गृहपृष्ठ जितगढीको गुरुयोजना बनाउन जुट्यो बुटवल उपमहानगरपालिका
जितगढीको गुरुयोजना बनाउन जुट्यो बुटवल उपमहानगरपालिका
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जितगढी किल्ला क्षेत्रको संरक्षण र प्रवर्धनका लागि गुरुयोजना बनाउन सुरु गरेको छ । उपमहानगरपालिकाले गुरुयोजना निर्माणका लागि पहिलो चरणअन्तर्गत विज्ञसँग छलफल कार्यक्रम अघि बढाएको हो ।
उपमहानगर प्रमुख शिवराज सुवेदीले जितगढीलाई मणिमुकुन्दसेन, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर विशेष गुरुयोजना बनाइरहेको जानकारी दिए । नगर प्रमुख सुवेदीले राष्ट्रिय स्वाभिमानको जीवित इतिहासका रुपमा रहेको जितगढी क्षेत्रलाई उजागार गर्दै स्थानीय सबै नागरिकले अपनत्व गर्नेगरी नयाँ योजना ल्याइने पनि बताए ।

जितगढी सम्पदा राष्ट्रियताको पहिचान र प्रतीक तथा बुटवलको शानका रुपमा रहेको भन्दै छलफलमा सहभागी सरोकारवालाले जितगढी क्षेत्रलाई साँघुरो घेरामा नखुम्च्याउन सुझाव दिएका छन् । उनीहरुले ऐतिहासिक सम्पदाले चर्चेको जमिन र सम्बन्धित अन्य क्षेत्रलाई पनि गुरुयोजनामा समेट्न सुझाव दिए । दुई बिघा २ कठ्ठा ८.५२ धुर जग्गालाई बढाएर फराकिलो क्षेत्रमा जितगढी किल्ला क्षेत्रका संरचना तयार गर्नुपर्ने सुझाव सहभागीले दिएका छन् ।
कार्यक्रममा डा. आरसी आचार्य, डा. गितु गिरी, डा. सूर्यबहादुर जिसी, विमलबहादुर शाक्य, नेत्र पन्थी, झपेन्द्र जिसीलगायतले अहिले रहेको भूभागमात्रै जितगढी किल्लाको विस्तारका लागि पर्याप्त नहुने भन्दै बस्ती रहेको अरु भूभाग पनि अधिग्रहण गर्नुपर्ने सुझाव दिए । अहिले जितगढीको प्रचारप्रसार हुन नसकेका कारण पर्याप्त पर्यटक भित्र्याउन नसकिए पनि आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन सके अहिले बनाएको गुरुयोजना अपर्याप्त हुने उनीहरुको भनाइ छ ।

नेपाली सेनाका सहायकरथी आनन्द अधिकारीले नेपाली सेनाले सैनिकसँग सम्बन्धित प्राविधिक कुराहरुमा थप छलफल गर्दै सहकार्य गर्न तयार रहेको बताए । उनले जितगढीमा भएको तत्कालीन नेपाल–अंग्रेज युद्धको झल्को दिनेगरी वृत्तचित्र बनाउन सकिने सुझाव दिए ।
कार्यक्रममा पूर्वसांसद देवेन्द्र घिमिरे, रामचन्द्र भट्टराई, देवराज पोखरेल, श्रीकृष्ण पोखरेल, प्रदीपकुमार उदय, बलबहादुर आचार्य, ऋषि आजाद, एजाज आलम, नारायण घिमिरे, युवराज घिमिरे, खेमप्रसाद लुइँटेल, महेन्द्रकुमार राजभण्डारी लगायतले जितगढीलाई नुवाकोट, मणिमुकुन्दसेन उद्यान, तानसेनसँग पनि जोडेर संरक्षण र प्रवद्र्धन गर्नुपर्ने जोड दिए । कार्यक्रममा इतिहासविद्हरु, संस्कृतिविद्हरु, पुरातत्वका ज्ञाताहरु, नागरिक अगुवाहरु र त्यस परिसरका स्थानीय नागरिकको पनि सहभागिता थियो ।

उपमहानगरपालिकाका इन्जिनियर धर्मराज ढकाल र आर्किटेक मधु ज्ञवालीले प्रस्तुत गरेको गुरुयोजनाको खाकामा हाल जितगढी किल्ला रहेको भागको दक्षिणपट्टि र उत्तरपट्टिको भागमा संरचनाहरु बनाउने योजना प्रस्ताव गरिएको छ । प्रस्तावित गुरुयोजनाअनुसार जितगढी क्षेत्रमा रहेका कभर्ड हल र वडा कार्यालयलाई महेन्द्र राजमार्गभन्दा उत्तरको भागमा सार्नुपर्ने उल्लेख छ ।
गुरुयोजनाको खाकामा जितगढी क्षेत्रमा रहेका केही घर अधिग्रहण गरी पर्खाल लगाएर संग्रहालय, पार्क, स्मारकहरु, तिनाउ किनारमा रात्रिकालीन बजार बनाउन प्रस्ताव गरिएको छ । प्रस्तावित गुरुयोजनाअनुसार २ बिघा २ कठ्ठा ८.५२ धुरमा बन्ने संरचनाका लागि ११ करोड ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । उपप्रमुख गुमादेवी आचार्यले प्रस्तावित योजनामा व्यापक सुझाव संकलन गरिसकेपछि फेरि विज्ञसँग बसेर टुंगो लगाइने बताइन् । ‘निजी क्षेत्रको सहकार्यमै काम सम्पन्न गर्ने गरी योजना अगाडि सारिएको छ,’ उनले भनिन् ।

प्रकाशित समय १६:१७ बजे
















