गृहपृष्ठ रसुवागढी नाकाको सडक भासियो, नाका जोड्ने सडक भासियो, दुई सयभन्दा बढी कन्टेनर रोकिए

रसुवागढी नाकाको सडक भासियो, नाका जोड्ने सडक भासियो, दुई सयभन्दा बढी कन्टेनर रोकिए

रसुवा । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी जोड्ने सडक भासिएको छ । गोसाइकुण्ड गाउँपालिका ५ स्थित स्याफ्रुबेंसीमा आइतबार दिउँसो सडक भासिएको हो ।
मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना निर्माणस्थलमा सडक खन्ने क्रममा सडक भासिएको छ ।
जलविद्युत् आयोजना निर्माण गर्दा डिभिजन सडक कार्यालय नुवाकोटसँग समन्वय नभएको डिभिजन प्रमुख निरज शाक्यले बताए । उनले भने, ‘पहिरोले सडक भासिएर तलतिर पु¥याएको छ । सडक अवरुद्ध भएपछि दुई सयभन्दा बढी गाडी र कन्टेनर बीच बाटोमै रोकिएका छन् ।’
सडक सञ्चालनका लागि सडक मर्मत तथा निर्माणको काम अघि बढाइएको उनले बताए । रसुवागढी नाका जोड्ने धुन्चे–स्याफ्रुबेंसी–टिमुरे सडकखण्ड अन्तर्गत स्याफ्रुबेंसीमा सुख्खा पहिरो गएको चिलिमे जलविद्युत् आयोजनाका गोकर्णबहादुर न्यौपानेले बताए । उनले भने, ‘आइतबार दिउँसो पहिरो गएको हो, अहिले सडक खुलाउने प्रयास भइरहेको छ ।’
उनका अनुसार अहिले साना गाडीहरु आवतजावत गर्नेगरी सडक खुलाइएको छ तर ठूला गाडी कन्टेनरहरु भने आवतजावत गर्नसक्ने अवस्था छैन । बाटो ठूलो बनाउने एक्साभेटर प्रयोग गरेर बाटो बनाउने काम भैरहेको छ ।
पहिरोले अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिएका छन ्। उनले भने, ‘सडक खुलाउन स्काभेटर ल्याएर काम सुरु भएको छ ।’
२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्छन् । चीनले अन्तराष्ट्रिय नाकाका रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ ।

प्रकाशित समय ०९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु