गृहपृष्ठ व्यापारीले सित्तैमा पनि लगेनन् बन्दाकोभी

व्यापारीले सित्तैमा पनि लगेनन् बन्दाकोभी

खेतमै नष्ट गर्दै किसानहरू

Bandakobi_NewsKarobar

आफूले लगाएको बन्दाकोभीले एक रूपैयाँ किलो पनि भाउ नपाएपछि चितवनका किसानहरूले खेतमै नष्ट गर्न थालेका छन् । बजारमा बन्दाकोभीको मूल्य प्रतिकेजी रु २० हाराहारी भए पनि धेरै उत्पादन भएपछि कृषकको तरकारी नउठेको हो ।

तरकारी टिप्ने र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्नका लागि किसानले तरकारी नष्ट गर्न थालेका हुन् ।  पछिल्लो समय किसानले तरकारीको मूल्य नपाएपछि पनि खेतबारी जोत्न थालेका छन् । सोमबार पूर्वी चितवनका चार किसानले एकसाथ तरकारी खेतीमा ट्याक्टर लगाएका छन् ।

आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजारभाउ नपाएपछि खैरहनी नगपालिका–१ ज्यामिरेका इन्दिरा भुसाल, सूर्यप्रसाद भुसाल, नवराज भुसाल र कृष्ण सापकोटाले बन्दाकोभी र मुलाखेतीमा ट्याक्टर लगाएका छन् । केही दिनअघि सोही नगरपालिका–६ तुलसीपुरका कृषक पुरन महतोले बन्दा जोतेर नष्ट गराएका थिए ।

कृषक नवराज भुसालले चार किसानले २४ कट्ठाभन्दा बढी क्षेत्रफलमा लगाएको बन्दा नष्ट गरेको बताए। बन्दा प्रति किलोग्राम एक रूपैयाँमा पनि नउठेपछि ट्याक्टर लगाएर नष्ट गरेको उनले सुनाए । भुसालले १० कट्ठामा लगाएको बन्दामध्ये सात कट्ठाको जेनतेन बिक्री भए पनि तीन कट्ठामा लगाएको बन्दा व्यापारीलाई सित्तैमा लैजान आग्रह गर्दासमेत लैजान नमानेको उनले पीडा व्यक्त गरे ।

यसैगरी इन्दिरा भुसालले छ कट्ठा, सूर्यप्रसादको चार कट्ठा र कृष्णको ११ कट्ठामा लगाएको बन्दाकोभी ट्याक्टर लगाएर नष्ट गरेका हुन् ।

तरकारी किसानको संस्था ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष पूर्णदत्त भुसालका अनुसार ३६५ कृषक  सहकारीमा आबद्ध भएर तरकारी खेती गर्दै आएका छन् । उनका अनुसार हालसम्म १२ बिघा जतिमा लगाएको बन्दा नष्ट गरिसकिएको छ । अझै ६० बिघा जतिमा बन्दा रहेको उनले जानकारी दिए । गत वर्ष त्यस सहकारीका सदस्यले रु एक करोडको बन्दा बिक्री गरेको उनले उल्लेख गरे ।

सो क्षेत्रमा लगाइएको बन्दासँगै मुला, भेन्टा, केराउलगायतले पनि मूल्य नपाएको उनी बताउँछन् । त्यहाँका कृषकले झण्डै ३०० बिघामा तरकारी खेती गरेका छन् । खेती गर्दा खर्च बढी हुने तर मूल्य नपाएर जोत्नु पर्दाको पीडा किसानले व्यहोरिरहनुपरेको भुसालको भनाइ छ । (रासस)

प्रकाशित समय ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु