गृहपृष्ठ गरिबीको चपेटामा सादा परिवार- जोसँग झुपडी छाउने एउटा प्लास्टिक पनि छैन

गरिबीको चपेटामा सादा परिवार- जोसँग झुपडी छाउने एउटा प्लास्टिक पनि छैन

garibi1-newskarobar

जनकपुरधामबाट ४ किलोमिटर उत्तर-पश्चिममा पर्ने लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर-२ सिनुरजोडामा मुसहर बस्ती छ । जहाँ ४४ घरपरिवार मुसहर बसोबास गर्छन् ।

सिनुरजोडास्थित पछबारी टोलको उक्त मुसहर बस्तीका अधिकांश परिवार गरिबीको चपेटामा छन् । ती ४४ घरपरिवारमध्ये अधिकांशलाई साँझ-विहान हातमुख जोर्न धौ-धौ छ । त्यसमा पनि एउटा यस्तो परिवार छ जसलाई गरिबीका कारण जीवन धान्नै मुस्किल छ ।

उक्त वस्तीमा रहेको अघनु सादा र सुभदर सादाले व्यहोर्दै आएको चरम गरिबीको पीडा अवर्णनीय छ । अघनु सादाको परिवारमा ८० वर्षीय आँखाको शक्ति कमजोर भएकी आमा, गर्भवती श्रीमती र २ छोरी छन् । उनीहरू एउटा सानो झुपडीमा वर्षौंदेखि गुजारा गर्दै आएका छन् ।

garebi-newskarobar

अघनु सादाको परिवार चरम गरिबीको दलदलमा छ । अघनु सादा आफैं सोझा छन् । जसका कारण उनलाई घरपरिवार चलाउन थप समस्या छ । उनको सानो झोपडीमा ५ जनाको बसोबास कसरी हुने गरेको छ हामीले कल्पना समेत गर्न सक्दैनौं ।

सादाको परिवार कति गरिबीको चपेटामा छ भने २ हात चौडा र ३ हात लम्बाइको उनको झुपडीमा सिंगो प्लास्टिक पनि छैन । यस्तो अवस्थामा उनको परिवारले करिब १५ वर्षदेखि कसरी गुजारा गर्दै आएको छ ? सहजै अनुमान लगाउन सकिन्छ ।

संघीयता कार्यान्वयन भएसँगै स्थानीय सरकार गठन भएको छ । गाउँ-गाउँमा सिंहदरबार भनी प्रचार गरिएको स्थानीय सरकारको आँखाले सादा परिवारको गरिबी देख्न सकेको छैन ।

लक्ष्मीनियाँ गाउँपालिकाका जनप्रतिनिधीहरुले सादा परिवारको गरिबीलाई देखेर पनि नदेखेको जस्तो गरिरहेका छन् । कतिपय जनप्रतिनिधिले विलासी जीवनशैली अपनाएको भन्दै आलोचना भइरहँदा आफ्नो गरिबीमाथि उनिहरूको ध्यान नजानुले सादा परिवार थप विक्षिप्त बनेको छ ।

garebi3-newskarobar

आफू जसोतसो जीवन बिताउँदै आएको र कसैले सहयोग नगरेको सुभदर सादा बताउँछिन् ।

गरिबीको मारमा रहेका उनका एक १० वर्षीय छोरी कविता सादा र ६ वर्षीय छोरीले पढ्न पाएका छैनन् । जन्मदर्ता गराउन नसक्दा उनका छोरीहरूले पढ्न नपाएका हुन् ।

छोरीहरूलाई विद्यालय भर्ना गराउन जन्मदर्ता आवश्यक पर्छ । तर, छोरीको जन्मदर्ता बनाउन अघनु सादा र सुभदर सादाको विवाह दर्ता भएको छैन । विवाह भएको वर्षौं भए पनि उनीहरूको नागरिकता र विवाहदर्ता हुन सकेको छैन ।

‘नागरिकता बनाउन ससुराको नागरिकता आवश्यक पर्छ, ससुराको नागरिकता गाउँकै एक साहुबाट ब्याजमा २ हजार रकम ऋण लिँदा बन्धकमा राखिएको छ । ससुरा वितेको ८ वर्षभन्दा बढी भइसकेको छ, साहुको पैसा फिर्ता गर्न सकिएन । साहु कहाँ ससुराको बन्धकमा राखिएको नागरिकता फिर्ता माग्दा पैसा दिन भन्छन् सर हामीलाई खान, बस्ने व्यवस्था छैन, हामीले जसोतसो दैनिकी चलाउँदै आएका छौं कसरी साहुको पैसा तिर्न सक्छौं ?’ सुभदर सादाले गरिबीको पीडा र मनको व्यथा एकसाथ भनिन् ।

garebi2-newskarobar

सिनुरजोडाको सादा परिवारको आर्थिक अवस्था निकै नाजुक रहेकाले चिसो र वर्षातको समयमा थप समस्या झेल्नु पर्छ । त्यसैले चिसो मौसम र वर्षातमा सादा परिवार अर्काको घरमा बस्न बाध्य हुँदै आएको छिमेकी सामो देवी सादाले बताउँछिन् ।

‘यस परिवारको सुरक्षा र व्यवस्थापन सरकारले गरिदिनु पर्दछ’ समो देवी भन्छिन् ।

यता, लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर २ का सदस्य लक्ष्मीनियाँ देवी सादाले यो परिवारको आर्थिक अवस्था निकै कमजोर भएको कुरा आफूले गाउँपालिकाको कार्यकारिणी समितिको बैठकमा पटक-पटक उठाउँदै आएको दावी गर्छिन् । तर पनि अहिलेसम्म कुनै प्रकारको सहयोग हुन नसकेकोप्रति उनलाई पनि दुःख लागेको छ ।

प्रकाशित समय १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु