गृहपृष्ठ प्रदेश एवं स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठी बुटवलमा

प्रदेश एवं स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठी बुटवलमा

padma-kumari-aryal-newskarobar

राष्ट्रिय सहकारी नीतिको कार्यान्वयन तथा प्रदेश एवं स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठी बुटवलमा सुरु भएको छ । सहकारी क्षेत्रको प्रवर्धनमा राष्ट्रिय सहकारी नीतिको कार्यान्वयनसम्बन्धी गोष्ठीको आयोजना गरिएको हो ।

गोष्ठीको उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जनतासँग सहकारीको प्रत्यक्ष पहुँच रहेकाले जनताको आर्थिक उपार्जनमा सहकारीले लगानी गर्नुपर्ने बताइन् । उनले सहकारीलाई राम्रोसँग परिचालन गरे अर्थतन्त्र अझ मजबुद हुने बताइन् ।

संघीयताका कारण कानुनमा केही जटिलता देखिए पनि त्यसको समधान गर्दै सहकारीलाई अझ मजबुत बनाउने उनको भनाइ छ । मुलुक एकीकृत भए पनि स्वरुप संघीय रहेको भन्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच तालमेल भएमात्र समृद्ध नेपाल, खुसी जनताको लक्ष्य पूरा हुने उनले बताइन् ।

त्यसैगरी, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सहकारीलाई व्यवस्थित बनाउन प्रदेश सरकारले कानुन निर्माण गर्न लागेको भन्दै आवश्यक सुझाव दिन आग्रह गरिन् । अर्थतन्त्रको एउटा खम्बा सहकारी भएकाले सहकारीको अनुगमन, नियमन र पुँजी परिचालनमा सरकारले विशेष ध्यान दिने बताइन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले संघीय सहकारी ऐन र स्थानीय सहकारी ऐनका कतिपय बुँदाहरु बाझिँदा दुबिधा उत्पन्न भएको बताए । उनले प्रदेश र स्थानीय तहमा छुट्टै डेस्क स्थापना हुनपर्ने बताए । उनले कानुन निर्माण गर्दा सरलीकृत छुट, सुविधा र सहुलियतको व्यवस्था, जोखिम व्यवस्थापन, एकीकरणका लागि प्रोत्साहन तथा विघठनको व्यवस्था हुनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक रवीन्द्र्र केसी, बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित समय २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु