गृहपृष्ठ प्रदेश ५ का १०८ स्थानीय तहमा पुगे बैंक, सुनछहारीमात्र बैंकविहीन
प्रदेश ५ का १०८ स्थानीय तहमा पुगे बैंक, सुनछहारीमात्र बैंकविहीन
प्रदेश ५ का स्थानीय तहमध्ये रोल्पाको सुनछहारीमात्र बैंकविहीन गाउँपालिका भएको छ । बैंक नभएपछि वित्तीय कारोबारका लागि सुनछहारीबासी जिल्ला सदरमुकाम लिवाङसम्म धाउनुपर्ने बाध्यतामा छन् ।
अध्यक्ष आशबहादुर पुनमगरले बैंक अभावमा गाउँपालिकाको आर्थिक कारोबार गर्न निकै समस्या परेको बताए । ‘कर्मचारीको तलब, योजना भुक्तानीलगायतका आर्थिक कारोबारका लागि पाँच घण्टाको समय खर्चेर लिवाङसम्म पुग्नुपर्ने बाध्यता छ,’ उनले भने ।
नेपाल राष्ट्र बैंकले सुनछहारी गाउँपालिकामा शाखा विस्तार गर्न नेपाल एसबीआई बैंकलाई चैतमै निर्देशन दिएको थियो । निर्देशनअनुसार असार मसान्तसम्ममा शाखा खोलिसक्नुपर्ने भए पनि विकट भौगोलिक अवस्थिति र सुरक्षाको कारण देखाउँदै शाखा खोलिएन । अरु बैंक पनि त्यहाँ पुगेका छैनन् । दुर्गममा वित्तीय पूर्वाधार अभावमा शाखा स्थापना गर्न नसकिएको बैंकहरुले बताउने गरेका छन् ।

गत चैतमा मुलुकका वित्तीय संस्था नपुगेका एक सय १६ स्थानीय तहमा सहजै बैंक जान नमानेपछि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई स्थानीय तह भागवण्डा गरी शाखा सञ्चालन गर्न निर्देशन दिएको थियो । गत आर्थिक वर्षको असार मसान्तभित्रै बैंकहरुले शाखा खोलिसक्नुपर्ने निर्देशनअनुसार प्रदेश ५ का अन्य सबै स्थानीय तहमा बैंक स्थापना भई वित्तीय कारोबारसमेत सुरु भइसकेको छ ।
गुल्मीको सत्यवती गाउँपालिकामा गएको साउनमा पहिलोपटक बैंक पुगेको हो । नेपाल क्रेडिट एन्ड कमर्स बैंकले शाखा खोलेपछि बैंकिङ कारोबारका लागि सत्यवतीबासी तम्घास वा रिडी पुग्नुपर्ने बाध्यता हटेको छ ।
प्रदेश ५ मा आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्ममा बैंक नभएका १० स्थानीय तहमध्ये ९ तहमा वाणिज्य बैंकका शाखा सञ्चालनमा आएका छन् । रोल्पाको लुङ्ग्री गाउँपालिकामा नेपाल बैंक तथा दुईखोला र सुकीदह गाउँपालिकामा जनता बैंकले शाखा सञ्चालन गरेको छ । गुल्मीको मालिका गाउँपालिकामा बैंक अफ काठमाण्डू, छत्रकोट गाउँपालिकामा मेगा बैंक र सत्यवती गाउँपालिकामा नेपाल क्रेडिट एन्ड कमर्स बैंकले कारोबार सुरु गरिसकेका छन् ।
यस्तै, प्युठानको ऐरावती गाउँपालिकामा मेघा बैंक, माण्डवी गाउँपालिकामा सिभिल बैंक र अर्घाखाँचीको मालारानी गाउँपालिकामा सेन्चुरी कमर्सियल बैंकले कारोबार सुरु गरिसकेका छन् ।
धेरै स्थानीय तहमा बैंक पुर्याउने प्रदेश ५ बैंक तथा वित्तीय संख्याका हिसाबले देशका सात प्रदेशमध्ये तेस्रो स्थानमा छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार यो प्रदेशमा ८०२ वटा बैंक तथा वित्तीय संस्था छन् । अघिल्लो वर्षको सोही अवधिमा ९०० शाखा थिए । अन्तरबैंकिङ मर्ज तथा एक्विजिसनका कारण बैंक तथा वित्तीय संस्थाका शाखाको संख्या घट्न गएको हो । मंसिर मसान्तसम्ममा ‘क’ वर्गका ४७६, ‘ख’ वर्गका २९७ र ‘ग’ वर्गका २९ बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा छ ।
जिल्लागत रूपमा रूपन्देहीमा सबैभन्दा बढी वित्तीय संस्थाका १४० शाखा छन् । चलायमान आर्थिक गतिविधिका कारण रुपन्देहीमा वित्तीय संस्था धेरै भएको नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका प्रमुख अशोककुमार पौडेलले बताए । ‘संघीयता लागू भएसँगै रुपन्देहीमा एक किसिमको वित्तीय आकर्षण बढेको छ,’ प्रमुख पौडेल भन्छन्, ‘शाखा सञ्चालनका लागि अनुमति माग्न आउने बैंकहरु पनि धेरै छन् ।’
प्रदेश नम्बर ५ मा दाङ, बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पूर्व, नवलपरासी पश्चिम, गुल्मी र पाल्पा गरी १२ जिल्ला छन् । यो प्रदेशमा चार उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन् । यी स्थानीय तहमा वडाको कुल संख्या ९८३ छ ।
प्रकाशित समय १९:४० बजे

















