गृहपृष्ठ जनयुद्ध दिवसमा प्रचण्डको सन्देश- अवसरवादी र प्रतिक्रियावादीसँग सचेत बनौं
जनयुद्ध दिवसमा प्रचण्डको सन्देश- अवसरवादी र प्रतिक्रियावादीसँग सचेत बनौं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको एकता सहन गर्न नसकेर ‘अवसरवादी र प्रतिक्रियावादीहरू’ पार्टीभित्रै फूट र दुरी बनाउन सक्रिय रहेको टिप्पणी गरेका छन् । नेकपा मुख्यालय धुम्बाराहीमा बुधबार भएको कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
नेकपाका दुईजना अध्यक्ष मध्ये प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली अनुपस्थित रहेको कार्यक्रममा प्रचण्डले पार्टी एक भएको दिन (जेठ ३) र जनयुद्ध सुरू गरेको दिन फागुन १ को विशेष महत्व रहेको दावी गरे ।
यसअघि माओवादी घटकहरूले मनाउँदै आएको जनयुद्ध दिवस नेकपाले पहिलो पटक मनाएको हो । पार्टी मुख्यालयमै कार्यक्रम गरेर नेकपाले जनयुद्ध दिवस मनाएन मात्र जनआन्दोलन र जनयुद्धमा सहिद भएकाहरूलाई श्रद्धाञ्जली पनि प्रकट गर्यो ।
जनयुद्धसँग प्रत्यक्ष जोडिएको कार्यक्रम पार्टी मुख्यालयमै गर्ने तर, प्रधानमन्त्रीसमेत पार्टीका एकजना प्रभावशाली अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुनुलाई कतिपयले कूटनीतिक व्याख्या गरेका छन् ।
फागुन १ मा जनयुद्धमात्र नभई जनआन्दोलनमा सहिद भएकाहरूलाई पनि श्रद्धाञ्जली कार्यक्रम राख्नुको कारण पनि प्रचण्डले प्रष्ट्याए । जनयुद्धमात्र नभई जनआन्दोलन र समग्र आन्दोलनका सहिदको सम्मानको रूपमा मनाउँनुले कम्युनिस्ट आन्दोलनको विस्तारित रूपलाई दर्शाउने प्रचण्डको भनाई थियो । सम्बोधनका क्रममा प्रचण्डले आफूहरूले धेरै विचार गरेर यस्तो निर्णय गरेको दावी गरे ।
सम्बोधनकै क्रममा लामो समयदेखि थाती रहेको पार्टी एकताका सम्बन्धमा पनि प्रचण्डले टिप्पणी गरे । उनले पार्टी एकतालाई पूर्णता दिएर जनतासम्म अभियान लैजाने तयारीमा आफूहरू रहेको बताए ।
त्यस्तै पछिल्लो समय नेकपाभित्र विवादित भएको भनिएको भेनेजुएला प्रकरणलाई पनि प्रष्ट्याउने प्रयास गरे । उनले आफूहरू सन्तुलित विदेश नितिमा आधारित भएर अघि बढिरहेको र त्यसमा प्रतिवद्धता रहेको उल्लेख गरे ।
प्रकाशित समय १४:०५ बजे
















