गृहपृष्ठ सडक निर्माण रोकिएपछि जामुनगाछीमा चर्को असन्तुष्टि
सडक निर्माण रोकिएपछि जामुनगाछीमा चर्को असन्तुष्टि
स्थानीयको आक्रोस- दश वर्षसम्म मुद्दा चल्ला रे हामी धुलो खाएर बस्नु ?
लामो समयदेखि सडक र नालाको निर्माण कार्य रोकिएपछि विराटनगर महानगरपालिका वडा ४ र ५ का स्थानीय विरोधमा उत्रिएका छन् । एक हप्ताभित्र सडक तथा नालाको काम अगाडि नबढाए सडक जाम गरेर आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
विराटनगर महानगरपालिकाको वडा ४ र ५ को सीमामा एक वर्ष अघिदेखि रोकिएको निर्माणको काम अघि नबढेपछि स्थानीयले सडकमै पत्रकार सम्मेलन गरी निर्माण अघि नबढे आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
जामुनेश्वर मार्गमा एसियाली विकास बैंकको सहयोगमा मझौला सहरको एकीकृत वातावरणीय सुधार परियोजनाअन्तर्गत सडक नाला निर्माणको काम भइरहेको थियो । निर्माणकै क्रममा नियमविपरीत महानगरपालिकाले आफ्नो घर मिचेर सडक बनाउन खोजेको भन्दै केही स्थानीयले महानगरपालिकाविरुद्ध नै मुद्धा दायर गरेका थिए ।

उच्च अदालत विराटनगरले आफ्नो नम्बरी जग्गाभित्र सडक बनाउन खोजेको दाबी गर्ने घरधनी र महानगरपालिकालाई छलफलमा बोलाई ४ घरले दाबी गरेको जग्गा बाहेकका ठाउँमा निर्माण कार्य गर्न मिल्ने बताएको थियो ।
तर, गत फागुनपछि ठप्प भएको निर्माणको काम अहिलेसम्म सञ्चालन हुन सकेको छैन । पुलचोकदेखि नहरसम्म निर्माण ठप्प भएको सो २५ मिटरको सडकको काम अघि बढाउनुपर्ने स्थानीयबासीको माग छ ।
सडक छेउको नाला निर्माणको क्रममा भएका खाल्डा तथा जीर्ण सडकका कारण आफूहरुलाई असर परेको स्थानीय बताउँछन् । बाटो बनाउन महानगरपालिकामा दबाब दिँदा अदालतमा मुद्दा छ भनेर टार्ने गरेको स्थानीयले गुनासो गरे ।

विराटनगर जामुनगाछीकी लक्ष्मी थापाले भनिन्, ‘यस क्षेत्रको विकासका लागि डेढ करोड बजेट छुट्याएर राखेको छ अरे । नगरपालिकामा कुहाएर राखेर हुन्छ सहमति भएन भने ? १० वर्ष सम्म मुद्धा चल्ला पर्खेर बस्ने हामीले बाटोको धुलो खाएर ? सहमति गराओस । मेयरले प्रयत्न गर्नु पर्छ पर्दैन ? मयरले एकपटक पनि स्पोटमा आएर हेरेका छैनन् । मेयरले निदाएर बस्ने त्यसरी कुम्भकर्ण ? हामी जनता मान्छौँ त्यसरी ?’
त्यस्तै स्थानीय एपोलो भगतले पनि विराटनगर महानगरले मुद्धाको बहानामा विकास निर्माणको काम टार्न नमिल्ने बताए । ‘हामीले महानगरपालिकालाई कर तिर्छौँ । हामी नगरवासि हौँ । तत्काल महानगरपालिकाले सडक नाला निर्माणको काम गरोस’ उनले भने ।
यता केहीले भने नम्बरी जग्गामा महानगरपालिकाले सडकको नक्साविपरीत मिचेर निर्माण गर्न लागेको आरोप लगाएका छन् । स्थानीय गंगा श्रेष्ठले नम्बरी जग्गामा बाटो र सडक महानगरले बनाएर आफूहरुको विल्लीबाठ लगाउन लागेको आरोप लगाए ।

उनले दक्षीणतर्फबाट सडक नक्सा रहेको र महानगरले उत्तरतर्फबाट आफ्नो जग्गा काट्ने गरी निर्माण गर्न लागेको गुनासो गरे । ‘हामीले नम्बरी जग्गामा नक्सा पास गरेर घर बनाएर बसेका छौं । नक्सामा बाटो देखाएको छ १ सय २२ फिट, मेरो घर अगाडीको बाटो हो १ सय २२ फिट नापीको नक्सामा रेकर्ड भएको कुरा हो । नक्सा पास गरेर घर बनाएका छौं । भोगचलनमा बाटो जम्मा ६० फिटको मात्र छ । ६२ फिट बाटो देखिँदैन । बाटो कहाँ गयो त ? कि अदालतले प्रमाणित गरिदिनु पर्यो बाटोमा पर्यो भनेर । त्यसै अरुको जग्गा मिच्न पाईन्छ ?’ श्रेष्ठले भने ।
अदालतले समेत सडक निमार्ण अघि बढाउन बाटो खोलिदिएपछि पनि एउटा बाहानामा अड्किएर विकास निर्माणका कामहरु ठप्प पार्दा यहाँका स्थानीयबासी मर्कामा परेका छन् ।


प्रकाशित समय १६:४८ बजे

















