत्वपूर्ण स्थान पाउने निश्चित भएको नेताहरुको भनाई छ । पछिल्लो समय स्थायी समिति बैठक बस्ने निर्णय सचिवालयले गरेपछि विवाद समाधान हुने विश्वास नेताले गरेका थिए ।
सचिवालय बैठक बहिस्कार गरेका नेता नेपालले यसअघि स्थायी समिति बैठक आह्वान गर्न पटक पटक दवाव दिँदै आएका थिए ।
तर, अहिले विवादबीच बैठक बस्ने भएकाले झन् विवाद बढ्ने नेताहरुले अनुमान गरेका छन् । नेताहरु भन्छन्, ‘शीर्ष नेताहरुकै गुटबन्दीका कारण केन्द्रको गुट गाउँगाउँसम्म पुग्ने निश्चित छ, पछिल्लो समय चार शिर्ष नेताहरुले सचिवालय बैठक बहिष्कार गरेपछि विवाद थप चुलिएको छ, मुख्यत: यही विषयमा बैठक केन्द्रित हुनेछ ।’
अध्यक्षद्वय ओली र प्रचण्डईतर पक्षले विधि एवं प्रक्रियाद्वारा पार्टी सञ्चालन नभएको अरोप लगाउँदै आएका छन् । केन्द्रदेखि गाउँसम्म आफूनजिक र आफ्ना भक्तलाई पार्टीमा जिम्मेवारी दिने र आलोचना गर्नेलाई लखेट्ने कामले समस्या बढेको उनीहरुको भनाई छ ।
सचिवालय पार्टी विधानअनुसार सञ्चालन नभएको र आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गरिरहेकाले त्यसको विषयमा स्थायी समिति बैठकमा छलफल हुने नेता नेपाल पक्षको भनाई छ । बैठक समस्या बल्झाउने भन्दा सुल्झाउने विषयमा केन्द्रित हुने स्थायी समिति सदस्य योगेश भट्टराई बताउछन् । ‘हामी छलफल वादविवाद जती जे गर्नु छ, बैठक कक्षभित्र गर्छौं बैठक सकिएपछि सबै कुरा समाधान गरेर एक ढिक्का भएर निस्कन्छौ,’ भट्टराई भन्छन्, ‘केन्द्रदेखि गाउँसम्मका नेता कार्यकर्तालाई योगदान गोग्यता क्षमता हेरेर कार्यविभाजन गरिन्छ, सबै तहको एकता टुगिन्छ ।’
बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारबाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयमा छलफल हुने नेता कृष्णगोपाल श्रेष्ठले बताए ।
जेठ ३ गते पार्टी एकता भए यता यो दोस्रो स्थायी समिति बैठक हो । यसअघि असारमा स्थायी समितिको पहिलो बैठक बसेको थियो । त्यसपछि लामो समयसम्म स्थायी समिति बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो । स्थायी समिति बैठक नबस्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ । केन्द्रमा केन्द्रीय समिति र प्रदेश समितिले पूर्णता पाए पनि त्यसभन्दा तल्ला समितिको समायोजन हुन सकेको छैन ।
जनवर्गीय सङ्गठन तथा सभेक्षुक संगठन समेत एकीकरण भएको छैन । शनिबार बस्ने बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पुर्याउने अपेक्षा छ ।
प्रकाशित समय १६:४५ बजे
















