गृहपृष्ठ विराटनगर आईसीपीको ६० प्रतिशत काम सम्पन्न, फेब्रुअरीभित्र सञ्चालन

विराटनगर आईसीपीको ६० प्रतिशत काम सम्पन्न, फेब्रुअरीभित्र सञ्चालन

icp-biratnagar-newskarobar

भारत सरकारको अर्बौं लगानीमा निर्माणाधीन एकीकृत जाँचपास चौकी (आईसीपी) संरचना निर्माणको कार्य ६० प्रतिशत बढी सम्पन्न भएको छ । कामले गति लिएसँगै आईसीपी परियोजना निर्माणको सबै काम यसै वर्ष सम्पन्न भएर सरकारलाई फेब्रुअरी महिनाभित्र हस्तान्तरण गरिने भएको छ ।

एकीकृत जाँचपास चौकी भारत सरकारकै लगानीमा नेपाल र भारतपट्टि उस्तै संरचना निर्माण गर्न सन् २०१६ डिसेम्बर २७ मा भारतीय ठेकेदार कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फ्रासन प्रालिसँग सम्झौता भएको थियो । भारत सरकारकै सम्पूर्ण लगानीमा निर्माण भइरहेको एकीकृत जाँचपास चौकी (आईसीपी)का लागि नेपाल सरकारले जग्गामात्र उपलब्ध गराएको छ ।

दुवै देशबीच भएको सम्झौताअनुसार भारतले आइसीपी निर्माण गरी नेपाललाई हस्तान्तरण गर्नेछ । आईसीपी निर्माणका लागि जग्गा उपलब्ध गराउन मुआब्जा वितरणलगायतका काममा नेपालले ढिलो गरेका कारण नेपालतर्फ आईसीपी निर्माण परियोजनाको काम ढिलो गरी सुरु हुँदा परियोजना नै अलपत्र पर्ने हो कि भन्ने चिन्ता पूर्वका उद्योगी व्यवसायीमा परेको थियो । आईसीपी निर्माणका लागि आइपरेका विभिन्न समस्या नेपाल सरकारले समाधान गरेपछि यतिबेला निर्माणकार्य ६० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।

icp-biratnagar-newskarobar
यसरी हुँदै छ काम
ठेकेदार कम्पनीले परियोजनाको काम चाँडै सम्पन्नगर्न ‘एप्रोच रोड’ र ‘वाइपास रोड’ निर्माण गरिसकेको छ भने साढे ७ किलोमिटर आन्तरिक रोड निर्माणका लागि माटो पुर्ने काम भइरहेको कम्पनीका परियोजना व्यवस्थापक अवधेश साहले जानकारी दिए । उनले हालसम्म आईसीपीभित्र रहने सम्पूर्ण भवनहरुको मुख्य काम सकिएको र फिनिसिङमात्र बाँकी रहेको बताए । उनले भने, ‘हामीले फेब्रुअरीभित्रमा ९५ प्रतिशत काम गरिसक्ने टार्गेट राखेका छौँ । अलि–अलि मेन्टेनेन्सका काम हस्तान्तरणपछि पनि गर्न सकिन्छ ।’

परियोजना व्यवस्थापक साहले हालसम्म आईसीपी परियोजना क्षेत्रको पर्खाल निर्माण, ओभरहेड ट्यांक निर्माण, प्रवेशद्वार निर्माणलगायतका काम भएको र परियोजनाको ६० प्रतिशतभन्दा बढी काम सकिएको जानकारी दिए । परियोजनामा हाल दैनिक ५ सयभन्दा बढी मजदुरले काम गरिरहेका छन् । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय विराटनगरका अनुसार एकीकृत आईसीपी निर्माणका लागि १२९ बिघा जग्गा र लिंक रोडका लागि ४० बिघा अधिग्रहण पश्चात ३० करोड १३ लाख ५४ हजार रुपैयाँ मुआब्जा वितरण गरी भारतलाई जग्गा हस्तान्तरण गरिएको हो ।

icp-biratnagar-newskarobar
पूर्वका उद्योगीमा उत्साह
निर्माण कार्यले गति लिएपछि यस क्षेत्रका उद्योगी व्यवसायी पनि हौसिएका छन् । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडा कुनै पनि व्यापारका लागि ट्रान्सपोर्टेसन महत्वपूर्ण हुने बताउँछन् । ‘एक हिसाबले भनौँ व्यापारको मेरुदण्ड नै ट्रान्सपोर्टेसन हो,’ उनले भने, ‘त्यसकारण आईसीपी निर्माण भइसकेपछि अहिले सामान आयातमा जुन समय र लागत लागिरहेको छ, त्यसमा डेफिनेट्ली राहत हुन्छ ।’

आईसीपी दुवैतिर एउटै संरचनामा बन्नेछ । भारततिर बनेर सञ्चालनमा आइसकेको छ । नेपालतर्फ पनि बनिसकेर सञ्चालनमा आएपछि औद्योगीकरणमा धेरै फाइदा पुग्नेछ । आईसीपीमा सबै प्रकारका जाँचपास एकैथलोबाट हुनेछन्, जसबाट अहिले जोगबनीमा लाग्ने कन्टेनरको भीड हट्नेछ ।

एकीकृत जाँचपास चौकी निर्माण सम्पन्न भएपछि पशु क्वारेन्टाइन, गोदाम घर, भन्सार चौकीलगायत जाँचको काम सबै एकै थलोबाट हुने, वस्तु आयात–निर्यातमा सहज हुने र धेरै कुरामा फाइदा पुग्ने विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलले जानकारी दिए । ११४ करोड भारतीय रुपैयाँ लगानीमा निर्माण भइरहेको एकीकृत भन्सार जाँचपास चौकी प्रदेश १ का लागि मात्र नभएर मुलुककै लागि ठूलो परियोजना हो ।

icp-biratnagar-newskarobar

icp-biratnagar-newskarobar

प्रकाशित समय ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु