गृहपृष्ठ युवा संगठन पूर्वएमाले तथा विद्यार्थी संगठन पूर्वमाओवादीलाई

युवा संगठन पूर्वएमाले तथा विद्यार्थी संगठन पूर्वमाओवादीलाई

स्थायी कमिटीको निर्णय कुर्दै भ्रातृ संगठन

sthae-samiti-newskarobar

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भ्रातृ संगठन स्थायी समितिको निर्णय कुरिरहेका छन् । पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको भ्रातृ संगठन एकतापछि क–कसलाई नेतृत्व दिने भन्नेबारे नेताहरुबीच सहमति भइसके पनि स्थायी समितिले निर्णय गर्न बाँकी छ । ती संगठन अहिले सोही निर्णयको प्रतिक्षमा छन् ।

सहमतिअनुसार पूर्वएमालेको भातृ संस्था युवा संघ र पूर्वमाओवादीको योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) एकता भइ बन्ने एकीकृत संगठनकाे नेतृत्व युवा संघले गर्ने छ भने पूर्वएमालेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र माओवादीको अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी (अनेरास्ववियू क्रान्तिकारी) एक भएपछि त्यसको नेतृत्व अखिल क्रान्तिकारीले गर्ने छ । ‘युवा संगठनको नेतृत्व पूर्वएमालेले गर्ने र विद्यार्थी संगठन पूर्वमाओवादीले हाँक्ने विषयमा दुबै पक्षबीच सहमति भएको छ,’ स्थायी समितिका एक सदस्यले न्युज कारोबारसँग भने, ‘स्थायी समिति बैठकले यही सहमतिअनुसार निर्णय लिने छ ।’

ती सदस्यका अनुसार पार्टीका औपचारिकसँगै अनौपचारिक बैठक पनि भ्रातृ संगठन एकताकै विषयमा केन्द्रित छ । ‘अहिले एकतापछि बन्ने संगठन र केन्द्रीय समितिमा रहने सदस्यहरुको नाम टुंगो लगाउने विषयमा छलफल भइरहेको छ,’ उनले भने ।

युवा संगठन एकताका लागि विधानसमेत तयार भइसकेको नेताहरुले बताएका छन् । १६ देखि २४ वर्षसम्मका युवालाई विशेष आरक्षण दिनुपर्ने, राष्ट्र निर्माणमा युवा शक्तिलाई परिचालन गर्नुपर्ने, समाजवाद र राष्ट्रिय पूँजी निर्माणका लागि युवा वर्गले भूमिका निर्वाह गर्नुपर्नेलगायत विषय विधानमा समेटिएको छ ।

दुवै संगठनलाई व्यवस्थित तरिकाले एकताबद्ध गर्नका लागि युवा संघका इञ्चार्ज महेन्द्रबहादुर पाण्डे र अध्यक्ष रमेश पौडेल तथा वाइसीएलका इञ्चार्ज मणि थापा र रामप्रसाद सापकोटा रहेको कार्यदल गठन गरिएको थियो । संगठन बनाउन तत्काल एकता हुनुपर्ने कार्यदलका सदस्यहरुले बताउँदै आएका छन् । ‘युवालाई अवसर प्रदान गर्ने युवामैत्री विधान हामीले तयार गरेका छौं, युवाशक्ति संगठित भई सामाजिक सेवाका साथै व्यावसायिक तथा उद्यमशीलतर्फ उन्मुख गराउन तत्काल एकता गर्नुपर्छ,’ कार्यदल सदस्य थापाले भने ।

युवा संघका महासचिव नरेश शाही स्थायी समितिको निर्णय कुरिरहेको बताउँछन् । मुल पार्टी एकता भएको लामो समयपछि भ्रातृ संस्था एकताको छलफल अन्तिम चरणमा पुगेकाले आफूहरु उत्साहित भएको उनले बताए ।

यस्तै विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) को एकता पनि अन्तिम चरणमा पुगेको छ । स्थायी समिति बैठकबाट औपचारिक निर्णय आएपछि एकता गरिहाल्ने अनेरास्ववियूकी उपाध्यक्ष एवं विधान मस्यौदा उपसमिति सदस्य सुनिता बरालले बताईन् । नेतृत्व र नामका विषयमा अझै छलफल भइरहेको छ । केन्द्रीय समिति भने १ सय ९९ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ ।

प्रकाशित समय १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु