गृहपृष्ठ टेलिकमको वार्षिकोत्सवमा प्याकेज नै प्याकेज घोषणा
टेलिकमको वार्षिकोत्सवमा प्याकेज नै प्याकेज घोषणा
नेपाल टेलिकमले १५ औं वार्षिकोत्सवका अवसरमा उपभोक्ताका लागि विभिन्न प्याकजको घोषणा गरेको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार माघ २२ देखि फागुन २२ सम्म एनटी मोबाइल एप डाउनलोड र रजिष्ट्रेसनमा १०० एमबी डाटा निःशुल्क गरिएको छ ।
यस्तै जीएसएम पोस्टपेडका ग्राहकहरूलाई ९०० को प्याकेजमा प्रतिमहिना २ जीबी डाटा र रु ५०० को ‘फ्रि रिसोर्स’ उपलब्ध गराउँदै आएकोमा प्रतिमहिता अलटाइम डाटा ३.३ जीबी र रु ५०० को ‘फ्रि रिसोर्स’ उपलब्ध हुने उनले बताए ।
यस्तै माघ २३ देखि फागुन ८ सम्म दर्ता हुने नयाँ पोस्ट पेड ग्राहकका लागि तीन महिनासम्म प्रतिमहिना १ जीबी डाटा र १०० मिनेट भ्वाइस बोनस दिइने अधिकारीले घोषणा गरे । यस्तै ‘टुरिस्ट प्याक’ अन्तर्गत रु ५०० मा ५ जीबी डाटा, टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइसकल, ५० एसएमएस र रु १०० को अन्तर्राष्ट्रिय कल उपलब्ध गराइने उनले बताए । यसमा रु १००० को प्याकेज पनि रहेको छ ।
यसैगरी ग्राहकले एक हजार रुपैयाँमा १० जीबी डाटा एक सय मीनेटको भ्वाइस, एक सय एसएमएस र दुई सय रुपैयाँको अन्तर्राष्ट्रिय कल सेवा लिन सक्ने टेलिकमले जानकारी दिएको छ भने टेलिकमले चीनमा कल गर्नका लागि दैनिक, साप्ताहिक र मासिक योजना अघि सारेको छ छ। माघ २२ देखि ९० दिनसम्मको लागि सीमित योजनामा ग्राहकले ३५ रुपैयाँदेखि पाँच सय रुपैयाँसम्मको प्याकेज लिन सक्ने टेलिकमले बताएको छ।

टेलिकमले २०७४ असार मसान्तसम्म बक्यौता नबुझाएका ग्राहकलाई २०७६ असार मसान्तसम्म पुरै बक्यौता बुझाए जरिवाना नगर्ने बताएको छ। टेलिकमका अनुसार एक वर्षदेखि एडिएसएल सेवा लिँदै आएका ग्राहकले तीन महिना अवधिमा एफटीटीएच माइग्रेसन योजना अन्तर्गत एफटीटीएच सिपीइ निःशुल्क पाउन सक्नेछन्।
टेलिकमले नेत्रहीन संघको सिफारिसमा नेत्रविहीनले प्रयोग गर्दै आएको सिडीएमए र जिएसएममा अल टाइम डाटा प्याकेज खरदिमा शतप्रतिशत बोनस पाउनका साथै दुई सय रुपैयाँको अल टाइम डाटा खरिदमा ५० प्रतिशत बोनस पाउन सक्नेछन्।
मोवाइल पोइन्ट्स अफ सेलको माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज र भुक्तानी गर्दा ग्राहकले पाँच प्रतिशत बोनस रकम प्राप्त गर्ने सक्नेछन्। टेलिकमका अनुसार यो योजना छ महिनासम्म लागू हुनेछ।
यसैबीच, कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकम जहिले पनि अग्रस्थानमा रहेको बताउँदै आगामी दिनमा पनि चुनौतीविहीन रुपमा अग्रस्थानमै रहनु पर्नेमा जोड दिए । कम्पनीले नाफा हुने क्षेत्रमा मात्र नभई जनताहरु भएको जुनसुकै क्षेत्रमा पनि सेवा उपलब्ध गराइरहेको बताउँदै यसलाई संस्कृति सहितको कर्पोरेट संस्थाको रुपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।
कम्पनीले व्यवस्थित बजार नीतिका आधारमा आगामी दिनमा प्रतिस्पर्धा, नाफा, सेवा र सुरक्षामा केन्द्रीत रही देशभर नेपाल टेलिकमको सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले कम्पनीका केही महत्वपूर्ण आयोजनाहरु शुरु हुने क्रममा रहेका र केही आयोजना नयाँ चरणमा प्रवेश गर्ने क्रममा रहेकाले अवसरलाई सदुपयोग गरी अगाडि बढ्न सुझाव दिए ।
नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त प्रमुख पुरुषोत्तम खनालले कम्पनीको भविष्य र प्रगति यसको आम्दानीसँग जोडिएको बताउँदै कम्पनीलाई बजार हिस्सा बढाउने कार्यमा बढी ध्यान दिन आग्रह गरे । कम्पनीको फोरजी सेवा विस्तार तथा मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यलाई द्रुततर गतिमा अगाडि बढाउन र नयाँ अतिरिक्त सेवामा समेत ध्यान दिन उनको सुझाव थियो ।
टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले कम्पनीको समग्र अवस्था वारेमा जानकारी गराउदै व्यावसायिक दक्षता, बजार विस्तार, राजस्व वृद्धि र उच्च कार्यदक्षता सहित कम्पनीलाई निरन्तर अग्रणी स्थानमा राख्नका लागि प्राथमिकता दिने जानकारी दिए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गरेका थिए । हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र उपलब्ध अन्तर्राष्ट्रिय रोमिङ सेवा अब प्रिपेड मोबाइलमा समेत प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । कम्पनीका अनुसार यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ । हाल सफ्ट लन्च मात्र गरिएको र निकट भविष्यमा यो सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याइने जनाइएको छ ।

पत्रकार पुरस्कृत
मन्त्री बाँस्कोटाले कम्पनीको सेवा बारेमा २०७४ सालभरी उत्कृष्ट समाचार प्रकाशन गरेबापत कारोबार दैनिककी पत्रकार सरस्वती ढकाल र द हिमालयन टाइम्स दैनिकका पत्रकार सुजन ढुंगानालाई जनही एकमुष्ट ४० हजार नगद सहित ‘नेपाल टेलिकम पत्रकारिता पुरस्कार’ प्रदान गरेका थिए ।



(तस्बिर ः सुनिल प्रधान)
प्रकाशित समय १८:०६ बजे

















